कर्मचारीहरुलाई सेवाप्रति समर्पित भएर काम गर्न प्रमुख रेनु दाहालको निर्देशन

सफल खबर संवाददाता

बुधबार, ०१ जेठ २०७६, १६ : ४४
कर्मचारीहरुलाई सेवाप्रति समर्पित भएर काम गर्न प्रमुख रेनु दाहालको निर्देशन

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले इमान्दार, निष्ठावान बनी सेवाप्रति समर्पित भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । 
भरतपुर महानगरपालिकाका वडा सचिवहरु र समायोजन पदस्थापनमा आएका कर्मचारीहरुको क्षमता विकासको लागि भएको दुई दिने कार्यशाला गोष्ठीको उद्घाटन गर्नु हुँदै महानगर प्रमुख दाहालले वडा कार्यालयहरुलाई चुस्त, दुरुस्त र सशक्त बनाउन कार्यशालाको आयोजना गरिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘राष्ट्रसेवक कर्मचारीहरुले सेवाग्राहीको कुनै पनि काममा ढिलासुस्ती नगरी, पारदर्शी ढंगले सेवा प्रवाह गर्न जरुरी छ ।’ महानगर प्रमुख दाहालले वडा कार्यालयहरुलाई सशक्त र गतिशील बनाउन वडा सचिवहरुलाई निर्देशन दिनुभएको थियो ।

कार्यशाला गोष्ठीमा महानगरका २९ वटा वडाका वडा सचिवहरु सहभागी थिए । महानगर प्रमुख दाहालले भन्नुभयो, ‘सेवा प्रवाह प्रभावकारी अझै हुन नसकेको यताकदा केही गुनासोहरु आइरहेका छन्, यस्तो कुनै किसिमको गुनासो नआउने ढंगले काम गर्न जरुरी छ ।’ 
कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले सिङ्गो महानगरलाई उत्कृष्ट महानगर बनाउन वडा सचिवहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले कार्यशालाबाट सिकेको सीपलाई कार्यान्वयनमा लगेर सेवालाई प्रभावकारी बनाउन कर्मचारीहरुको कर्तव्य भएको बताउनुभयो । 

कार्यक्रममा महानगरपालिकाका प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले क्षमता विकास गरेर महानगरलाई नमुना र उत्कृष्ट महानगर बनाउन सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य महानगरका उपसचिव प्रद्युम्न उपाध्यायले दिनुभएको थियो । 

दुई दिनसम्म चल्ने कार्यशालामा प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी, उपसचिव कुलबहादुर जिसी, सूचना अधिकारी मेनका पण्डित, उपसचिव प्रद्युम्नप्रसाद उपाध्याय, ठाकुरप्रसाद पौडेल, नेत्रप्रसाद रिजाल, तुलसीप्रसाद पौडेललगायतले प्रशिक्षण दिनु हुनेछ ।  

 

प्रतिक्रिया दिनुहोस