अमेरिकी अधिकारीहरुको काठमाडौं भ्रमण बढ्दो

इन्डो प्यासेफिक रणनीतिमा नेपालको दह्रो साथको अपेक्षा

सफल खबर संवाददाता

बुधबार, ०१ जेठ २०७६, ११ : २८
अमेरिकी अधिकारीहरुको काठमाडौं भ्रमण बढ्दो

काठमाडौं । इन्डो प्यासेफिक रणनीति तय गरेको अमेरिकाका सरकारी अधिकारीहरुको नेपाल भ्रमण बाक्लिन थालेको छ । हिन्द र प्रशान्त महासागर क्षेत्रका मुलुकहरुसँग सहकार्य गर्ने भन्दै इन्डो प्यासेफिक रणनीति तय गरेको अमेरिकी अधिकारीहरुको बढ्दो नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
अमेरिकाका दक्षिण एसिया मामिला हेर्ने उपसाहायक मन्त्री डेभिड जे रेन्ज  अहिले नेपाल भ्रमणमा छन् ।  उनले मंगलबार काठमाडौंमा नेपालका केही पत्रकारहरुलाई बोलाई इन्डो प्यासेफिक रणनीतिका विषयमा ब्याख्या गर्ने कोसिस गरेका थिए ।
नेपालको उत्तरी छिमेकी मुलुक चीनले विआरआई अगाडि बढाइरहेका बेला अमेरिकाले इन्डो प्यासेफिक रणनीति तय गरेको हो । अमेरिकी अधिकारीहरुको नेपालमा बढ्दो उपस्थितिले पनि इन्डो प्यासेफिक रणनीतिमा उसले नेपालको दाह्रो साथको अपेक्षा गरेको अनुमान गर्न सकिन्छ । 
चिनियाँ विआरआईप्रति सजग रहन र त्यो सुन्दा राम्रो लागेपनि त्यस अन्तर्गतका आयोजना हेर्नु पर्ने तर्क राखेका उपसाहायक मन्त्री डेभिड जे रेन्ज ले विआरआईको काउन्टर इन्डो प्यासेफिक नभएको पुष्टि गर्न अनेक प्रयास गरेका थिए । 
‘हामीले कसैको योजनामा केही भन्दैनौं । सम्बन्धित मुलुकले बुझेर अध्ययन गर्ने विषय हो । बिआरआईबारे जे प्रचार गरिएको छ, त्यही मात्र होला र ?’ उपसाहायक मन्त्री डेभिड जे रेन्जले अन्र्तक्रियामा भने, ‘यसमा कति परियोजना सहकार्य अघि बढेको छ नेपाल वा अन्य मुलुकसँग ? यसैबाट स्पष्ट हुन्छ ।’
जानकारहरुका अनुसार, उपसाहायक मन्त्री डेभिड जे रेन्जको उक्त भनाई चीनको विआरआईप्रति सजग रहन नेपाललाई गरेको आग्रह थियो । गत वर्ष अमेरिका भ्रमणका क्रममा नेपालका परराष्टमन्त्री प्रदीप ज्ञावालीले इन्डो प्यासेफिकमा नेपालको साथ रहने प्रतिवद्धता जनाएर फर्केका थिए । त्यसपछि अमेरिकीहरुको नेपालप्रतिको चासो बढेको छ । उनीहरुको आवतजावत बाक्लिन थालेको छ ।
नेपाल चीन र भारतको बीचमा रहेको र अत्यन्त सामरिक महत्वको क्षेत्रमा रहेकोले पनि अमेरिकी चासो नेपालमा बढ्न थालेको हो । अमेरिकी अधिकारीहरुले नेपालको विआरआईप्रतिको सहकार्यप्रति पनि चासो देखाएको छ । उनीहरुले विआरआई परियोजना मात्र रहेको तर इन्डो प्यासेफिक स्थायी रणनीति भएको भन्दै आफ्नो योजनाभित्र नेपालको दह्रो साथको खोजीमा अमेरिका रहेको देखिएको छ ।
भ्रमणका क्रममा गृहमन्त्री रामवहादुर थापासँग पनि छलफल गरेका रेन्जले सन् २०२० मा हुन लागेको नेपाल भ्रमण वर्षमा सीमा सुरक्षा र विमानस्थल सुरक्षामा सतर्कता अपनाउन आवश्यक रहेको सुझाव राखेका थिए । अमेरिकाले इन्डो प्यासेफिक रणनीति अन्तर्गत नेपाललाई ५ सय मिलियन अमेरिकी डलर सहयोग गरेर सहकार्यको हात अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस