पत्रकारको खोल ओढेर आतंक फैलाउनेमाथि कानुनी कारबाही हुन्छ : सञ्चारमन्त्री बास्कोटा

सफल खबर संवाददाता

मंगलबार, ३१ बैशाख २०७६, १७ : ३६
पत्रकारको खोल ओढेर आतंक फैलाउनेमाथि कानुनी कारबाही हुन्छ : सञ्चारमन्त्री बास्कोटा

चितवन । सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले ल्याएको मिडिया काउन्सील विधेयक फिर्ता नहुने अडान दोहो¥याएका छन् । सौराहामा मंगलबार नेपाल टेलिकमको एफटीटीएच सेवा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बास्कोटाले विधेयक कुनै पनि हालतमा फिर्ता नहुने बताएका हुन् । 
पत्रकारितालाई थप व्यवस्थित बनाउन विधेयक ल्याइएकाले आवश्यक परे संशोधन गर्न तयार रहेको तर फिर्ता नहुने उनले बताए । उनले स्वतन्त्र प्रेसलाई कमजोर बनाउने काम सरकारले नगर्ने जिकिर गर्दै पत्रकारको खोल ओढेर आतंक फैलाउनेमाथि कानुनी कारबाही हुने चेतावनी दिएका छन् । 
पत्रकारको न्युनतम पारिश्रमिक, समानुपातिक विज्ञापन प्रणाली लगायत आर्थिक स्वतन्त्रताको कुरा विधेयकमा उल्लेख गरिएकाले प्रमाणसहित समाचार लेख्दा पत्रकारलाई अप्mठेरो नपर्ने मन्त्री बास्कोटाको दाबी छ । नेपालसहित अन्तर्राष्टिय अनुभव, प्रणाली र व्यवस्थालाई पनि मध्यनजर गरी सरकारले सबै क्षेत्रलाई समयसापेक्ष व्यवस्थित बनाउने अभियान अन्तर्गत विधेयक आएको उनको भनाई थियो । 
समाजलाई, राज्यलाई, मुलुकको शान्तिलाई चुनौती दिने गरी, खलल पुर्याउने किसिमका सामग्री पनि कहिँ कतै आउने गरेको भन्दै उनले भने, ‘कलम छ भन्दैमा, बन्दुक छ भन्दैमा जहाँ पायो त्यहीँ हान्न भएन नि । प्रेसमाथि नियन्त्रण हुँदैन, नियमन हुन्छ ।’
मन्त्री बास्कोटाले सरकारले समृद्धिलाई केन्द्रमा राखेर काम गरिरहेकाले परिणामका लागि केही समय धैर्य गर्नुपर्ने बताए । उनले दृढ संकल्प, इच्छाशक्तिका साथ के गर्ने, कहिले गर्ने, कसरी गर्ने, कहाँ गर्ने लगायत विषयमा स्पष्ट रहेकाले एक दिन नयाँ नेपालको वास्तविक चित्र संसारलाई देखाउने विश्वास व्यक्त गरे । 
उनले मुलुकका सबै नागरिकलाई चाँडै सूचना प्रविधिको पहुँचमा ल्याइने बताए । उनले टेलिकमले विभिन्न स्थानमा सेवा बिस्तार, सुधार गरी नेपाललाई विश्वमा जोड्न हरतरहले काम गरिरहेको उल्लेख गरे । मन्त्री बास्कोटाले उक्त सेवाको रत्ननगर नगरपालिकाका मेयर नारायण वनलाई फोन सम्पर्क गरी शुभारम्भ गरेका थिए । 
आजबाट शुभारम्भ भएको १ हजार लाईन एफटीटीएचमार्फत सौराहाका होटल व्यवसायी तथा पर्यटक लगायत सबैलाई सेवा पुर्याउने नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस