प्रधानमन्त्री ओलीको भियतनाम र कम्बोडिया भ्रमण : समयको बर्बादी, राष्ट्रिय स्रोत र साधनको दुरुपयोग

सफल खबर संवाददाता

मंगलबार, ३१ बैशाख २०७६, १५ : ५१
प्रधानमन्त्री ओलीको भियतनाम र कम्बोडिया भ्रमण : समयको बर्बादी, राष्ट्रिय स्रोत र साधनको दुरुपयोग

काठमाडौं । गत बिहीबार विदेश उडेका प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको भ्रमण सिध्याएर भोलि बुधबार नेपाल फर्कंदै छन् । उद्देश्य नै नभएको, कुनै सम्बन्ध र स्वार्थ नै नरहेको भ्रमणमा निस्केर उनले राष्ट्रिय स्रोत र साधनको दुरुपयोगमात्रै गरेका छैनन्, समयको समेत बर्बादी गरेका छन् । 
प्रधानमन्त्रीको किचन क्याबिनेटमा रहेकाले अनेकन नाम दिन सक्छन्, अनेकन उपमा भिराएर प्रधानमन्त्रीको भ्रमण जायज भएको तर्क पनि दिन सक्छन् । तर यर्थाथमा सन्तुलित भएर विचार गर्ने हो भने प्रधानमन्त्रीको भ्रमणको कुनै अर्थ छैन यतिखेर । उनले नेपाल वायु सेवा निगमको जहाज मात्रै होल्ड गर्ने भएका छन् । जसका लागि उनले १४ करोड रुपैयाँभन्दा बढी रकम खर्च गराउने भएका छन् । 
भन्न त बालुवाटारमा रजगज गरेका विष्णु रिमालहरुले भन्लान् पर्यटन प्रवद्र्धनका लागि प्रधानमन्त्री बौद्ध समुदाय बढी भएको भियतनाम र कम्बोडिया गएका हुन् । ती मुलुक खास अर्थमा बौद्ध धर्म मान्ने समुदाय नै बढी भएको देश हुन् । तर राज्यको साधन र स्रोत खर्च गरेर गरिने बेतुकको भ्रमणले कुनै अर्थ नराख्ने कुटनीतिक क्षेत्रका जानकारहरुको भनाइ छ । 
अघिल्लो पटक होली वाइन काण्डका क्रममा भियतनाम र कम्बोडियाको प्रधानमन्त्री र राष्ट्रप्रमुख नेपाल आएका थिए । होली वाइन काण्डका आयोजक एकनाथ ढकाल यतिखेर लाओसमा छन् । प्रधानमन्त्रीको भ्रमणको चाँजोपाँजो समेत उनैले मिलाएको जानकारहरुको भनाइ छ । होली वाइन काण्डमा प्रधानमन्त्री र नेकपालाई फँसाएको ऋण तिर्न ढकालले नै प्रधानमन्त्रीको भ्रमण मिलाएको जानकारहरुको भनाइ छ । 
प्रदेश सरकार काम गर्न नसक्ने अवस्थामा पुगेको छ । गाउँगाउँमा सिंहदरबार आएको भनिए पनि जनताले राहत पाएका छैनन् । स्थानीय तहमा कर्मचारी छैनन् । जसका कारण नागरिकले सहज र सरल सेवा पाउन सकेका छैनन् । मन्त्रीहरुको कार्यशैली असाध्यै कमजोर रहेको छ । स्वयम् प्रधानमन्त्री ओली उटुंगे भाषण गरेर जनतालाई हँसाउनमात्रै सिमित छन् । 
मुलुकको आर्थिक अवस्था पनि राम्रो छैन । दुईतिहाईको सरकारले प्रस्तुत गरेको बजेट कार्यान्वयन हुन सकेको छैन । पूँजीगत खर्चको अवस्था ४० प्रतिशत पु¥याउन पनि मुश्किल छ । आलोचना सुन्नै नचाहने प्रवृत्ति ओलीमा हाबी छ । संघीय संसद मातहतको प्रतिनिधि सभाको एक साताअघिको बैठकमा प्रधानमन्त्रीले नै विपक्षीलाई बिच्क्याउने काम गरे । 
बिनाअर्थ कम्बोडिया र भियतनाम किन जानु प¥यो र प्रधानमन्त्रीज्यू ? भन्ने हैसियतमा उनको सचिवालयका कोही छैनन् । विष्णु रिमालहरु प्रधानमन्त्रीको नाम भजाएर धन्दा चलाउन व्यस्त छन् । बालुवाटार गएर उनलाई सुझाव दिने हैसियत कोही कसैले राख्दैनन् । 
नेकपाका अर्का अध्यक्ष प्रचण्ड समेत ओलीको एकलकाटे व्यवहारका कारण आजित छन् । माधव नेपाल, झलनाथ खनाल तथा वामदेव गौतम समेत ओलीको व्यवहारका कारण आजित भएका छन् । ओली कोही कसैका कुरा सुन्दैनन् । जसका कारण उनी दिनप्रतिदिन आलोचित बन्दै गएका छन् । 
सरकारमा काम गर्ने शैली छैन । जनतालाई राहत दिने कार्यक्रम छैन । रेल र पानी जहाजको मात्रै कुरा गर्ने स्वभावका ओली कोही कसैको सुझाव र सल्लाह समेत आलोचनाको रुपमा लिने र ठान्ने स्वभावका छन् । जसका कारण नेकपाको सरकार आलोचित बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस