नयाँ शक्तिको हविगत चार वर्ष नपुग्दै सतहमा : नयाँ हुन नपाउँदै ओइलाएर गयो

सफल खबर संवाददाता

मंगलबार, ३१ बैशाख २०७६, १३ : १९
नयाँ शक्तिको हविगत चार वर्ष नपुग्दै सतहमा : नयाँ हुन नपाउँदै ओइलाएर गयो

काठमाडौं । तत्कालीन नेकपा (माओवादी) का नेता डा. बाबुराम भट्टराईले माओवादीलाई ढल्न लागेको घरको संज्ञा दिँदै ३० वर्ष सहकार्य गरेका पार्टी अध्यक्ष प्रचण्ड र पार्टीलाई नै छाडे । नयाँ शक्ति बनाउने भन्दै रंगशालामा ठूलै चमत्कार नै गर्न लागेको जस्तो अभिव्यक्ति पनि दिए । भट्टराईको नयाँ शक्तिको हविगत चार वर्ष पुग्दा नपुग्दै सतहमा देखियो । 
गत स्थानीय तहको निर्वाचनमा उनको पार्टी सिलो खोज्नु पर्ने अवस्थामा पुग्यो । कहीँ कतै पनि उनको पार्टीले जित निकाल्न सकेन । केवल माओवादीलाई हराउनमात्र उनी सहयोगी देखिए । स्थानीय तहको निर्वाचनपछि भएको प्रतिनिधि सभाको निर्वाचनमा नेपाली काँग्रेसको वैशाखी टेकेर गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचन जिते । तर पार्टी भनेको विचार हो भन्ने कुरा बाबुरामले थाहा पाउन नसक्दा उनको नयाँ शक्ति नयाँ हुन नपाउँदै ओइलाएर गयो । 
नयाँ शक्ति बनाउने भन्दै बाबुरामलाई उचाल्ने मुमाराम खनालले साथ छाडे । जीवनभर काँग्रेसमा रहेका रामेश्वर खनालले समेत उनलाई छाडे । हिरोइन करिश्मा र पत्नी हिसिलाभन्दा उनको साथमा रहने राजनीतिक नेतृत्व र कार्यकर्ता फेला पार्न मुस्किल भयो । माओवादीलाई मक्किएको घर भनेर आरोप लगाएर दौडन उनलाई जे जति सजिलो भएको थियो, पार्टीको पहिलो तहको नेता बनेर राजनीति गर्न त्यति सजिलो भएन । 
बाबुरामलाई लामो समय संगत गरेका तत्कालीन माओवादीका नेताहरु भन्छन्, उनी प्रचण्डलाई दंग्याएर, धम्क्याएर राजनीति गर्ने स्वभावका थिए । तर पार्टीको पहिलो व्यक्ति बनेर पार्टी चलाउन सक्ने खालका थिएनन् । नयाँ शक्ति भन्दै उनलाई साथ दिन आएका पूर्व भ्रष्ट कर्मचारी, पूर्व प्रहरी कर्मचारी तथा आफूलाई सामाजिक अभियन्ता बताउनेहरु पनि क्रमशः उनलाई छाड्दै हिँडे । पूर्वमाओवादी जति माओवादीमा फर्किएर हाल नेकपाको नेता तथा कार्यकर्ताको रुपमा क्रियाशील छन् । बाबुरामलाई साथ दिँदै आएका खिमलाल भट्टराईहरु पनि माओवादीमा फर्किएएर हाल नेकपामा नै छन् । 
माक्र्सवाद सकिएको र कम्युनिस्टको राजनीतिक चिन्तन हराएको जस्ता थेतरो आरोप लगाउँदै नयाँ शक्ति बनाउने भन्दै रुजबेल्टले जस्तो गर्न खोजेका बाबुराम अब यो पाराले नहुने भयो भन्ने लागेपछि गौर काण्डका प्रमुख मतियारको रुपमा रहेका उपेन्द्र यादवको पार्टीको कार्यकर्ता बन्न तयार भए । जसको कारण बाबुरामको नाममात्रको नयाँ शक्ति र पार्टीको रुपमा स्थापित संघीय समाजवादी फोरमबीच पार्टी एकता भएको राजनीतिक जानकारहरुको भनाइ छ । 
भारतको राजधानी नयाँ दिल्लीमा उदाएको आम आदमी पार्टीको सिको गर्न खोजेका बाबुरामको सुरक्षित अवतरण उपेन्द्र यादवले गराइदिएका छन् । संसदमा उनको कुरा कोही कसैले सुन्ने अवस्था थिएन । उनलाई नेता बन्नु परेको थियो । सोही कारण उपेन्द्र यादवको कार्यकर्ता नै सही, उनी पार्टी नयाँ भएको जस्तो देखाएर पार्टी एकताको नाटक गर्न पुगेको जानकारहरु बताउँछन् । 
कुनै समय उपेन्द्र बाबुरामका कार्यकर्ता थिए । मति बिग्रेपछि कसको के लाग्दो रहेछ र ? समय क्रमले उनलाई पहिलो व्यक्ति बनेर पार्टी चलाउन नसकिने अवस्थामा पु¥याइदियो । विगतमा पनि प्रचण्डभन्दा तल बसेर सधैं बार्गेनिङमात्रै गर्दै आएका उनलाई उपेन्द्रले कसरी झेल्लान् ? त्यो भने इतिहासले पुष्टि गर्ला । 
चेक एण्ड ब्यालेन्स
जानकारहरुका अनुसार नेकपाको सरकारलाई काउन्टर दिने र देशलाई अस्थिर बनाउने रणनीतिक उद्देश्यका साथ दक्षिणले उपेन्द्र र बाबुरामको गठजोड गरिदिएको बताइन्छ । चेक एण्ड ब्यालेन्स शास्त्र अनुसार नै भारतले उनीहरुलाई एकै ठाँउमा ल्याइदिएको बताइन्छ । 
पार्टी एकता घोषणासभामा उपस्थित नेपाली काँग्रेसका नेता दमननाथ ढुंगानाको भनाइले पनि सोही कुराको पुष्टि गर्छ । विदेशी मित्रहरुको सदासयता पनि तपाईहरु मिल्नुस भन्ने थियो । उनीहरु तपाईहरु मिलेको हेर्न चाहेका थिए, त्यो कुरा तपाईहरु दुवैलाई थाहा थियो भनेर ढुंगानाले बाबुराम र उपेन्द्रलाई सार्वजनिक समारोहमा नै भनेको कुराले पनि उनीहरुको खास निर्देशक को थिए भन्ने स्पष्ट पार्दछ । 
बाबुरामको नाम लिएर जनयुद्धमा शहादत गरेकालाई उनले अलपत्र पारेको तथ्य जनयुद्धको शहीद परिवारले भुलेको छैन । जनताका छोरा छोरीलाई बुर्जुवा शिक्षा भन्दै आफ्नो छोरीलाई जेएनयू पढ्न पठाएको पनि जनयुद्धका शहीद, बेपत्ता र घाइतेका परिवारले बिर्सिएका छैनन् । बाबुराम माक्र्सको विचार पनि सकिएको, माक्र्सवाद पनि सकिएको भन्दै माक्र्सेली विचार भन्न थालेका छन् । राजनीतिमा अति दक्षिणपन्थ र जडसूत्रवाद सबैभन्दा हानिकारक हुन्छ भने जस्तै बाबुरामले अंगालेको चिन्तन र चरित्रले नेपाली राजनीतिको भद्दा स्वरुपलाई प्रष्ट पार्दछ ।

प्रतिक्रिया दिनुहोस