पोखरामा खुला हुँदै गाँजा र सेक्स

पत्रपत्रिकाबाट

सोमबार, ३० बैशाख २०७६, २१ : १३
पोखरामा खुला हुँदै गाँजा र सेक्स

-मनोज घर्तीमगर-सन्देश श्रेष्ठ

पोखरा । पोखरामा व्यावसायिक यौन गतिविधिको सुविधासहित रेड लाइट एरिया बनाउनुपर्ने धारणा सार्वजनिक गरेलगत्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विवादमा तानिए । कानुनले छूट नदिए पनि पर्यटकीय क्षेत्र पोखरामा व्यावसायिक यौन गतिविधि हुने गरेकाले त्यसलाई कानुनी दायरामा ल्याउन उनले सार्वजनिक गरेको प्रस्तावमा केहीको समर्थन नआएको पनि हैन तर अधिकांशले सामाजिक मूल्य, मान्यतामा खलल पुर्याउन खोजेको भनेपछि उनी मौन बसे । उनले आफ्नो प्रस्ताव औपचारिक रुपमा फिर्ता भने लिएका छैनन् ।

अहिले पुनः गण्डकी प्रदेशले अर्को प्रस्ताव अगाडि बढाएको छ, ‘इन्जोय जोन’को नाममा । नाम बदलेर नौ करोड बजेटसमेत छुट्ट्याइसके पनि यसको उद्देश्य लगभग रेड लाइट एरिया भन्दा कम छैन । ‘इन्जोय जोन’मा व्यावसायिक यौन गतिविधि त छँदैछ, योसँगै लागुऔषध, मदिरा र रात्रिकालीन गतिविधिका अन्य सुविधाको समेत परिकल्पना गरिएको छ । 

रेड लाइटको परिमार्जित प्रस्ताव मुख्यमन्त्री गुरुङले अगाडि बढाएका भने हैनन् । अहिले गण्डकी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालय सक्रिय भएको छ यसमा । यसलाई प्रदेशको पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले जोडतोडले अगाडि बढाइरहेका छन् । उनले अवधारणा मात्र बनाएका छैनन्, ‘इन्जोय जोन’ बनाउन नौ करोड बजेटसमेत छुट्ट्याइसकेका छन् ।

पोखराको मुख्य शहरी क्षेत्रबाट अलि बाहिर ‘इन्जोय जोन’ बनाउन सरकारी जग्गा खोज्ने कामसमेत शुरु भइसकेको छ । यसका लागि विस्तृत योजना बनाउने काम अघि बढिसकेको मन्त्री लम्सालले शुक्रवारलाई जानकारी दिए । 

‘इन्जोय जोनमा यौन गतिविधि मात्र हुने होइन,’ मन्त्री लम्सालले शुक्रवारसँग भने, ‘त्यहाँ  खाने, बस्ने, सुत्ने, म्युजिकसँगै रमाउने र धेरै विकसित देशहरुले खुला गरिसकेको गाँजाको सेवनसमेत गर्न सकिने गरी बनाउने छौं ।’

रात्रिकालीन मनोरञ्जनका रुपमा मदिरा सेवन, म्युजिकमा मस्ती र आपसी सहमतिमा पार्टनरसहित यौनको स्वाद लिन छूट छ, पोखरामा । अहिलेको कानुनले यस्ता गतिविधिमा रोक लगाएको छैन तर सामाजिक सदाचारको आवरणमा प्रहरीले होटलमा छापा मारेर आन्तरिक र बाह्य पर्यटकको मुड भने खराब बनाउँछ बेलाबखत । शुक्रबार बाट 

प्रतिक्रिया दिनुहोस