आध्यात्मिक चिन्तनको ऐतिहासिक महत्व बुझ्छु : अध्यक्ष प्रचण्ड

सफल खबर संवाददाता

सोमबार, ३० बैशाख २०७६, १२ : २८
आध्यात्मिक चिन्तनको ऐतिहासिक महत्व बुझ्छु : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू भौतिकवादी दर्शनको विद्यार्थी भएर पनि आध्यात्मिक चिन्तनको महत्व बुझेको बताएका छन् । राष्टिय विभूति सीता जन्म जयन्ती समारोहमा आयोजित कार्यक्रममा काठमाडौंमा बोल्दै अध्यक्ष प्रचण्डले त्यस्तो बताएका हुन् ।
‘प्रचण्डले यस्तो कुरा बुझ्दैनन्’ भनेर मान्छेहरुले सोचे पनि आफू ध्यान र योगको विज्ञान मानव जीवनमा महत्वपूर्ण रहने विषयका बारेमा जानकार रहेको उनले बताए । ‘म भौतिकवादी दर्शनको विद्यार्थी । तर आध्यामिक विषयलाई पनि बुझेको छु । आध्यात्मिक चिन्तनको ऐतिहासिक भूमिकालाई सम्मानमात्रै होइन, प्रवद्र्धन र विकास आवश्यक छ’  प्रचण्डले भने ।
उनले आगामी वर्षमा पर्यटन तथा सँस्कृति मन्त्रालय र प्रज्ञा प्रतिष्ठानको आयोजनामा राष्ट्रिय विभूति सीताको जन्म दिवसलाई भब्य रुपमा मनाउनु पर्नेमा जोड दिए । प्रचण्डले  सीता जन्म जयन्तीलाई राष्ट्रिय स्वरुप दिएर लैजानु पर्ने बताएका छन् ।
मिथिला र मिथिला सभ्यता विश्वका मानव जातिकै सँस्कृतिको केन्द्रविन्दु रहेको र यसबाट मानिसहरुले ज्ञान र सीप सिकेर मानव जातिलाई नै अगाडि बढाउने काम भएको बताउँदै प्रचण्डले पछि यो अन्यत्र सरेको बताए ।
दोश्रो पटक प्रधानमन्त्री हुँदा आफूले भारतको गोवामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्टपति सि जिनफिङसँगको भेटमा धार्मिक, ऐतिहासिक स्थलहरुको बारेमा पनि चर्चा गर्ने अवसर पाएको भन्दै अध्यक्ष प्रचण्डले यसको महत्वलाई अझ बढाएर लैजानु पर्नेमा जोड दिए । इतिहास हेर्ने हो भने जनकपुर, पशुपति, लुम्बिनी र अन्य शक्तिपीठहरु, धार्मिक स्थलहरुलाई ज्ञानभूमि र तपोभूमिका रुपमा विश्वमा फैलाएर लैजानु पर्ने उनले बताए ।
जनकपुरमा भारतीय प्रधनमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला नेपालका प्रधनमन्त्री र मोदीबीच जनकपुरदेखि अयोध्यासम्म चल्ने बस सञ्चालनमा ल्याउनु, धार्मिक सर्किट बनाउने कामको प्रयास हुनुले यसको महत्व झन बढेर गएको उनले बताए । आफूले तीन वर्ष अगाडि लुम्बिनीमा नेपालको सभ्यताको विगत र इतिहासको अध्ययन गर्नुपर्नेमा जोड दिएको उनले बताए ।
नेपाल र भारतका धार्मिक पर्यटनको विकासले, आर्थिक समृद्धिको गुणात्मक परिवर्तन हुने भन्दै प्रचण्डले आफ्नो भारत भ्रमणका बेला दुई देशको धार्मिक सम्भाब्यताका बारेमा कुराकानी भएको पनि स्मरण गरे । उनले आफ्नै जीवनकालमा अब रेल आउने सपना पूरा हुन लागेको पनि बताए । त्यसरी आउने रेल लुम्बिनी लगेर नयाँ आधुनिकताको पर्याय बनाउने पनि उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस