झापा ११ र च्यासलविचको खेल हावाहुरीका कारण स्थगित, बाँकी खेल सोमवार हुने

सफल खबर संवाददाता

आइतबार, २९ बैशाख २०७६, १९ : ४९
झापा ११ र च्यासलविचको खेल हावाहुरीका कारण स्थगित, बाँकी खेल सोमवार हुने

चितवन । नारायणगढमा जारी सिएमएस भरतपुर गोल्डकप अन्तर्गत झापा ११ र च्यासल युथ क्लबविचको खेल स्थिगित भएको छ । आज दोस्रो क्वार्टर फाईनलको खेल चलीरहँदा हावाहुरी चलेपछि खेल स्थगित गरीएको आयोजकले जनाएको छ । 
हावाहुरी चल्दा खेल सकिन १५, २० मिनेट मात्रै बाँकी रहेको थियो । प्रभावित भएको बाँकी खेल सोमवार विहान खेलाईनेगरी स्थगित भएको रेफ्रि नविन्द्र महर्जनले जानकारी दिए । खेल रोकिनुअघिसम्म झापा ११ ले २ गोल र च्यासल युथ क्लबले १ गोल गरेको थियो ।  
झापाका लागी संजोग राईले खेल सुरु भएको १ मिनेटमै गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । यस्तै निसान लिम्बुले पहिलो हाफपछि थपिएको ४ मिनेटमा गोल गरेका थिए । उता च्यासलका लागी सवि गुरुङले ५९ औँ मिनेटमा गोल गरे । 
नारायणगढमा जारी खेलका क्रममा चलेको हावाहुरीले खेल मैदानको वरीपरी राखीएको विभिन्न विज्ञापनदाताका प्रचार सामाग्री उडाएको छ । 
वैशाख २४ गत्तेदेखि सुरु भएको प्रतियोगिता जेठ ४ गत्तेसम्म सञ्चालन हुनेछ । उपाधि विजेताले ६ लाखसहित गोल्डकप र उपविजेताले ३ लाख पाउने छ । 
 

प्रतिक्रिया दिनुहोस