क्रिकेट रंगशाला

माघमा खेल खेलाएर सहयोग संकलन गर्ने योजना

सफल खबर संवाददाता

आइतबार, २९ बैशाख २०७६, १५ : ०८
माघमा खेल खेलाएर सहयोग संकलन गर्ने योजना

– उर्गेन तामाङ
चितवन ।
भरतपुर महानगरपालिकाको रामपुरमा निर्माण घोषणा गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा यसै वर्ष माघ महिनामा खेल आयोजना गरी आर्थिक संकलन गरिने भएको छ । 
रंगशाला निर्माणको जिम्मा लिएको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले आज चितवनमा पत्रकारहरुसँगको छलफलमा यस्तो जानकारी गराएका हुन् । यस वर्ष माघसम्ममा रंगशाला निर्माणस्थलमा क्रिकेट खेल्न मिल्ने गरी खेलमैदान बनाउने तयारी गरिएको बताउँदै धुर्मुसले भने, ‘खेल मैदान तयार गरी केही खेल खेलाएर सहयोग संकलन गर्ने योजना रहेको छ ।’
धुर्मुसले शिलान्यासपूर्वका विभिन्न संरचना बनाउन र आवश्यक निर्माणका सामग्री खरिदका लागि कम्तीमा ३० करोड रुपैयाँ तत्काल आवश्यक परेको भन्दै सहयोग संकलन अभियानमा जुट्न सबैसँग आह्वान गरे । उनका अनुसार हालसम्म ७ करोडको हाराहारीमा रकम संकलन भएको छ । 
आगामी भदौमा शिलान्यास गरेर निर्माण सुरु गर्ने तयारीमा रहेको फाउण्डेसले देश तथा विदेशका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरी सहयोग संकलन अभियान सञ्चालन गरीरहेको छ । सहयोग संकलन अभियानलाई प्रभावकारी बनाउन विभिन्न संघ संस्थासँगको समन्वयमा समिति गठन गरिरहेको छ । 
नेपालमा पहिलोपल्ट बन्न लागेको अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणमा सबैलाई अपनत्व ग्रहण गराउन र निर्माण सम्पन्न गराउन विभिन्न समिति गठन भइरहेको धुर्मुसले बताए । केही दिनअघि मात्रै काठमाडौंमा खेलकुद क्षेत्रका प्रतिनिधिहरुको छुट्टै खेल समिति गठन गरिएको छ । समिति गठन अभियान अन्तर्गत चितवनमा पत्रकारहरुको समिति गठन गर्ने विषयमा पनि छलफल भएको थियो । 
उनले रंगशाला निर्माण स्थलमा दुबो मार्ने, नयाँ दुबो रोप्ने, उमार्ने, बाहिरी माटो ल्याएर हाल्ने लगायत ग्राउण्डको काम भइरहेको जानकारी दिए । उनका अनुसार केही दिनअघि काठमाडौं नख्खु लगायत विभिन्न स्थानबाट कालो, चिम्ट्याइलो माटो ल्याइएको छ । 
आफू र आप्mनो टिम रंगशाला निर्माणमा रात दिन नभनी लागेकाले सम्पन्न गर्न सबैको साथ सहयोग आवश्यक रहेको उनको भनाई छ । उनले स्रोत व्यवस्थापन मुख्य विषय भएकाले सबैको साथले आर्थिक स्रोत बलियो भए निर्धारित समय २ वर्षभित्र सम्पन्न हुने बताए । यो राष्ट्र निर्माणको, समृद्धिको अभियान भएकाले यसलाई धुर्मुस सुन्तलीको अभियान हो भनेर नबुभ्mन उनले सबैसँग आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस