नयाँ शक्तिका असन्तुष्ट नेताले भने, ‘बाबुरामले नसोचेको तरिकाले धोका दिए’

बाबुरामलाई विगत स्मरण गराउँदै ज्ञापनपत्र बुझाउने

सफल खबर संवाददाता

विहीबार, २६ बैशाख २०७६, ०८ : ०४
नयाँ शक्तिका असन्तुष्ट नेताले भने, ‘बाबुरामले नसोचेको तरिकाले धोका दिए’

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका असन्तुष्ट नेताले बाबुराम भट्टराईले धोका दिएको निश्र्कष निकालेका छन् । भट्टराईले पार्टीको फष्ट म्यान भएर राजनीति गर्न सक्दैनन भन्ने उदाहरण उनले उपेन्द्र यादवलाई पार्टी बुझाएबाट प्रष्ट भएको निश्कर्ष असन्तुष्ट नेताहरुले निकालेका छन् ।

वुधबार बिहान नेता मदन राईको ललितपुर ढोलाहिटी घरमा बसेको असन्तुष्ट नेताहरुको बैठकले बाबुरामलाई विगत स्मरण गराउँदै ज्ञापनपत्र बुझाउने निर्णयमा पनि उनीहरु पुगेका छन् ।

उनीहरुले आजै बाबुरामलाई ज्ञापनपत्र बुझाउन लागेका हुन् । कल्पना धमला, देवेन्द्र पराजुली, मदन राई, रामरिझन यादव, सोनाम सिंह स्याङतान, ज्ञानेन्द्र कुमाल, झक्तवहादुर साह, रामवहादुर वोहोरा, नारायण तिवारी लगायत नेताहरु बाबुरामसँग असन्तुष्ट बनेका हुन् ।

ज्ञापनपत्र तयार पार्ने जिम्मा नेतृ धमला र यादवलाई दिइएको छ । उनीहरुले बैठकमा नेताहरुले राखेका धारणा केन्द्रीत रहेर ज्ञापनपत्र तयार पारेका छन् ।

बिहान ९ देखि दिँउसो १ बजेसम्म बिहानको लञ्चसहित छलफलमा बसेका असन्तुष्ट नेताहरुले बाबुरामले नसोचेको तरिकाबाट आफूहरुलाई धोका दिएको बताएका थिए ।

पार्टी हाक्न नसक्ने निश्र्कषमै बाबुराम पुगेको र उनले उपेन्द्रसँग घुडा टेकेको निश्र्कष ती नेताहरुले निकालेका छन् ।

बैठकमा सहभागी असन्तुष्ट नेता नारायण तिवारीका अनुसार, बाबुरामलाई ज्ञापन पत्र बुझाउँदा पनि उनले आफूहरुको मागको सुनुवाईमा चासो नदेखाए, छुट्टै बिचार समुह बनाउने र नयाँ राजनीतिक धुव्रिकरणको बहस चलाउने योजना उनीहरुले बनाएका छन् । पहिले भट्टराईलाई ज्ञापनपत्र बुझाएपछि पूनः छलफल गर्ने योजना पनि उनीहरुले बनाएका छन् ।

पार्टीभित्र प्रर्याप्त छलफल बिनै उपेन्द्रको पार्टीसँग एकता गरिएको, एकता गर्दा असन्तुलनकारी नीतिका आधारमा समर्पण गर्ने गरी भएको, पार्टीका एजेण्डा छोडेर उपेन्द्रकै पार्टीको एजेण्डा, नाम, झण्डा र चुनाव चिन्ह्सम्म प्रयोग गर्ने निर्णयमा पुगेर बाबुरामले पार्टी उपेन्द्रलाई बुझाएको उनीहरुको धारणा छ ।

नयाँ शक्तिको केही नलिएको, चुनाव चिन्ह पनि फोरमकै प्रयोग गर्ने भित्री सहमति गरेको, आफु परिषद अध्यक्ष बस्ने उपेन्द्र्रलाई कार्यकारी केन्द्रीय समितिको अध्यक्षको जिम्मा दिएको, पदाधिकारीमा १६ र ९ जना राख्ने, केन्द्रयि समितिमा पनि सन्तुलन नमिलाउने जस्ता कारणले पनि बाबुरामले उपेन्द्रसँग समर्पण गरेको निश्र्कष उनीहको छ ।

प्रतिक्रिया दिनुहोस