पार्टीको घोषणापत्र अनुसार बजेट ल्याउन सरकारलाई नेकपाका नेताहरुको सुझाव

सफल खबर संवाददाता

सोमबार, १६ बैशाख २०७६, १४ : ३२
पार्टीको घोषणापत्र अनुसार बजेट ल्याउन सरकारलाई नेकपाका नेताहरुको सुझाव

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले पार्टीको घोषणापत्र अनुसार नीति तथा कार्यक्रम र बजेट ल्याउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् । 

सोमबार बसेको नेकपा सचिवालयको अनौपचारिक बैठकमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्याक्रमबारेमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताहरुसँग सुझाव माग गरेपछि यस्तो सुझाव दिइएको हो । 

समाजवाद उन्मुख नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव दिइएको सचिवालयका एक नेताले जानकारी दिए । ती नेताले भने, ‘चुनावको घोषणापत्रलाई केन्द्रमा राख्न पर्यो । त्यसलाई उपेक्षा गर्न भएन ।’ त्यस्तै भूमिसुधार गर्ने कार्यक्रमलाई पनि प्राथमिकतामा राख्न प्रधानमन्त्री ओलीलाई सुझाव दिइएको ती नेताले बताए । 

भ्रष्टाचारको प्रभावकारी नियन्त्रण हुन नसकेकोले त्यसमा पनि ध्यान दिन सुझाव दिइएको ती नेताले बताए । उनको अनुसार समाजवाद उन्मुख समृद्धि भनेको के हो, त्यसका मूल आधारहरु परिभाषित गरेर आउनु पर्ने सुझाव सरकारलाई दिइएको छ । 
 

प्रतिक्रिया दिनुहोस