Safal Khabar - मानव र ब्रह्माण्डको अन्तरसम्बन्ध
आइतबार, १२ जेठ २०७६ (Sunday, 26 May, 2019)
मानव र ब्रह्माण्डको अन्तरसम्बन्ध
आइतबार, १५ बैशाख २०७६, १३ : ०९
मानव र ब्रह्माण्डको अन्तरसम्बन्ध

– रमेश घिमिरे
मानव र ब्रह्माण्डको अन्तरसम्बन्धबारेमा हिन्दू ग्रन्थमा अनेक मिथक छन् । खगोलको अध्ययन गर्न तल्लीन आधुनिक भौतिकशास्त्रीहरूले पत्ता लगाएका भनिएका विषयलाई हिन्दू ग्रन्थका मिथकसँग संयोजन गरेर हेर्दा निकै रोचक पक्षहरू पाइन्छन् ।

मिथकका अनुसार मानिसको विपरीत भूत, प्रेत, पिचास आदि हुन्छन् । तिनीहरूको स्वभाव मानिसको विपरीत हुन्छ । विज्ञानका अनुसार, यहाँ प्रति–पदार्थ पनि हुन्छ । पदार्थ र प्रतिपदार्थ सम्पर्कमा आए भने ध्वस्त हुन्छ । त्यस्तै, मिथकका अनुसार भवगान तŒव पनि हुन्छ, जुन सर्वव्यापी हुन्छ र यसमा ठूलो शक्ति हुन्छ । विज्ञानका अनुसार, ब्रह्माण्डको आधारभूत अंश गुरुत्वाकर्षण बल, विद्युत्–चुम्बकीय बल, सक्षम न्युक्लियर बल र कमजोर न्युक्लियर बलको फिल्ड हो । यी सबै ऊर्जा वा शक्ति हुन् ।

भौतिक विज्ञानमा अहिलेसम्म पदार्थको क्वार्कभन्दा सानो अंश पत्ता लगाउने सिद्धान्त बनेको छैन । जैविक र अजैविक सबै पदार्थ परमाणु (एटम) को योग हुन् । एटमभित्र इलेक्ट्रोन र न्युक्लियस रहन्छ । न्युक्लियरभित्र प्रोटोन र न्युट्रोन हुन्छ । प्रोटोन र न्युट्रोनभित्र क्वार्क हुन्छ । क्वार्क केले बन्दछ भन्नेमा केही सिद्धान्त बहसमा आएका छन् । धेरै वैज्ञानिकले सत्य हुन सक्ने बताएको सिद्धान्त स्ट्रिङ (रेसा) सिद्धान्त हो । उनीहरूका अनुसार, वृत्त, सिधा, बांगा वा कुनै पनि आकारमा स्ट्रिङहरू कम्पन गर्छन् । ती स्ट्रिङ नै ऊर्जा हुन् । तिनको कम्पनको प्रवृत्तिअनुसार पदार्थको प्रकृति फरक हुन्छ जस्तो कि कुनै वस्तु ढुंगा हुन्छ भने कुनै मानिस ।

विज्ञान भन्छ, हामीले जुन वस्तु देख्छौं, नदेखेको बेला त्यो वस्तु अर्कै हुन्छ । क्वार्कमा तरंग र कण दुवै हुन्छ तर जब हेर्दछौं, तरंग विलय हुन्छ । किन विलय हुन्छ भन्ने पत्ता लाग्न सकेको छैन । एटमभित्रको अंश (सबएटोमिक पार्टिकल्स) को आकारको सम्बन्धमा विज्ञानको व्याख्या अचम्मको छ । तिनको कुनै आकार हुँदैन, एकैपटक एकभन्दा बढी आकारमा अस्तित्वमा हुन्छन्, हेरेको बेला मात्र एउटा आकार हुन्छ । वास्तवमा सब–एटोमिक पार्टिकल्सको स्वभाव देख्न र मापन गर्न सकिंदैन, मात्र गणितीय समीकरणमा हिसाब गर्न सकिन्छ । 

वैज्ञानिकहरूका अनुसार गणितीय समीकरणमा पनि जे लेखिन्छ, त्यो अरूलाई बुझाउन सांकेतिक मात्र लेखिन्छ, वास्तविक रूप अभिव्यक्त गर्न सकिंदैन । हिन्दू मिथक पनि कतिपय चिज अनुभूति मात्र गर्न सकिने तर अरूले बुझ्ने गरी व्यक्त गर्न नसकिने बताउँछ । मिथकका अनुुसार ब्रह्माण्डमा सिद्ध मानव वा भगवान्ले मात्र अनुभव गर्न सक्ने चिज हुन्छन् । 
अल्बर्ट आइन्सटाइनले प्रकाशको गतिभन्दा छिटो केही हुन नसक्ने बताएका छन् । प्रकाशको गति करिब ३ लाख किलोमिटर प्रतिसेकेन्ड हुन्छ । आइन्सटाइनका अनुसार समय सबैका लागि एउटै हुँदैन अर्थात् समय पनि सापेक्ष हुन्छ । कुनै वस्तु जति गतिमा कुद्छ, उसका लागि समय त्यति ढिला चल्छ । यदि प्रकाशको गतिमा कसैले दूरी पार गर्छ भने उसको लागि समय शून्य हुन्छ अर्थात् समय कहिले पनि बित्दैन । मानौं अन्तरिक्ष यात्रामा निस्केको मानिस पाँच वर्षपछि पृथ्वीमा फर्कंदा पृथ्वीमा ५० वर्ष भइसकेको हुन सक्छ । किनकि यात्रीको समय ढिला चलेको हुन्छ । महाभारतमा पनि स्वर्गमा एक वर्ष बित्दा पृथ्वीमा कैयौं युग बितिसकेको हुने उल्लेख छ ।
भौतिक विज्ञानको एक सिद्धान्तअनुसार ब्रह्माण्डमा भ्याकुम (खाली) नै हुँदैन । थाहा नपाइने वेभ, फ्रिक्वेन्सी, कम्पन आदि हुन्छन् । ती सबै पदार्थका साना रूप हुन् । पृथ्वीबाट कैयौं सूक्ष्म वस्तु ब्रह्माण्डमा गइरहेका हुन्छन् भने बह्माण्डबाट यहाँ पनि आइरहेका हुन्छन् । कुनै पनि वस्तु यदि प्रकाशको गतिमा हिंड्छ भने तरंगमा रुपान्तरण हुन्छ । वैज्ञानिकहरूका अनुसार, मानिस वा मानिसले बनाएका मेसिन र पृथ्वीका जीवजन्तुले सुन्न वा देख्न सकिने भन्दा धेरै साना रूप वा अंश बह्माण्डमा छन् ।
हिन्दू मिथकले मानिसको मृत्युपछि एक ऊर्जा शरीरबाट अलग्गिएर जाने र त्यसले अर्बौ खर्बौं किलोमिटर बराबरको दूरी पार गर्ने उल्लेख गरेको छ । पार गर्ने स्थानमा कहीं एकदमै चिसो र कहीं एकदमै तातो, कहीं कोलाहल र कहीं शान्त हुने उल्लेख गरेको छ । जीवित अवस्थामा पनि साधनाबाट अदृश्य भ्रमण र दिव्य दृष्टि स्थापित गर्न सकिने उल्लेख गरिएको छ । उता भौतिक विज्ञानका अनुसार पनि देख्न सुन्न नसकिने चिज ब्रह्माण्डमा घुम्छन्, डुल्छन् ।
वैज्ञानिकहरूका अनुसार मानिसको मस्तिष्कमा १० अर्ब न्युरोन हुन्छन् । तर, तिनको कार्य के हो र मानिसको मृत्यु कसरी हुन्छ ? यकिन गर्ने सिद्धान्त बनिसकेको छैन । मानिसको दिमागमा विचार कसरी आउँछ भन्ने यकिन भएको छैन । मस्तिष्कबारे थोरै मात्र जानकारी पत्ता लागेका छन् । परीक्षणबाट मानिसले अनुभूति गर्ने सपनाका केही तथ्यहरू स्थापित भएका छन् ।
सपना देख्दादेख्दै मानिस ब्युझियो भने मात्र सपना सम्झन सक्छ । सपनामा देखिने गतिविधि र तत्काल शरीरको अवस्थाबीच सहसम्बन्ध (कोरिलेसन) हुन्छ । जस्तो कि सपनामा दौडन कठिन भएको व्यक्ति खुट्टा खुम्चाएर सुतेको हुन्छ । फोक्सो, मुटु वा नशा थिचिएर सुतेको मानिसलाई सपनामा श्वासप्रश्वास गर्न गाह्रो हुन्छ । गाडीमा निदाएको मानिसले गाडीमा कोल्टे पर्दा सपनामा पनि कोल्टे परेको देख्छ । त्यस्तै, गाडीमा निदारहेको बेला दुर्घटना भयो भने सपनामा पनि गुल्टेको देख्छ । 
सपनाको गति बिपनाको भन्दा २० गुणा छिटो हुन्छ । एक मिनेट निद्रामा देखेको सपना ब्युझेर सुनाउँदा वा स्वयम् सम्झिदा २० मिनेट लाग्छ । त्यस्तै, मृत्युको नजिक पुगेको मानिसको कल्पनाको गति अत्यन्तै छिटो हुन्छ । जस्तै, करेन्ट लागेर मृत्युको बोध गरिसकेको तर केही सकेण्डमै उद्धार भएको व्यक्ति, तुलसीमा सारेको, चितामा पु¥याइएको वा अस्पतालको बेडमा मृत्यु भएको भनिए पनि प्राण फर्केका कतिपय मानिसहरूले त्यो बीचमा अनुभव गरेको कुरा सुनाउँदा वा सम्झिदा निकै लामो समय हुन्छ ।
जसरी ब्रह्माण्डमा समय फरक फरक हुन्छ, त्यसैगरी मानिसको मस्तिष्कमा पनि फरक अवस्थामा समय फरक हुन्छ ? मानिसले केही कुरा सोच्दा मस्तिष्कमै सञ्चित भएका सूचनामा सीमित हुन्छ वा बाहिरबाट कुनै सूचना मस्तिष्कमा प्रवेश गर्दछ ? मानिसबाट कुनै सूक्ष्म तत्व बाहिर निस्केर सूचना लिएर वा घटना भोगेर फर्कन्छ ? यी विषय भौतिक विज्ञानमा पत्ता लागेका तथ्यसँग संयोजन गरेर अध्ययन गर्न सकिने वा नसकिने विषयमा खोजअनुसन्धान हुनुपर्ने देखिन्छ । (कारोबार डेली डट कम बाट)

प्रतिक्रिया दिनुहोस