नेपाल-भारत सिमानामा पर्ने महाकाली नदी पुलको बाटो बन्द

सफल खबर संवाददाता

सोमबार, ०२ असार २०८२, १५ : ४९
नेपाल-भारत सिमानामा पर्ने महाकाली नदी पुलको बाटो बन्द

काठमाडौँ । भारतीय पक्षले नेपाल-भारत सिमानामा पर्ने महाकाली नदी पुलको बाटो बन्द गरेको छ । महाकाली पुलको बाटो बन्द भएपछि नेपालको दार्चुला सदरमुकाम र भारतको धारचुला आउ-जाउ बन्द भएको हो ।

एक जना भारतीय नागरिकको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न दबाब दिने उद्देश्यले स्थानीयले महाकाली नदीको पुल बन्द गराएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।

‘धारचुलामा एउटा मर्डर केस छ । त्यो मर्डरमा संलग्न दुई जना व्यक्ति भागेर नेपाल आएको भन्ने अपुष्ट खबर छ । नेपालतर्फ हामीले पनि खोजिरहेका छौँ तर फेला परेको छैन,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘हत्यामा संलग्नलाई पक्राउ गर्नुपर्‍यो भनेर दबाब दिने उद्देश्यले स्थानीयले बाटो बन्द गराएको जानकारी भारतीय अधिकारीहरूले दिएका छन् ।’

भारत सरकार आफैँले नभई भारतीय नागरिकहरूले आफ्नो सरकारलाई दबाब दिने उद्देश्यले बाटो बन्द गरेको बुझिएको पौडेलले बताएका छन् । अहिले बाटो खुली सकेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । आज बिहान ११ बजेदेखि भारतीयहरूले प्रदर्शन गरेपछि त्यतिबेलादेखि नै महाकाली नदी माथिको पुलको बाटो बन्द भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस