उपचारका लागि विदेशबाट नेपाली अस्पतालमा आउन थाले बिरामी

पत्रपत्रिकाबाट

आइतबार, ०१ असार २०८२, ०७ : ४९
उपचारका लागि विदेशबाट नेपाली अस्पतालमा आउन थाले बिरामी

काठमाडौ । केही वर्षअघिसम्म नेपालीहरू जटिल स्वास्थ्य समस्यामा मात्र होइन, सामान्य उपचारका लागि पनि विदेश जाने गर्दथे तर अहिले कैयौँ रोगको उपचारका लागि विदेशबाट बिरामी नेपाल आउन थालेका छन् । पछिल्ला १० वर्षमा नेपालको स्वास्थ्य क्षेत्रले फड्को मारेको छ । स्वास्थ्यसँग सम्बन्धित ऐन, नियम बनेका छन् । ती ऐन, नियमावलीलाई पूर्ण कार्यान्वयन र थप केही स्रोत व्यवस्थापन गर्न सके नेपालले स्वास्थ्य क्षेत्रमा अकल्पनीय प्रगति हासिल गर्न सक्ने सरोकारवालाको दाबी छ । 

एक दशकअघिसम्म मिर्गौला प्रत्यारोपण, क्यान्सर रोगको उपचार, कलेजो प्रत्यारोपणलगायतका उपचारका लागि नेपाली भारत, थाइल्यान्डलगायत विकसित मुलुकमा जाने गर्दथे तर अचेल ती रोगको उपचारका लागि बिरामी विदेशबाट नेपाली अस्पतालमा आउन थालेका छन् । 

केही वर्षअघिसम्म मिर्गौलाको प्रत्यारोपण मात्र होइन, डायलासिस गर्न पनि सर्वसाधारण नेपालबाट भारत जानुपथ्र्यो । १२ वर्षअघि सरकारले स्थापना गरेको भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मिर्गौला तथा कलेजो प्रत्यारोपणका लागि भारत जानुपर्ने बाध्यता हटाएको छ । हाल उक्त केन्द्रमा कलेजो र मिर्गौला प्रत्यारोपण भइरहेको छ । यति मात्र होइन, सरकारले अब मुटु प्रत्यारोपण पनि नेपालमै गर्ने तयारी गरिरहेको छ । प्रत्यारोपण केन्द्रमा भारत, बङ्गलादेशका बिरामी आउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको दाबी छ । 

त्यसो त मिर्गौलामा मात्र होइन, आँखाको उपचार गर्न पनि विदेशीले नेपाली अस्पताल रोज्ने गर्छन् । आँखा स्वास्थ्यमा नेपालले गरेको प्रगति विश्व प्रशंसित छ । झापा, विराटनगर, भैरहवा, गेटा, भरतपुरलगायतका आँखा अस्पतालमा उपचारका लागि भारतीय नागरिकको घुइँचो लाग्ने गरेको छ । ६० देखि ८० प्रतिशतसम्म नेपालका आँखा अस्पतालमा भारतीय नागरिक आएर उपचार गराउने गरेका छन् । 

नेपालमा नाम कहलिएका अस्पतालमा विदेशी आएर उपचार गराउन थालेका छन् । सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर मिर्गौला तथा कलेजो प्रत्यारोपण, मुटुरोग, क्यान्सर जस्ता रोगका लागि छुट्टै अस्पताल केन्द्रीकृत रूपमा सञ्चालन गरेको छ । ती सरकारी अस्पतालमा बिरामीको भिड लाग्ने गर्छ ।  गोरखापत्रमा खबर छ ।