भर्ना अभियान–३

भर्नाकै दिन हातहातमा पाठ्यपुस्तक

सफल खबर संवाददाता

शनिबार, १४ बैशाख २०७६, १७ : ०३
भर्नाकै दिन हातहातमा पाठ्यपुस्तक

चितवन । तपाइँ आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्न खोज्दै हुनुहुन्छ ? वैशाख २ देखि भर्ना खुला गरिएको छ । छोराछोरीलाई भर्ना गर्ने बित्तिक्कै तपाइँ रित्तो हात फर्कन पर्ने छैन । साथमा किताब पनि निःशुल्क पाउनुहुन्छ । 
‘भर्ना भएर नाम लेखाएकै दिन पाठ्यपुस्तक पनि वितरण भइरहेको छ’ शिक्षा विकास समन्वय इकाइका प्रमुख भूमिलाल सुवेदीले भन्नुभयो, ‘जिल्लाभरका विद्यालयले भर्ना भएकै दिन पाठ्यपुस्तक वितरण गरिरहेका छन् ।’
हरेक सामुदायिक विद्यालयले हातैमा बिध्यार्थीले पढ्ने पाठ्यपुस्तक थमाएर पठाइरहेका उहाँले बताउनुभयो । यस वर्ष चितवनमा भर्ना अघी नै जनक शिक्षा सामग्री केन्द्रले पर्याप्त पुस्तक पठाएकाले समस्या छैन । ‘भर्ना गरेकै दिन विद्यार्थीका हातमा नयाँ पुस्तक छ’  ईकाई प्रमुख भूमिलाल सुवेदीले भन्नुभयो । जिल्लामा आवाश्यक पर्ने पाठयपुस्तक भित्रीसकेको छ। उहाँका अनुसार हरेक सामुदायिक स्कुलले पुस्तक खरिद गरेर विद्यार्थीहरुलाई निःशुल्क उपलव्ध गराउनेछन् ।
चितवनमा भर्ना भएको दिन पुस्तक उपलव्ध गराउन कुनै समस्या छैन । ढुक्क भएर भर्ना गर्नूस्, भर्नासंगै पूरा सेट भएको पाठ्यपुस्तक झोला भरी लिएर जानूस्’ उहाँले भन्नुभयो । नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी महासंघ जिल्ला शाखाले आवास्यक पर्ने नयाँ पुस्तक जिल्ला भित्र्याएर सात वटै स्थानीय तहको केन्द्रमा लगेको छ ।  

प्रतिक्रिया दिनुहोस