आइफोन प्रयोगकर्ताले ह्वाट्सएपमै युट्युब भिडियो हेर्न पाउने

शनिबार, ०६ माघ २०७४, १३ : ३२
आइफोन प्रयोगकर्ताले ह्वाट्सएपमै युट्युब भिडियो हेर्न पाउने

ह्वाट्सएपले आइफोन प्रयोगकर्ताका लागि एक नयाँ फिचर सुरु गरेको छ । यसमा ह्वाट्सएपमा पठाइएका भिडियो चलानकालागि युट्युब खोल्नु आवश्यक पर्नेछैन ।

यदि तपाइँको ह्वाट्सएपमा कुनै युट्युब भिडियोको लिंक आयो भने उक्त भिडियो हेर्नका लागि तपाइँ ह्वाट्सएपबाट बाहिर निस्केर युट्युबमा पुग्नुपर्ने छैन । ह्वाट्सएपभित्रै च्याट विन्डोमा उक्त भिडियो स्ट्रिम हुनेछ ।

ह्वाट्सएपको परीक्षण कार्यक्रमको रुपमा रहेको बिटा प्रोग्रामहरुको निगरानी गर्ने एक वेबसाइट डब्ल्यूए बिटा इन्फोका अनुसार यो नयाँ सर्भिस प्राप्त गर्नका लागि प्रयोगकर्ताले एप्पल प्ले स्टोरमा गएर आफ्ना ह्वाट्सएप अपडेट गर्नुपर्नेछ । ह्वाट्सएपमा अन्य केही सुधार पनि गरिएको छ ।

ह्वाट्सएपमा युट्युब भिडियो प्ले गर्नका लागि भिडियो लिंक आएसँगै प्ले अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ । यसअघि ह्वाट्सएपमा आएको युट्युब भिडियोको लिंकमा क्लिक गरेसँगै उक्त भिडियो प्रयोगकर्ताको फोनमा रहेको युट्युब एपबाट मात्र खुल्दथ्यो ।

वेबसाइटका अनुसार ह्वाट्सएपको च्याट विन्डोमा चलिरहेको भिडियो कुनै अर्को च्याट विन्डोमा जाँदा पनि बन्द हुनेछैन । एन्ड्रोइड प्लाटफर्ममा चाहीँ अहिले यो फिचर उपलब्ध छैन । स्मरण रहोस् विश्वमा ह्वाट्सएपका १ अर्ब २० करोड प्रयोगकर्ता छन् ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस