विप्लवलाई पनि स्वागत गर्ने दिन आउँछ : अध्यक्ष प्रचण्ड

सफल खबर संवाददाता

आइतबार, ०८ बैशाख २०७६, १६ : ११
विप्लवलाई पनि स्वागत गर्ने दिन आउँछ : अध्यक्ष प्रचण्ड

चितवन l पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वार्ता, संवाद र सहमतिबाट अगाडि बढ्न आन्दोलनरत नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई आग्रह गर्नु भएको छ । चितवनको कैलाशनगरमा आइतबार कैलाशनगर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो ।

‘अहिले देश २०५२ सालमा छैन, २०७२ साल पनि हैन, हामी अहिले २०७६ सालमा छौं । बम पड्काएर, चन्दा उठाएर, जनतालाई आतंकित बनाउने समय अबको होइन’ उहाँले भन्नुभयो, ‘वार्ता, संवाद र सहमतिबाटै अगाडि बढ्नु पर्छ । संवादमा, सहकार्यमा आउनु पर्छ । विप्लवलाई पनि स्वागत गर्ने दिन आउँछ ।’ अध्यक्ष प्रचण्डले धेरै अफ्ठेराहरुको सामना गरेर संविधान बनाएको, शान्ति सम्झौता, १२ बुँदे समझदारी, १९ दिने जनआन्दोलन, निर्वाचन सहमतिमै सम्पन्न गरेको स्मरण गर्नुभयो । 

‘अबको नेपालको एजेण्डा भनेको विकासको एजेण्डा हो । समृद्धिको एजेण्डा हो । सरकारले पार्टीहरु आपसमा मिलेर काम गर्ने वातावरण बनाउँदै छ’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘सरकारले सामाजिक न्याय र सुरक्षाको निम्ति, विकासको पूर्वाधार अगाडि बढाउने काममा ध्यान दिइरहेको छ । जनतालाई गरिएको प्रतिवद्धता अनुसार बजेट आउँदै छ । अनावश्यक राजनीतिक खिचातानीभन्दा पनि विकासका लागि मिलेर अगाडि बढ्नु पर्छ ।’

शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था संविधानबाट ग्यारेण्टी गरिएकोले अब कुनै पनि नेपालीले गरीब भएकै कारण पढ्न नपाउने, उपचार नपाउने, रोजगारी नपाउने अवस्था नआउने उहाँले बताउनु थियो । सगरमाथादेखि तराईका फाँटसम्म नेपाल प्राकृतिक स्रोतसाधनले भरिपूर्ण रहेकोले यिनको सदुपयोग गर्दै खाद्यान्न आयातको स्थिति बदल्नु पर्ने, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु पर्ने उहाँको भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहोस