भरतपुर महानगर प्रमुख रेनु दाहालबाट सहकारीको भवन शिलान्यास

सफल खबर संवाददाता

बुधबार, ०४ बैशाख २०७६, १५ : २३
भरतपुर महानगर प्रमुख रेनु दाहालबाट सहकारीको भवन शिलान्यास

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बुधबार एक समारोहबीच केरुंगा ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्था  लि. र आत्मनिर्भर सामाजिक उद्यमी महिला सहकारी संस्था  लि. को भवन शिलान्यास गर्नु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २४ मा भवन शिलान्यास कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमकी प्रमुख अतिथि दाहालले सहकारीको माध्यमबाट समृद्धि हासिल गर्ने राज्यको नीतिलाई पूरा गर्न सम्पूर्ण सहकारीकर्मी तथा सहकारी अभियान्ताहरुलाई आग्रह गर्नुभयो । सहकारी क्षेत्रको गुणस्तरीय विकासले आमनागरिकलाई स्वावलम्बी बनाउने भन्दै यसबाट उद्यमशिलता बढाउने बताउनु भयो । सहकारीहरु ब्यवस्थित र मर्यादित हुनुपर्ने बताउँदै सहकारीहरूले एकीकृत पुँजीको परिचालन गरी उत्पादनमा भाग लिनुपर्नेमा जोड दिनुभयो । 

केरुंगा सहकारीले यस क्षेत्रमा  ताजा तरकारी तथा फलफूल उत्पादनमा क्रान्ति नै ल्याएको भन्दै मेयर दाहालले यसको विकास र बिस्तारमा आफू संगसंगै रहेको बताउनु भयो । यसको पूर्वाधार विकासतर्फ भवन निर्माणका लागि ३० लाख बजेटको ब्यवस्था गरेको बताउँदै यसको बृहत्तर विकासका लागि आफ्नो सहयोग निरन्तर रहने बताउनु भयो ।

प्रमुख दाहालले कृषिको आधुनिकीकरण र ब्यावसायीकरण संगसंगै लैजानु पर्ने बताउँदै यसलेमात्र देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने बताउनु भयो । उहाँले फलफूल तथा तरकारीमा भइरहेको विषादीको प्रयोगमा नियन्त्रण गर्न सम्पूर्ण सहकारीकर्मी इमानदार भएर लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा वडा नम्बर २३ का अध्यक्ष नरीनारायण पौडेल, वडा नम्बर २५ का अध्यक्ष बिजय भुजेल, भरतपुर महानगरपालिका कृषि तथा पशुपक्षी बिकास महाशाखा प्रमुख बिनोद घिमिरे लगायतले सहकारीमार्फत उत्पादन बृद्धिमा भाग लिएमात्रै देश समृद्ध हुने विचार व्यक्त गरेका थिए । उनीहरुले गुणस्तरीय फलफूल तथा तरकारी उत्पादन गर्दै आएको केरुंगा सहकारीलाई धन्यवाद ब्यक्त गर्दै  भवन निर्माण कार्य समयमै सम्पन्न गर्न आग्रह गरे ।

केरुंगा सहकारीले यस क्षेत्रमा ताजा तरकारी तथा फलफूल उत्पादन गर्दै चितवन तथा देशका अन्य भागमा बिक्री वितरण गर्दै आएको छ । यस सहकारीले  किसानहरूका लागि मल, बीउ, माटो परीक्षणका साथै आवश्यक तालिमहरूको समेत सेवा पु¥याइरहेको छ । सहकारीले किसानहरूले उत्पादन गरेका फलफूल तथा तरकारी लगायतका कृषि उपज  बिक्री वितरण गरिरहेको छ । सहकारीमा करिब ८ सय जना सदस्य आवद्ध भई कृषि कार्यमा संलग्न रहेको केरुंगा सहकारीका अध्यक्ष जनकराज पुरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस