शक्तिकेन्द्रको आडमा राष्ट्रिय वाणिज्य बैंकको ऋण नतिर्ने ढकाललाई होला त कारबाही ?

सफल खबर संवाददाता

मंगलबार, ०३ बैशाख २०७६, १४ : ४२
शक्तिकेन्द्रको आडमा राष्ट्रिय वाणिज्य बैंकको ऋण नतिर्ने ढकाललाई होला त कारबाही ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले झापामा स्थापना गरेको मोमेन्टो एपेरिएल्स प्रालि नामक गार्मेन्ट उद्योग सन् २०१२ बाट बन्द छ । त्यही गार्मेन्ट उद्योग खोल्दा लिएको ऋणको साँवा र ब्याज गरेर ढकालले राष्ट्रिय बाणिज्य बैंकलाई झण्डै एक अर्ब रुपैयाँ तिर्नु पर्छ । उद्योग बन्द भएको बर्षौं बितिसक्दा पनि शक्तिकेन्द्रको आडमा अझै उनले ऋण तिरेका छैनन् । बैंकिङ कसुरमा ढकाललाई होला त कारबाही ? जनचासो बढेको छ ।

उद्योगी असाध्यै कम र बढी राजनीतिक चलखेलमा व्यस्त हुने ढकालले कुनै बेला तयारी पोशाक तथा गार्मेन्ट व्यवसायबाट असाध्यै नाम र दाम कमाएपनि पछिल्लो समयमा भने उनी करिब करिब टाट पल्टेको अवस्थामा छन् । बैंक तथा वित्तीय संस्थासँग लिएको ऋण तिर्न अटेर गर्ने अर्को विशेष स्वभाव यिनको छ । तयारी पोशाक (गार्मेन्ट) व्यवसायबाट टाट पल्टिएका ढकाललाई राष्ट्रिय वाणिज्य बैंकबाट लिएको ऋणको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा.युवराज खतिवडाले झपारेका छन् । पछिल्लो पटक प्रधानमन्त्री ओली र अर्थमन्त्री डा. खतिवडाको राम्रैसँग गाली भेटेका उनै ढकालले ‘उद्योगी व्यवसायी आन्दोलनमा जानु प¥यो’ भन्दै सरकारविरुद्ध आन्दोलनको मोर्चा खोल्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री र अर्थमन्त्रीले पालैपालो आफ्नै च्याम्बरमा बोलाएर ढकाललाई तत्काल बैंकको साँवा र ब्याज भुक्तानी नगरे अब बचाउन नसक्ने बताएको स्रोत बताउँछ । प्रधानमन्त्री ओलीको कृपा पाएर नै ढकालले शक्तिको दुरुपयोग गरेको उनलाई नजिकबाट चिन्नेजान्नेहरु बताउँछन् । प्रधानमन्त्री ओलीले तत्काल बैंकको पैसा  चुक्ता नगरे जे पनि हुन सक्ने भन्दै ढकाललाई सचेत गराएको बालुवाटार स्रोतको दाबी छ ।

‘अहिलेसम्म जेनतेन बचायौ अब सक्दैनौं,’ तत्काल तिर्ने भए तिर्नुस, नभए कानुनी प्रक्रियामा बैंक जान्छ’ अर्थमन्त्रीले खतिवडाले ढकाललाई दिएको चेतावनीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘व्यवसाय टाट पल्टिसक्यो । अब जोगाउन सकिँदैन । ऋण तिर्ने भए तिर्नु्स्, होइन भने हाम्रो नाम लिएर नहिँड्नुस् । उद्योेग राखेको जग्गा समेत बेचिसक्नुभयो । तर, पनि बैंकलाई बुझाउनु पर्ने रकम नबुझाइ बस्ने ? अनि हामीले सधैभरी बचाई राख्नुपर्ने ?’

बैंकले पटकपटक ताकेता गर्दा पनि ढकालले जवाफ नदिएपछि बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले ढकालको ऋणको बारेमा अर्थमन्त्री खतिवडा र प्रधानमन्त्री ओलीलाई जानकारी गराएको बताइन्छ । ऋणको विषयमा कुरा भयो कि ऋण मिनाहाको विषयमा ? भन्ने बारेमा भने बैंकका पदाधिकारी केही बताउन तयार छैनन् । बैंकका प्रमुख कार्यकारी अधिकृत  श्रेष्ठका अनुसार ढकालसँग  छलफल जारी रहेको छ । ढकालले पैसा नतिरेको खण्डमा कानुनी उपचारमा जानुको विकल्प छैन ।

‘बैंक  चुप लागेर बसेको होइन’ उनले भने, ‘केही प्राविधिक अप्ठयारो परेकाले हो ।’ उनले ढकालले तिर्नुपर्ने रकमको बारेमा बताउन चाहेनन् । बैंकले कसरी कहिलेसम्म उठाउने र ढकालले पनि तिर्छु भनिरहेका बेला उनको ऋण रकम बाहिर ल्याउनु त्यति उपयुक्त नहुने उनको भनाइ छ । ढकालले यस विषयमा बारम्बार छलफल भइसकेको बताए । यो उद्योग पुनः सञ्चालन हुने र त्यसका लागि बैंकसँग छलफल चलिरेकेको ढकालको भनाइ छ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसँग छलफल जारी रहेको भन्दै ढकाल पानी माथिको ओभानो बन्ने प्रपञ्चमा लागेका छन् ।

कुनै समयमा मोमेन्टोले नेपालबाट धेरै गार्मेन्ट निकासी गरेवापत पुरस्कृत भएको थियो । मोमेन्टोले ३ पटक लगातर बढी निकासी गरेवापत पुरस्कार पाएको हो । मोमेन्टो नेपालको सबैभन्दा ठुलो गार्मेन्ट उद्योग हो । तर ढकालकै कारण उद्योग लामो समयदेखि बन्द छ । मोमेन्टोले २०६४ सालदेखि बैंकको ऋण तिर्न छाडेको छ। ऋण तिर्न छाडेपछि बैंकले उनलाई कालोसूचीमा राखेको हो ।

ऋण नतिरेमा कानुनी उपचारमा जाने
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकृष्ण श्रेष्ठले ढकालबाट ऋण असुलीका लागि आवश्यक प्रकृया सुरु भएको जानकारी दिए। 'उहाँ (ढकाल) ऋण भूक्तानीका लागि नेगोसिएसनमा आउनु भएको छ' उनले भने, 'हामीले दुई वटा मोडेलमा कुराकानी गरिरहेका छौं । असार मसान्तभित्र पुरानो ऋण टुङ्ग्याउने छौं ।' उनका अनुसार, असार मसान्तसम्म कि ढकालले ऋण भूक्तान गरिसक्नु पर्छ । यदि त्यो मितिसम्म ऋण भूक्तानी नभए बैंक कानुनी कारवाहीमा अगाडि बढ्नेछ ।

बैंकको ऋण असुली विभाग स्रोतका अनुसार, ढकालले बैंकबाट पटक पटक गरेर ३० करोड रुपैयाँ ऋण लगेका छन् । यसमध्ये अधिकांस ऋण मोमेन्टोले उत्पादन गर्ने कपडाको कच्चा पदार्थ आयात गर्न एलसी खोल्दा लिएको छ । 'कम्पनीले एलसी खोलेर सामान मगाउने, बेच्ने तर बैंकको पैसा नतिरेको अवस्था थियो' बैंक स्रोतले भन्यो, '३० करोडमध्ये ८ करोड रुपैयाँ प्रोजेक्ट ऋण थियो ।'

ढकालले ऋण तिर्न छाडेपछि ब्याज जरिवाना र पूँजीकरण गरेर करिव डेढ अर्ब रुपैयाँ पुगेको छ। यो ऋण टुङ्ग्याउनका लागि दुई वटा मोडालिटीमा काम भइरहेको श्रेष्ठले जानकारी दिए । 'एकै पटक सबै ऋण फरफारक गर्ने भए हामी जरिवाना तथा ब्याजमा केही हेरिदिन सक्छौं' श्रेष्ठले भने, 'होइन पुनर्संरचना गर्ने हो भने छुटहरु दिन सकिँदैन।' उनले बैंकको ऋण असुली कार्यविधि अनुसार ऋण राफसाफ गर्ने गरी आएमा राम्रो छुट दिन सकिने बताए ।

त्यस अनुसार ३० करोडको ऋण बढेर डेढ अर्ब पुगेसकेको अवस्थामा ढकालसँग जरिवानाहरु मिनाहा गरेर ४८ करोडमा ऋण भुक्तानी गर्ने गरी छलफल भइरहेको छ। यो बैंकले छुट कटाएर ढकाललाई दिएको स्कीम हो। ढकालले भने ३८ करोड रुपैयाँ मात्र तिर्न सक्ने बताएका छन् ।

कम्पनीका नाममा करिव ३ विघा जग्गा छ। मेसिनरीहरु बिक्री गरिसकेको र त्यहीँ रहेको केही मेसिनरीहरु काम नलाग्ने गरी बिग्रिसकेको छ। त्यसैले कम्पनीले राखेको धितोले ऋण खाम्न सक्ने अवस्था छैन। धितोले खाम्न नसकेको अवस्थामा ढकालले ऋण दूरुपयोग गरेको ठहर्ने हुँदा उनीमाथि बैंकिङ कसुर ऐन अनुसार पनि कारवाही अघि बढ्न सक्ने बैंकका एक सञ्चालकले जानकारी दिए ।

'असारअघि नै ढकालले ऋण तिरिसक्नु पर्छ । यदि उनले तिरेनन् भने सम्पति लिलामी गर्ने प्रकृया सुरु हुन्छ । अनि ऋण दूरुपयोगको अभियोग उनीमाथि लाग्ने छ' ती सञ्चालकले भने, 'त्यसमा बैंकिङ कसुर ऐन आकर्षित हुन्छ । अब हामी पुरानो ऋणीलाई छाड्ने अवस्थामा छैनौं ।'

प्रतिक्रिया दिनुहोस