काठमाडौं । राप्रपाका महामन्त्री एवं झापा–३ का सांसद राजेन्द्र लिङ्देनलाई ७ चैतमा नेपाल टेलिकमको ९८४३९४७२९४ नम्बरबाट एकजनाले शुभचिन्तक बनेर एसएमएस पठाए– ‘तपाईं राजेन्द्र सर हो भने मलाई तुरुन्त फोन गर्नुस् न, इमर्जेन्सी छ । तपाईंको नम्बर बिजी मात्र भन्छ ।’ लिङ्देनले वास्ता गरेनन् । त्यही नम्बरबाट फेरि अर्को एसएमएस आयो– ‘ह्वाट्सएप खोल्नुस् न, मैले म्यासेज गरेको छु, इमर्जेन्सी छ । तपाईंबारे केही कुरा सुनेर म आत्तिएँ ।’ लिङ्देनले ह्वाट्सएपको म्यासेज चेक गरे । लेखिएको थियो– ‘पाँचजनाले होटेलमा बसेर तपाईंलाई मार्ने कुरा गरिरहेको भेटेँ, त्यहाँ लेनदेनको कुरा पनि हुँदै थियो । सुन्दै डर लाग्यो । म त भोलि विदेश जाँदै छु । तपाईं जोगिएर बस्नुहोला ।’
उनले लिङ्देनलाई ह्वाट्सएपमा निरन्तर भ्वाइस म्यासेज पनि छोडिरहे । अडियोमा भनिएको छ– ‘कोही तपाईंलाई मार्न चाहन्छन्, होटेलमा तीनजना भारतीय र दुईजना नेपाली थिए । एउटा पुलिसजस्तो देखिन्थ्यो । तीनजनासँग पेस्तोल पनि थियो । उनीहरू हिन्दीमा गफ गर्थे । दुई नेपालीले भारतीय नागरिकलाई २० लाख रुपैयाँ दिएका छन्, ३० लाख चाहिँ तपाईंलाई मारिसकेपछि दिने भन्दै थिए । तपाईंलाई मार्न तपाईंकै कोही मान्छे मिलेका छन् ।’ जब ती व्यक्तिले लिङ्देनलाई आफू विदेशका लागि जहाज चढेको एसएमएस पठाए, नेपाल टेलिकमको नम्बर पनि बन्द भयो ।
हिन्दीमा निरन्तर भ्वाइस म्यासेज
नेपाल टेलिकमको नम्बर बन्द भएपछि लिङ्देनलाई ९८१३५४४९२९ नम्बरबाट ह्वाट्सएपमा निरन्तर भ्वाइस म्यासेज आउन थाल्यो । हिन्दीमा पठाइएको अडियोमा भनिएको थियो, ‘तेरै मान्छेले मलाई ५० लाख रुपैयाँ दिएर तँलाइ मार्न भारतबाट काठमाडौं बोलाए । तँ त राम्रो मान्छे रहेछस् । तर, मैले पैसा लिइसकेँ अब के गर्नु ? तँ मलाई पैसा दिन सक्छस् भने म ती मान्छेहरू चिनाइदिन्छु, नत्र मैले तँलाइ मार्नैपर्छ ।’ लिङ्देनलाई एक सातासम्म निरन्तर अडियो म्यासेज आइरह्यो । सांसद लिङ्देनले कहिल्यै म्यासेजको जवाफ फर्काएनन् ।
सुरुका शुभचिन्तक नै अभियुक्त
सुरुमा शुभचिन्तक बनेर एसएमएस गरी लिङ्देनलाई सूचना दिएझैँ गर्ने व्यक्ति नै अभियुक्त रहेको प्रहरीको निष्कर्ष छ । लामो अनुसन्धानपछि प्रहरीले लिङ्देनकै निर्वाचन क्षेत्र झापा कचनकवल–२ का तिलकदास पराजुलीलाई पक्राउ गरेको हो । ‘मलाई शुभचिन्तक हुँ भनेर खबर दिने र हिन्दीमा बोल्दै मार्छु भन्ने एउटै व्यक्ति रहेछ,’ लिङ्देनले भने ‘उसले पैसाका लागि यो सब गरेको भए पनि मसँगै गर्नुपर्ने देखिँदैन, यसमा अरू केही चलखेल छ । पक्राउ परेको व्यक्तिलाई मैले चिनेको पनि होइन, कुनै दुस्मनी पनि छैन । त्यसकारण, उसले कसैको उक्साहटमा लागेर यो काम गरेको हुनुपर्छ । त्यसकारण, गहिरो अनुसन्धान आवश्यक छ ।’ सिआइबी र झापास्थित इलाका प्रहरी कार्यालय बनियानीका प्रमुख उदयशमशेर राणाले सतर्कताका साथ काम गरेको लिङ्देनले बताए । उपयुक्त समयमा जाहेरी पनि दिने लिङ्देन बताउँछन् । यो समाचार नयाँ पत्रिकामा लक्ष्मी काफ्लेले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २८ चैत्र २०७५, ०७ : २६
लेखकबाट थप