काङ्ग्रेस हलचलबाट गुज्रेको छ : महेश आचार्य

आइतबार, २४ चैत्र २०७५, १५ : ५२
काङ्ग्रेस हलचलबाट गुज्रेको छ : महेश आचार्य

बागलुङ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले पार्टी गुटगत भासमा फसेको बताउनुभएको छ । नेपाल प्रेस युनियनद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले चुनावपछि काङ्ग्रेस हलचलबाट गुज्रेको उल्लेख गर्नुभयो । 
“पार्टीको आन्तरिक शक्ति सङ्ग्रह पनि हुनसकेको छैन”, नेता आचार्यले भन्नुभयो, “गुटगत विभाजनबाट काङ्ग्रेसलाई बाहिर निकाल्न कोशिस भइरहेको छ ।” पार्टी कमजोर भएका कारण प्रतिपक्षीको भूमिका पनि अर्थपूर्ण हुन नसकेको उहाँको भनाइ छ । पूर्वअर्थमन्त्री समेत रहनुभएका नेता आचार्यले मुलुको समृद्धिका लागि विदेशी लगानी र प्रविधि भित्र्याउनुपर्नेमा जोड दिनुभयो ।

सरकारले हालै गरेको लगानी सम्मेलनबाट अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक सन्देश प्रवाह भएको उहाँको भनाइ छ । पूर्णतया लगानीयोग्य वातावरण नबनेसम्म विदेशी लगानी नभित्रने उहाँको जिकिर छ । उद्योगी, व्यवसायीलाई लगानीका लागि उत्प्रेरित गर्ने गरी नीतिगत र संरचनागत सुधार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  (रासस) 

प्रतिक्रिया दिनुहोस