गर्भवती महिलाका घरमा पहेँलो झण्डा

शुक्रबार, २२ चैत्र २०७५, १२ : ४०

बैतडी । बैतडीको शिवनाथ गाउँपालिका–३ का अधिकांश घरको छाना तथा घर नजिकैको आँगनमा झण्डा गाडिएका छन् । गाउँपालिकाको सहयोगमा प्रस्तावित श्रीपुर स्वास्थ्यचौकीको पहलमा स्थानीयवासी घरमा झण्डा गाडिएको हो ।
सुनौलो हजार दिनका आमा र बच्चा भएको घरमा झण्डा गाडिएको अहेव मोहन कलौनीले बताए । गर्भवती महिला र दुई वर्षमुनिका बालबालिकाको स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने भएकाले उनीहरुलाई सेवा प्रदानमा सहज होस् भनेर झण्डा गाडिएको अहेव कलौनीले बताए । 

वडामा रहेका गर्भवती महिलाका घरमा पहेँलो र दुई वर्षमुनिका बालबालिका भएका घरमा हरियो झण्डा गाडिएको उनले बताए । 

झण्डा गाडिएका घरमा स्वास्थ्य र पोषणका कार्यक्रम केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको कुरा सबैलाई जानकारी दिन पनि सजिलो भएको अहेव कलौनीले बताए ।

वडाभरिका सुनौलो हजार दिनका आमा र बच्चा कोही पनि कुपोषित नहोऊन् र उनीहरुको पोषणमा पहुँच पु¥याउन सजिलो होस् भन्ने हेतुले झण्डाले घर चिनाएको उहाँको भनाइ छ । 

घरको छानामा झण्डा राखेदेखि स्वास्थ्यकर्मीले समेत नियमितरूपमा गर्भजाँच गराए÷नगराएको बारेमा, पोषिलो खानेकुरालगायतका विषयमा सोध्ने गरेको स्थानीयवासी सीता पार्कीले बताए ।  

हरियो र पहेँलो झण्डाले चिनाएका घरमा पोषणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत भएको छ । - रासस

प्रतिक्रिया दिनुहोस