मदन भण्डारी फाउण्डेशनले रक्तदान कार्यक्रम गर्ने

सफल खबर संवाददाता

बुधबार, २० चैत्र २०७५, २० : १७
मदन भण्डारी फाउण्डेशनले रक्तदान कार्यक्रम गर्ने

चितवन । मदन भण्डारी फाउण्डेशन चितवनले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । मदन आश्रित स्मृति दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गर्न लागिएको हो । 

तराईका बारा र पर्सामा हावाहुरीका कारण धेरै जना घाईते भएको र चितवनमा पनि रगतको अभाव देखिएकाले रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको फाउण्डेशनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले बताउनुभयो । 

आज (बुधबार) सम्पन्न फाउण्डेशनको सचिवालय बैठकले चैत २५ गते बिहान ७ बजे भरतपुरको चौबीसकोठीमा रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । बैठकले बरिष्ठ उपाध्यक्ष शम्भु सुवेदीको संयोजकत्वमा रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । 

कार्यक्रम संयोजक सुवेदीले मदन–आश्रितको सम्झनामा रगतको अभावमा छट्पटाईरहेका बिरामीलाई जीवनदान दिन रक्तदान गर्न दाताहरुलाई आव्हान गर्नुभएको छ । 

नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झना स्वरुप दिवस मनाउन लागिएको हो । वि.सं.२०५० साल जेठ ३ गते भण्डारी र आश्रित चढेको जीप चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा परी उहाँहरुको स्वर्गारोहण भएको थियो । सोही दिनलाई मदन आश्रित स्मृति दिवसका रुपमा मनाईदै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस