गजल

आइतबार, १७ चैत्र २०७५, १२ : ४७
गजल

– मन गहिरे

नारी हुँ म सृष्टिको दिलभित्र अटाउन सक्छु
नासो तिम्रो मेरै काख राखी दिन कटाउन सक्छु

चाहे झरुन् आँखाबाट आँशुका ती धाराहरु
लागेका चोटहरु पनि मनभित्रै खटाउन सक्छु

बरु आफै नरहे नि प्राण तिमीलाई भर्दाभर्दै
सन्तान सुख छर्न आफैलाई घटाउन सक्छु

नारी भए सब छ यहाँ नभए सृष्टि नै कहाँ 
आमा हुँ म जन्म दिने सत्य कुरा रटाउन सक्छु

कमजोर कहिल्यै नठान जननीको वर्ग भनी
बैरी आई जाई लागे डाँडा काटी हटाउन सक्छु

तानसेन, पाल्पा

प्रतिक्रिया दिनुहोस