सडक दुर्घटना : आठ महीनामा ३७ जनाको मृत्यु

शनिबार, १६ चैत्र २०७५, ११ : २५
सडक दुर्घटना : आठ महीनामा ३७ जनाको मृत्यु

– भेषराज बस्नेत 
राँझा । बाँकेमा चालू आर्थिक वर्षको आठ महीनामा भएका सडक दुर्घटनामा परी ३७ जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा दुई बालबालिकासहित नौ महिला रहेका छन् । 
पछिल्ला आठ महीनाको अवधिमा बाँकेमा भएका ६० सवारीसाधन दुर्घटनामा परी ३७ को मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका सूचना अधिकृत प्रहरी नायब निरीक्षक ओमप्रसाद पौडेलले जानकारी दिनुभयोे । उहाँका अनुसार, गत वर्षभन्दा यस वर्ष सवारी दुर्घटनामा वृद्धि भएको छ । यो वर्ष सवारी दुर्घटनामा परी ७९ गम्भीर घाइते भएका छन् । अझै केही घाइतेको अस्पतालमा उपचार भइरहेको छ । यो अवधिमा जिल्ला ट्राफिक कार्यालयले ट्राफिक नियम उल्लङ्घन गरेका १८ हजार ९५० सवारीसाधनका चालकलाई कारवाहीसमेत गरेको छ । 

बाँकेमा २० असोज २०७५ मा राप्ती सोनारी गाउँपालिकाको कुसुम नजिक ट्रक र हाइस एकापसमा ठोक्किँदा पाँचको मृत्यु भएको थियो । धेरैजसो सवारी दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको सूचना अधिकृत पौडेलले बताउनुभयो । यस वर्ष बाँकेमा नयाँ तरिकाका सवारी दुर्घटना भएका छन्’, प्रहरी नायब निरीक्षक पौडेलले भन्नुभयो, “खेत जोत्न गएको ट्र्याक्टरबाट च्यापिएर पनि एकको मृत्यु भएको छ ।” 

दुर्घटना न्यूनीकरण गर्न विभिन्न किसिमका चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको प्रहरी निरीक्षक हिरेन्द्र रोकाय बताउनुभयो । “हामी सवारीसाधन चलाएको अवस्थामा सडकमा सवारीसाधन रोकेर चालकलाई सचेतना दिएका छौँ”, प्रहरी निरीक्षक रोकायले भन्नुभयो, “इन्टरनेटको सहायतामा एप्समार्फत पनि चालकका गतिविधि नियालिरहेका छौँ ।”(रासस) 

प्रतिक्रिया दिनुहोस