सहमतिमा नआए उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाइने चेतावनी

एजेन्सी

विहीबार, ०४ माघ २०७४, १० : ३५
सहमतिमा नआए उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाइने चेतावनी

मंगलबार बसेको बैठकमा २० वटै राष्ट्रहरुले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने सम्बन्धी सहमति जनाएको रोयटर्सले जनाएको छ ।

उत्तर कोरियालाई आफ्ना सम्पूर्ण आणविक हतियारको निर्माण कार्यमा रोक लगाउन प्रतिबन्ध जरुरी भएको अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले बताएका हुन् ।

प्योङयोङले अझै पनि छलफल गर्न नमाने अमेरिका सैन्य शक्ति प्रयोग गर्न बाध्य हुने भन्दै टिलरसनले चेतावनी दिएका हुन् । तरपनि सबै मुलुकहरुले उत्तर कोरिया र दक्षिणका बीच भइरहेको शान्तिपूर्ण छलफललाई भने समर्थन गर्ने बताएका छन् । क्यानडामा बसिएको सो बैठकमा रुस र चीन उपस्थित भएनन् तरपनि चीनले भने यसको कडा आलोचना गरेको बताइएको छ । संयुक्त राष्ट्र संघले लगाएको कडा प्रतिबन्धपछि पनि नेता किमले मिसाइल परीक्षण नरोक्ने धम्की दिएकाले यो मुद्दा निकै गम्भीर भएको भन्दै अमेरिका र क्यानडाको नेतृत्वमा सो बैठकको आयोजना गरिएको हो ।

उक्त बैठकमा जहाजमार्फत उत्तर कोरियालाई इन्धन निर्यात गरिएकामा आगामी दिनहरुमा यस्तो हुन नदिन सावधानी अपनाउनेबारे समेत छलफल गरिएको बताइएको छ । बैठकमा उपस्थित सबै राष्ट्रले उत्तर कोरियामाथिको प्रतिबन्धलाई कडा रुपमा परिचालन गर्नेमा सहमति जनाइसकेको बताइएको छ । उता बैठकमा अनुपस्थित चीनिया विदेशमन्त्रीका प्रवक्ता काङ लूले यसबारेमा यस्तो बयान दिएका छन्, ‘अमेरिका र क्यानडाले युद्धको मानसिकताका साथ बैठक आयोजना गरेका छन् जसले अन्तराष्ट्रिय समुदायलाई थप विभाजन गर्दै लैजानेछ ।

यसका कारणले उचित र शान्तिपूर्ण तरिकाले समस्याको समाधान हुने सम्भावना पनि कम हुँदै गइरहेको छ ।’ उता टिलरसनले भने यस बैठकबारे कडा आलोचना गरिरहेका चीन र रुसलाई पनि संयुक्त राष्ट्र संघको नियम पूर्ण रुपमा पालना गर्न आग्रह गरेका छन् । त्यस्तै जापनाका विदेशमन्त्रीले भने उत्तर कोरियाले दक्षिणलाई वार्ताको प्रस्ताव गर्दैमा उनीहरुप्रति सहज नहुन आग्रह गर्दै सावधानी अपनाउन सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस