आजबाट तामझामले सुरु हुँदैछ लगानी सम्मेलन, कुनकुन देशका लगानीकर्ता आए काठमाडौँ ?

शुक्रबार, १५ चैत्र २०७५, ०९ : ३९
आजबाट तामझामले सुरु हुँदैछ लगानी सम्मेलन, कुनकुन देशका लगानीकर्ता आए काठमाडौँ ?

काठमाडौं । दुई दिनसम्म चल्ने लगानी सम्मेलन आजबाट काठमाडौँमा सुरु हुँदैछ । दुई दिनसम्म चल्ने लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । काठमाडौंको सोल्टी होटलमा हुने लगानी सम्मेलनमा ४० देशमा उच्चपदस्थ प्रतिनिधिसहित ६ सयभन्दा बढी लगानीकर्ता सहभागी हुने बताइएको छ । 
भारत, चीन,  इजरायल, भियतनाम, दक्षिण कोरिया, स्पेन लगायतका विभिन्न देशका झण्डै साढे चार सय लगानीकर्ता काठमाडौं आइसकेको लगानी बोर्डले जनाएको छ। 
सम्मेलनमा नेपाल सरकारका तर्फबाट लगानी बोर्डले लगानीकर्ता माझ ५० वटा सरकारी परियोजनाको खाका प्रस्तुत गर्नेछ भने निजी क्षेत्रका व्यवसायी १७ वटा आयोजनाका लागि विदेशी लगानीकर्तासमक्ष लगानीको खाका प्रस्तुत गर्ने तयारी गरेका छन् ।
सरकार तथा निजी क्षेत्रबाट ३० खर्ब रुपैयाँभन्दा बढीको लगानीको अपेक्षा गर्दै ७७ वटा आयोजनाको विषयमा लगानी कर्तासमक्ष आयोजनाको चिनारीसहित आवश्यक लगानी खाका प्रस्तुत गर्दैछन् ।
अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालभित्र लगानी गर्न उपयुक्त वातावरण भएको सन्देश दिने उदेश्य सम्मेलनको मुख्य रहेको छ। तीन तहको निर्वाचनपछि गठित स्थिर सरकारले केही औद्योगिक व्यवसायिक क्षेत्रका ऐन नियमलाई समेत संशोधन गरेर लगानीमैत्री बनाउन खोजेको छ।
शुक्रबार र शनिबार काठमाडौंमा आयोजना हुन लागेको लगानी सम्मेलनमा ३ दर्जनभन्दा बढी विदेशी उच्च पदस्थ अधिकारीले सम्बोधन गर्ने भएका छन्।
सम्मेलनका लागि म्यानमारका लगानी तथा विदेश आर्थिक सम्बन्ध मन्त्री यु थाउङ टुन, विश्व बैंकका उपाध्यक्ष हार्टबीग स्याफर, एसियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन सहभागी हुने कार्यक्रम तय भएको छ । त्यस्तै विश्व बैंकअन्तर्गतको बहुपक्षीय लगानी प्रत्याभुति सम्बन्धी निकायका उपाध्यक्ष तथा प्रमुख कार्यकारी केईको होण्डा, अन्तर्रा्िष्ट्रय वित्त निगमका आर्थिक तथा नीजि क्षेत्र विकास सम्बन्धी उपाध्यक्ष हान्स पिटर लंकेस र एसियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्य सञ्चालन सम्बन्धी उपाध्यक्ष डोङ लीले सम्बोधन गर्ने कार्यक्रम छ । 
नेपाल सरकारले यस लगानी सम्मेलनमार्फत लगानीकर्तालाई नेपालमा लगानीका अवसर, लगानी प्रवर्धनका लागि सरकारले लिएको नीतिगत तथा कानुनी प्रयासबारे जानकारी गराउने अवसर मिल्ने अपेक्षा लिएको छ ।
यसैगरी लगानी सम्मेलन २०७५मा अर्थमन्त्री युवराज खतिवडा लगायत आधा दर्जन मन्त्रीले समेत सम्बोधन गर्ने तयारी भइरहेको छ । सरकारले सम्मेलनका लागि भन्दै उद्योग, व्यापार, होटेल, जलविद्युत, पर्यटन, स्वास्थ्य लगायतका क्षेत्रमा सफलतापूर्वक व्यवसाय गरेका व्यवसायीहरुलाई सहभागी गराएको छ । सम्मेलनमा करिब डेढ दर्जन नेपाली व्यवसायीले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । 

प्रतिक्रिया दिनुहोस