यौन सन्तुष्टिको अभावमा मानसिक रोग

बुधबार, १३ चैत्र २०७५, २१ : ४४
यौन सन्तुष्टिको अभावमा मानसिक रोग

मानसिक अस्पताल लगनखेलका प्रमुख कन्सल्टेन्ट साइकियाट्रिस्ट डाक्टर अनन्त अधिकारी
म २६ वर्षकी विवाहिता हुँ । हाम्रो ४ वर्षको छोरा छ । हामी दुवैलाई यौन चाहना हुनु स्वाभाविकै हो । जब छोरो निदाउँछ तब हाम्रो यौन क्रियाकलाप सुरु हुन्छ । तर, श्रीमान छिट्टै उत्तेजनामा आउनुहुन्छ र यौन चाहना मेटाउन खोज्नुहुन्छ तर म भने इमोसनमा आइसकेकै हुन्न । त्यसैले म यस मामिलामा त्यति धेरै सन्तुष्ट हुन सकेकी छैन बरु तनाव बढेर आउँँछ । किन त्यस्तो भएको हो डाक्टर साब ?
एल शर्मा

पति वा पत्नी कसरी मानसिक रोगको सिकार हुन्छन् ?
पतिपत्नीबीच यौन चाहना तथा सन्तुष्टि पूरा नभएको खण्डमा पति वा पन्नी मानसिक रोगको सिकार हुने गरेका धेरै घटना देखिएका छन् । पति र पत्नीबीचमा यौनसँग सम्बन्धित विषयमा विचार वा इच्छामा भिन्नता आउँदा तनाव उत्पन्न भई डिप्रेसनलगायतका समस्या लिएर अस्पताल आउने गरेका छन् ।
यौन साथीबीचमा किन यौन चाहनाका कुरा मिल्दैन ?
‘महिलाको तुलनामा पुरुष छिट्टै उत्तेजित हुन्छन्, बढी आक्रामक हुन्छन् र चाँडै स्खलित पनि हुन्छन् भने महिला उत्तेजनामा आउने प्रक्रिया ढिलो हुन्छ । महिला पूर्णरूपमा यो प्रक्रियामा तयार नहुँदै पुरुषबाट हुने गरेका क्रियाकलापले यौन साथीबीच दरार पैदा हुन गई मानसिक तनाव, कुण्ठा चिन्ता उत्पन्न हुन्छ । तर महिला भने बढी माया प्रेम चाहन्छन्, उनीहरु बिस्तारै भावनामा आउँछन् । महिला भावनामा आउनुपूर्व नै पुरुषले महिलाका कुरा नबुझेर यौन चाहना मेटाउन खाज्ने गरेको पाइन्छ । यतिखेर यौन साथीबीचमा कुरा नमिल्दा दरार पैदा हुन्छ र मानसिक तनाव, कुण्ठा चिन्ता उत्पन्न हुन्छ । यौन चाहनाका कुरा नमिल्दा प्रतिशोधको भावनासमेत आउँछ ।’  
‘फोर प्ले’ गर्न जानेका यौन जोडी किन भाग्यमानी हुन्छन् ?
जोडीमा यौन सम्पर्क अगाडि हुने वा गरिने क्रियाकलापको समेत महत्वपूर्ण मूमिका हुन्छ जसलाई  ‘फोर प्ले’ भनिन्छ । ‘फोर प्ले’ भन्नाले चुम्बन गर्नु, जोडीबीच एकअर्काको यौनाङ्ग चलाइदिएर भावनामा आउने लगायतको प्रक्रिया हो र ‘फोर प्ले’को यौन सम्पर्क अघि महत्वपूर्ण भूमिका हुन्छ । ‘फोर प्ले’ गर्न जानेका जोडी एकदमै भाग्यमानी हुन्छन् ।
पति र पत्नीबीचको यौन चाहनालाई कसरी सकारात्मक रूपमा हेर्ने ?
यौनका बारेमा समाज बिस्तारै खुल्दै गइरहेको अवस्थामा पतिपत्नीबीचको यौन सम्बन्धलाई जीवनको अभिन्न अंगका रूपमा लिने सामाजिक हिस्सा दिनानुदिन बढ्दै गइरहेको छ । ‘यौन विज्ञानको सचेतना पनि मिडियाको प्रभावले अगाडि बढिरहेको छ । यौन भनेको पति र पत्नीबीचको लेनदेन भन्दा पनि पारस्परिक बुझाइको आधार यौन क्रियाकलाप हुन्छ । दुवैजनाले यौन सन्तुष्टि पाउँछन् र प्रेम साटासाट गर्ने क्रियाकलापका रूपमा जनचेतना फैलिरहेको छ । यो सकारात्मक पक्ष हो ।’
महिला यौन चाहनाका बारेमा नखुल्नाले उनीहरूमा मानसिक तनाव उत्पन्न हुन्छ ?
‘नकारात्मक पक्षको रूपमा हाम्रो समाजमा ज्ञान त प्राप्त भयो तर अल्पज्ञानका कारण पनि यौन चाहनामा दरार उत्पन्न हुन्छ । युट्युबलगायतका मिडियाबाट यौनजन्य भिडियो हेर्ने, गलत सन्देश लिने हाम्रो समाज र संस्कृतिमा नमिल्ने किसिमका विशेषगरी पश्चिमा देशबाट पाइएका भिडियो हेर्ने अनि पुरुषले त्यही किसिमको यौन चाहना गर्ने तर महिला त्यसबाट टाढा हुने भएकाले पनि मानसिक तनाव उत्पन्न हुन्छ । षुरुष यौन क्रियाकलापको चाहना गर्ने तर महिला भने त्यस्ता क्रियाकलापप्रति प्रभावित नहुने भएकाले मानसिक तनाव हुन्छ ।  यौन चाहनामा महिला खुल्न नसक्नु अर्को मुख्य कारण हो ।’  
महिला कतिबेला यौन चाहना गर्छन् ? र पुरुष किन छिट्टै उत्कर्षमा पुगी स्खलित हुन्छन् ?
महिलामा ‘एराउजल’ अलि ढिला आउँछ । महिला प्रेम चाहन्छन्, भावना साटासाट गर्न खोज्छन्, त्यसपछि बल्ल फोरप्लेको कुरा आउँछ अनि मात्रै महिला शारीरिक रूपमा समर्पित हुन चाहन्छन् । महिलामा भन्दा  पुरुषको हकमा उत्तेजना छिट्टै आउँछ, धैर्यता कम हुन्छ र हडबडाहटका साथ छिट्टै चरमोत्कर्षमा पुग्ने, छिट्टै शारीरिक सम्बन्ध राख्न खोज्ने र छिट्टै उत्कर्षमा पुगी स्खलित हुन्छन् । भावनात्मक रूपमा नजिक हुन नसक्दाको अवस्थामा हुने बेमेलकै कारण वैमनस्यता उत्पन्न हुने भएकाले जोडीले एकआपसको भावनात्मक सम्बन्धका कुरा र यौन चाहनालाई ख्याल गरेर सेक्सुअल कार्य गर्न म सुझाव दिन्छु ।
महिला आफ्नो यौन साथी कस्तो होस् भन्ने चाहन्छन् ?
‘प्रायः महिला आफ्नो यौन साथी हिंश्रक भएको मन पराउँदैनन ।  दुवैले यौन शिक्षाको ज्ञान अवश्य लिनुपर्छ । पति कुनै पनि भावना साटासाट नगरी यौन प्रक्रियामा आउँदा पत्नीले मेरो काम भनेको उसको यौन चाहना मेटाउने मात्रै हो र ? भन्ने सोचाइ आउन सक्छ । त्यसैगरी पतिमा पनि पत्नीलाई मप्रति यसको रुचि नै छैन भनी शंका उत्पन्न हुन्छ । यसरी यौन साथीबीच तादात्म्यता नमिल्दा नैराश्यता आउने, हीन भावना पैदा भई ‘एक्स्ट्रा म्यरिटियल अफियर’ हुने सम्म सम्भावना हुन्छ । यौन कुण्ठाकै कारण कतिपय त लागू पदार्थ सेवन गर्ने, कुलतमा लागी उपचारका लागि अस्पतालसम्म आउँछन् । छोरामान्छे शरीरसँग आत्मीयता राख्न खोज्छन् भने महिला भावनासँग आत्मीय सम्बन्ध राख्न खोज्छन् ।
सेक्सका कतिवटा चरण हुन्छन ?
सेक्सका ४ वटा चरण हुन्छन् । जस्तैः सुरुको भावनामा आउने, नजिक आइदिए हुन्थ्यो जस्तो लाग्ने चरण ‘एराउजल’ हो । यस चरणमा छोरी मान्छेको ‘एराउजल’ ढिलो आउँछ तर छोरा मानिसको  ‘एराउजल’ छिटो आउँछ र त्यसको तादात्म्यता नमिलेको खण्डमा पनि तनाव उत्पन्न हुन्छ । पहिलो चरण भनेको उत्तेजना अर्थात् एक्साइटमेन्ट हो, सेक्सको यस चरणमा महिलाको तुलनामा पुरुषमा छिटो एक्साइटमेन्ट आउँछ र त्यसको तादात्म्यता नमिल्दा वा त्यसबीचको ग्याप हुँदा पनि मनोवैज्ञानिक रूपमा तनाव उत्पन्न हुन्छ । ‘दोस्रो चरणलाई सेक्सको स्थिर अर्थात ‘प्लेट्यु’ चरण भनिन्छ । यो सेक्सको स्थिर चरण हो । ‘अर्गाजुम’ सेक्स प्रक्रियाको तेस्रो चरण हो अर्थात् चरमोत्कर्षको यस चरण सेक्सको चरम आनन्दको चरण हो । यो सेक्स गर्दा सबैभन्दा आनन्दको चरण हो तर यस चरणमा पति र पत्नीबीच दुवै एकैसाथ भावनामा आउनुपर्ने हुन्छ । दुवै एकैपटक उत्तेजित नहुँदा एकैसाथ दुवैले चरम आनन्दानुभूति गर्न सक्दैनन् । ‘श्रीमानश्रीमतीको बीचमा ‘अर्गाजुम’ एकैचोटी आयो भने त्यो जोडी अत्यन्तै भाग्यमानी हुन्छ, यसो भएमा उनीहरूमा तनाव हुने सम्भावना अत्यन्तै कम हुन्छ ।’
‘रिजोलुसन’ चरण सेक्सको अन्तिम अर्थात चौथो चरण हो । यो चरणमा सेक्सको आनन्द लिई पुरानै अवस्थामा फर्किनु हो । डा. अधिकारीका अनुसार धेरै जसो पुरुषको ‘अर्गाजुम’ छिटो आउँछ तर महिलाको ‘एराउजल’ तथा ‘एक्साइटमेन्ट’ पछि मात्र आउँदै गरेको हुन्छ । त्यस कारण सेक्सको आनन्दको तादात्म्यता नमिल्दा तनाव, शंकाउपशंका, पारिवारिक कलह आदि समस्या उत्पन्न हुन्छन् ।
पछिल्लो समयमा यौन चाहना पूरा नहुँदा कसरी मानिस मानसिक रोगको सिकार भएको पाइन्छ ?
पतिपत्नीबीचमा यौन चाहना पूरा नहुनुका कारण के–के हुन् ?
काठमाडौं जस्तो सहरी क्षेत्रमा बसाइको सीमित स्थान (कोठा) हुने, गोप्यता कम हुने, दुवैले काम गर्नुपर्ने बाध्यता तथा थकाइका कारण सेक्सको आनन्द लिन फुर्सद नहुने कारणले पनि अरूसँग प्रेममा भुल्ने, परिवारमा बच्चाबच्ची हुने तथा पतीपत्नीबीच प्रेमका भावना साटासाट गर्न नपाउनाले र यौन इच्छा नै प्रभावित हुने भएकाले पतीपत्नीका बीचमा कलह पैदा हुने तथा मानसिकरूपमा तनाव उत्पन्न हुने गरेको  पाइन्छ ।  यौन समस्याका कारण मानसिक तनाव हुनेमा प्रायः २० देखि ३५ वर्षका जोडी नै प्रभावित भएको पाइन्छ । आधुनिक जीवनशैली तथा आफ्नो जीवनसाथी वैदेशिक रोजगारमा संलग्न हुने बाध्यताका कारण पनि यौन जीवनमा समस्या आई मानसिक रोगीको संख्या बढिरहेको छ ।
मानसिक रोग के हो ? यो कसरी लाग्छ र यसका समाधानका उपाय के छन् ?
प्रत्येक ४ घरमा एकजनालाई  मानसिक रोग लागेको भेटिन्छ । कोही जन्मजातै त कोही कालान्तरमा आएर मानसिक रोगको सिकार हुने गरेका छन् । कतिपय जटिल र कतिपय सामान्य अवस्थाका मानसिक रोगी अस्पतालमा आउने गर्छन् । तीमध्ये धेरैजसो जटिल प्रकृतिका मानसिक रोगी अस्पताल आउने गरेका छन् । अधिकांश मानसिक रोग निको हुने प्रकृतिका हुन्छन् ।

मानसिक सुस्वास्थ्य भन्नाले मानसिक रूपले स्वस्थ व्यक्तिमा हुनुपर्ने गुण हुन् । मानसिक रूपमा स्वस्थ हुन विभिन्न गुणको आवश्यकता पर्छ जसमध्ये भावनात्मक अवस्थालाई  सामान्य अवस्थामा राख्न सक्ने गुण पनि मानसिक स्वास्थ्यमा हुनुपर्ने गुण हो । १० वटा प्रमुख रोगमध्ये ४ वटा मानसिक रोगअन्तर्गतका पर्छन्, मानसिक रोगलाई ‘मनो रोग’ पनि भनिन्छ । मानसिक रोगलाई बायो, साईको र सोसल मोडको रूपमा पनि विश्लेषण गरिन्छ । लगनखेल मानसिक अस्पतालमा दैनिक ओपिडीमा एक सय ५० सम्म उपचार गर्न आउँछन् । प्रायः जटिल प्रकारका मानसिक रोग लिएर आउँछन् । मानसिक रोग पनि एक प्रकारको मस्तिष्कमा हुने गडबडीले लाग्ने रोग भएकाले उपचार पाएको खण्डमा अधिकांश मानसिक रोगी निको हुन्छन् । ‘मानसिक रोगको न्यूनीकरणका लागि जनचेतनासमेत फैलाउनु पर्छ ।’
नेपालको जनसंख्यामा करिब २० प्रतिशत मानिस कुनै न कुनै मानसिक स्वास्थ्यबाट पीडित भएको अनुमान गरिएको तथ्यांक पाइन्छ ।  तनावपूर्ण घटना, पारिवारिक समस्या, सामाजिक समस्या, बाल्यावस्थाका अप्रिय अनुभवलगायतका कारणले मानसिक रोग लाग्ने गरेको पाइन्छ । शुक्रबार बाट 

प्रतिक्रिया दिनुहोस