पुस्तक मेलामा ‘आँखीझ्याल’माथि अन्तरक्रिया

सफल खबर संवाददाता

बुधबार, १३ चैत्र २०७५, १८ : २७
पुस्तक मेलामा ‘आँखीझ्याल’माथि अन्तरक्रिया

काठमाडौं । निबन्धकार रमण घिमिरेको नयाँ निबन्ध कृति ‘आँखीझ्याल’माथि महेन्द्र पुलिस क्लबमा भइरहेको पुस्तक मेलामा अन्तरक्रिया भएको छ । कृतिमाथि टिप्पणी गर्दै कवि तथा वरिष्ठ रंगकर्मी अशेष मल्लले यस कृतिभित्र समेटिएका कतिपय व्यक्तिबारे पढ्दा आँखा रसाएको बताए ।

घिमिरेले १३ जनामाथि लेखेको निबन्ध कृतिमा समेटिएको छ । कार्यक्रममा रंगकर्मी मल्लले भने, ‘आज विश्वविद्यालयका विद्यार्थीले भूपी शेरचन को हो भनेर प्रश्न सोधिरहँदा रमण घिमिरेको यस कृतिले यस्ता प्रश्नको राम्रो उत्तर दिएको छ ।’ पत्रकार तथा निबन्धकार शेखर खरेलले घिमिरेको स्रष्टाहरूसँगको लामो संगतको परिणामस्वरूप यो किताब आएको बताए । उनले भने, ‘हरेक पात्रबारे पढ्दा आफूले नसोचेको घटना र मोडमा पुगिन्छ, ती १३ व्यक्तिबारे यति रोचक प्रसंग वर्णन छ, जुन हामीले कल्पनै गरेका हुँदैनौँ ।’

पत्रकार यशोदा तिम्सिनाले भने पुस्तक समावेशी भएको भए अझ सुन्दर हुने बताइन् । निबन्धकार घिमिरेले सिर्जनामा समावेशिताको ढिपी गर्नु उपयुक्त नहुने बताए । ‘आँखीझ्याल’मा अम्बर गुरुङ, ईश्वर बल्लभ, कमल दीक्षित, क्षेत्रप्रताप अधिकारी, पेमाला गुरुवाचार्य, राममान तृषित, डायमन्डशमशेर राणा, रामशरण दर्नाल, भीमबहादुर थापा, फत्तेमान, भीम विराग, जगदीश घिमिरे, माणिकरत्नका विचार र जीवन–दर्शनबारे चर्चा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस