काठमाडौँ । सिंहदरबारस्थित विभिन्न मन्त्रालय परिसरमा वर्षौँदेखि बेवारिसे थन्किएका गाडी र मोटरसाइकल प्रभावशाली नेताहरूले आ–आफ्नो क्षेत्रमा बाँडेका छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र कांग्रेस नेता तथा पूर्वमन्त्री विजयकुमार गच्छदारले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै १५–१५ गाडी पुर्याएका छन् । यो समाचार आजको नयाँ पत्रीका दैनिकमा टेकराज थामीले लेखेका छन् ।
महँगा गाडी मन्त्रालय परिसरमै थन्किन थालेपछि केही महिनाअघि प्रधानमन्त्री कार्यालयले तिनको व्यवस्थापन गर्न निर्देशन दिएको थियो । त्यसलगत्तै कार्यालयका प्रवक्ता विनोद कुँवरको संयोजकत्वमा बेवारिसे गाडी व्यवस्थापन गर्न समिति बनाइएको थियो । समितिले त्यस्ता गाडी स्थानीय तहमा वितरण गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दियो । तर, मन्त्री र कर्मचारीको पहुँचका आधारमा गाडी बाँडिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांकअनुसार बाँडिएकामध्ये सबैभन्दा धेरै गाडी मन्त्री पण्डितको क्षेत्रमा पुगेका छन् । उनी मोरङ क्षेत्र नम्बर ६ बाट निर्वाचित भएका हुन् । मोरङका स्थानीय तहमा मात्रै १५ वटा गाडी बाँडिएका छन् । त्यसमध्ये बुढीगंगा गाउँपालिकामा मात्रै ६ वटा गाडी पुर्याइएको छ ।
पूर्वसंघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको क्षेत्रमा पनि १५ वटा गाडी र मोटरसाइकल बाँडिएको छन् । सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित गच्छदारले इनरुवा नगरपालिकामा मात्रै ६ वटा मोटरसाइकल र एउटा गाडी पुर्याएका छन् । इटहरी उपमहानगरपालिका, रामधुनी नगरपालिका र जिल्ला समन्वय समिति सुनसरीमा पनि गाडी बाँडिएका छन् ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाको प्रभावमा ६ गाडी बाँडिएको छ । सहसचिव पुरुषोत्तम नेपालको प्रभावमा काभ्रेस्थित पाँचखाल नगरपालिकामा मात्रै पाँचवटा मोटरसाइकल र एउटा गाडी दिइएको छ । मन्त्रालयका उपसचिव ईश्वर गिरीको प्रभावमा भोजपुरस्थित रामप्रसाद राई र आमचोक गाउँपालिकामा दुईवटा गाडी बाँडिएको छ ।
गृह मन्त्रालयका सचिव प्रेमकुमार राईको प्रभावमा दुईवटा गाडी वितरण गरिएका तथ्यांकमा उल्लेख छ । राईको आदेशपछि संखुवासभास्थित चिचिला र धर्मदेवी गाउँपालिकामा गाडी बाँडिएका हुन् । त्यसबाहेक नेकपाका महासचिव विष्णु पौडेल र नेता देव गुरुङको प्रभावमा समेत गाडी वितरण गरिएको तथ्यांकले देखाउँछ ।
मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले सिंहदरबारमा राखिएका पुराना गाडी बाँडिएको, तर कुन गाडी कसको प्रभाव क्षेत्रमा पुगेको भन्नेबारे अनभिज्ञ रहेको बताए ।
‘प्रधानमन्त्री कार्यालयको आदेशअनुसार मन्त्रालयबाट करिब ६८ वटा गाडी तथा मोटरसाइकल बाँडिएका छन्,’ उनले भने, ‘ती गाडी क–कसको प्रभाव क्षेत्र पुग्यो भन्ने विषयमा भने जानकारी भएन ।’
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १३ चैत्र २०७५, ०७ : १२
लेखकबाट थप