यस्ता छन् तुलसीको पात खानुको फाइदा

सफल खबर संवाददाता

मंगलबार, १२ चैत्र २०७५, १५ : १८
यस्ता छन् तुलसीको पात खानुको फाइदा

काठमाडौं । तुलसीको पातमा औषधीय गुणहरू हुन्छन् । हिन्दूहरू घरमा तुलसीको मोठ बनाएर पूजा गर्छन् । हुन त तुलसी भगवान् श्रीकृष्णको प्रिय वनस्पति भनी चिनिन्छ र पवित्र मानिन्छ । तर यो बिरुवामा अनेकौं रोग निको पार्ने क्षमता भएकाले यसलाई पूजा गरिएको हुनुपर्छ ।

विभिन्न अध्ययनहरूले तुलसीका पातको प्रयोग रुघाखोकी, पेट दुखाइ, आँखाका समस्या, मधुमेह, कोलेस्ट्रोल, माइग्रेन, अवसाद लगायतका अनेकौं रोग निको पार्नका लागि गरिने देखाएका छन् ।
तुलसीका पातमा एन्टीब्याक्टेरियल, एन्टीफंगल र एन्टीबायोटिक गुणहरू हुन्छन् । यसकारण यसको प्रयोग रुघाखोकी र ज्वरोलाई कम गर्नका लागि गरिन्छ । आयुर्वेदअनुसार तुलसीको काँढा बनाएर पिउँदा ज्वरो घट्छ ।

अलिकति पानीमा तुलसीको पात र दालचिनी हालेर उमाल्नुस् । ज्वरो आउँदा यो काँढा दिनमा धेरैचोटि पिउनुस् ।

तुलसीको पातमा एन्टीअक्सिडेन्ट गुण हुनाले यसले प्यानक्रियाटिक बीटा सेल्सको कामकाजमा सुधार गर्छ । इन्सुलिन सेन्सिटिभिटी बढाएर ब्लड सुगर कम गर्दै मधुमेह नियन्त्रण गर्छ ।

तुलसीले रक्तचाप र कोलेस्ट्रोल स्तरलाई कम गरेर मुटुलाई स्वस्थ राख्छ । दिनदिनै तुलसीको पात चपाउने मानिसलाई मुटुरोग लाग्दैन ।

तुलसीले तनाव जन्माउने हर्मोन कार्टिसोललाई कम गराउँछ । त्यस्तै तुलसीले फ्री –याडिकल क्षतिबाट बचाएर तपाईंलाई तनाव हुन दिँदैन ।

त्यस्तै तुलसीले रगतमा युरिक एसिडको स्तर घटाएर मिर्गौलालाई स्वस्थ राख्छ । चुरोट खाने कुलत पनि तुलसीको पात चपाउँदा हट्छ ।
तुलसीमा हुने थाइमोलले छालासम्बन्धी समस्या ठीक पार्छ । यसले रगत सफा गरेर अनुहारमा कान्ति ल्याउँछ ।

प्रतिक्रिया दिनुहोस