‘होली वाईन’ को विषय खुराफाती दिमागको उपज हो : पूर्वप्रधानमन्त्री नेपाल (भिडियो)

सुरेन कुँवर

मंगलबार, १२ चैत्र २०७५, १२ : २९
‘होली वाईन’ को विषय खुराफाती दिमागको उपज हो : पूर्वप्रधानमन्त्री नेपाल (भिडियो)

चितवन । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले ‘होली वाईन’ को विषय खुराफाती दिमागको उपज भएको बताउनुभएको छ । मंगलबार भरतपुरमा प्रेस चैतारी र प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले जीवनमा रक्सीको नाममा एक थोप्ला मुखमा नपरेको उल्लेख गर्नुभयो ।
‘मलाई कसैले होली वाईन दिएको छैन, उहाँले भन्नुभयो,‘कुनै कप, गिलासमा दिइएको छैन, हातमा केही पनि परेको छैन । अरुलाई सोध्दा कसैले पनि वाईन स्वाईन खाएको छैन ।’
नेता नेपालले वाइन खानेलाई आफूले घृणा गर्ने गरेको भन्दै ०५२ सालमा पार्टी भित्र मदिरा निषेध गर्न आफुले अभियाननै चलाएका जानकारी दिनुभयो । 
‘मावध नेपाल खानेको सातो काड्छ र हप्काउछ ,उहाँले भन्नुभयो,‘पार्टीभित्र अभियान चलाएको मान्छे यही हो ।घ्याम्पोमा डब्ुनेदेखि चासचुस पार्नेसम्मको लिस्टिङ भएको थियो । रक्सी खानेहरुको क्याटोगराईज गर्ने मान्छे म नै हुँ ।’
पूर्वप्रधानमन्त्री नेपालले आफू शुद्ध साकाहारी भएकाले माछा, मासु, रक्सीदेखि निकै टाढा रहेको प्रष्ट पार्नुभयो । ‘माधव नेपाल क्रिश्चियन हो भन्दै प्रचार गरियो, उहाँले भन्नुभयो,‘ म कम्युनिष्ट भएकाले जनताको धर्मलाई अस्थाको रुपमा मान्छौ । व्यक्तिगत रुपमा धर्मको पछाडि लाग्न मिल्दैन ।’


केही समय अघि काठमाडौंमा भएको एसिया प्यासिफिक सम्मेलनमा होली वाईन को खुब चर्चा भयो । यसै  सन्दर्भमा जोडिएर नेता नेपाल पनि आलोचित बन्नु भएको थियो । राजनीतिकर्मीले सबै धर्मलाई सम्मान गर्नुपर्ने बताउदै नेपालले जबरजस्ती धर्म परिवर्तन गराउने कार्यको विरोध गनुभयो । व्यक्तिको स्वतन्त्रता हो धर्म छनौट गर्ने तर, कसैले जवरजस्ति गराउछ भने दण्डको भागिदार हुनुपर्छ उहाँको भनाई थियो । फरक प्रसङ्गगमा नेता नेपालले विप्लव समुहलाई सम्वादका माध्यमबाट समस्या समाधान गर्न नेता सोमप्रसाद पाण्डे नेतृत्वको टोलीले प्रयास जारी राखेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस