अपराधीलाई राजनैतिक संरक्षणको उदाहरण बन्दै तीन जना सांसद

बुधबार, ०३ माघ २०७४, १९ : ४९
अपराधीलाई राजनैतिक संरक्षणको उदाहरण बन्दै तीन जना सांसद

– एसपी पुष्कर
मुलुकमा यतिबेला सकसमा परेका छन् तीन जना सांसद । को को हुन् ती सांसदहरु ? 
सांसद नम्बर एक, दीपक मनाङे । सर्वोच्च अदालतले दीपक मनाङेविरुद्धको दस वर्षअघिको एउटा मुद्दामा दीपक पाँच वर्ष जेल बस्नुपर्ने भन्ने पुनरावेदन अदालतकै फैसलालाई सदर गरिदिएपछि यो विषयले अहिले चर्चा पाइरहेको छ । बीस वर्षअघि चक्रे मिलन समूहसँगको भिडन्तमा दीपकले धारिलो हतियारले चक्रेलाई गम्भीर घाइते बनाएको भन्दै परेको ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दामा दोषी देखाउँदै यस्तो फैसला भएको हो । कानूनको सम्मान गर्ने हो भने अब दीपक कारागार जानैपर्छ । जेल जानुपर्ने विषयले दीपक तनावमा छन् । 
सांसद नम्बर दुई, रेशम चौधरी । थारु आन्दोलनका क्रममा सुरक्षाकर्मी मारिएको कैलाली घटनाको मुख्य योजनाकार भनी चर्चामा ल्याइएका रेशम चौधरीलाई अदालतले वारेसमार्फत् प्रतिनिधि सभा सदस्य पदको प्रमाणपत्र दिन नमिल्ने भनेपछि उनी कानूनी रुपमा सांसद नभएपनि निर्वाचनमा राम्रो मतान्तरले विजयी भएको हुँदा उनी सांसद नै हुन् । कैलाली घटनाको कारण सांसदको प्रमाणपत्र नपाउँदा चौधरी पनि सकसमा छन् ।
सांसद नम्बर तीन, नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक नवराज सिलवाल । नेपाल प्रहरीको महानिरीक्षक बन्ने रोलक्रम मिचिएको भन्दै अदालत गुहार्दासमेत नेपाल प्रहरीको महानिरीक्षक बन्ने सपना पूरा हुन नसकेपछि नेकपा एमाले पार्टी प्रवेश गरी प्रतिनिधि सभा सदस्य पदमा निर्वाचन लडेर जितेका सिलवाल सांसद भए । अहिले यिनै सांसद सिलवालमाथि प्रहरी महानिरीक्षकमा बढुवा पाउन कार्य सम्पादन मूल्यांकन नम्बर किर्ते गरेको आरोप छ । महानगरीय प्रहरी परिसर काठमाडौँले कार्य सम्पादन मूल्यांकन नम्बर किर्ते गरेको अभियोगमा सिलवालविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँमा पुस पाँच गते सिलवालले किर्ते गरेको भनी उजुरी परेको थियो । उजुरी परेको दुई साताभित्रै प्रहरी परिसर काठमाडौँले सांसद सिलवालविरुद्ध पक्राउ पुर्जी जारी गरेपनि उनी हालसम्म पक्राउ भने परेका छैनन् ।

२०४६ सालमा बहुदल आएपछि देशका ठूला भनिएका पार्टीमा गुण्डा र डनको प्रवेश हुने क्रम सुरु भएको पाइन्छ । त्यतिबेलाका गुण्डा यतिबेला डन बनेका छन् । यिनै डनले अपराधको दुनियाँ चलाइरहेका छन् । २०४६ सालअघि पञ्चायती कालमा रहेको राष्ट्रवादी युवा मण्डल, जसलाई बहुदलवादीहरुले मण्डले भन्थे, यस्तै गुण्डा र डनहरु हाबी भएको संगठन थियो । राजनीतिक परिवर्तनसँगै ती गुण्डा र डनले बहुदलवादी पार्टीभित्र प्रवेश पाए । राजनैतिक संरक्षणमा डन भनिएका अपराधीहरुको मनोबल बढ्दै गयो । पार्टी चलाउन पैसा चाहिने र पैसा डनहरुमार्फत् नै आउने भएपछि यस्तो हुनु स्वाभाविक पनि थियो । अब भने हामीले हाम्रो यही ढर्राको राजनीतिक संस्कारमा परिवर्तन गर्नेबारे सोच्नुपर्ने बेला आएको छ । 

नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी, राप्रपा, राप्रपा प्रजातान्त्रिक वा अन्य पार्टीमा हिजो वा आजका गुण्डा छन् । यिनै पार्टीमध्ये केही पार्टीबाट हिजोका गुण्डा मन्त्रीसमेत बन्न सफल भएका उदाहरण पनि छन् । अपराधीलाई राजनैतिक संरक्षण यसैलाई भनिन्छ । पार्टीलाई पैसा आउँछ भनेर आपराधिक पृष्ठभूमि भएका गुण्डाहरुलाई दलभित्र हुलेपछि भोलि तिनै सांसद र मन्त्री हुँदा कानूनले दोषी देखाउँछ, आज दीपक मनाङेलाई देखाएजस्तै । राजनीतिक पार्टीलाई अपराधीले संरक्षण दिने र अपराधीलाई राजनीतिक पार्टीले संरक्षण दिने आजका दृश्य भोलिको नेपालमा पनि दोहोरिइरहने हो भने नेपालबाट विधिको शासन हराएको हेर्न धेरै समय कुर्नुपर्ने छैन ।

प्रतिक्रिया दिनुहोस