बेथिति

गरीबका लागि छुट्याएको बेडमा धनीको हालीमुहाली

सुमन गैरे

आइतबार, १० चैत्र २०७५, १७ : ४०
गरीबका लागि छुट्याएको बेडमा धनीको हालीमुहाली

चितवन । गरीब तथा असहायलाई निःशुल्क उपचार गर्नुपर्ने सरकारी निर्देशनलाई चितवनका निजी अस्पतालले पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन सकेका छैनन् । हरेक निजी अस्पतालले दस प्रतिशत गरीब तथा असहाय बिरामीको उपचार गर्नुपर्ने स्वास्थ्य निर्देशिकामा उल्लेख गरिए पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन ।
गरीब तथा असहाय बिरामीको उपचारका लागि हरेक निजी अस्पतालमा दस प्रतिशत बेड राख्नुपर्ने भए पनि चितवनका अधिकांश अस्पतालहरुमा छैनन् । यहाँका धेरै अस्पतालहरुमा गरीब तथा विपन्नका स्टिकर टाँसेको देखिँदैन । केही अस्पतालले भने गरीब तथा असहायको ट्याग लगाएका छन् ।
एकातिर अस्पतालको बेडमा गरीब तथा असहायको ट्याग भेट्न मुस्किल पर्छ भने अर्कोतिर निजी अस्पतालहरुमा गरीबको सिफारिस लिएर आउने बिरामीहरुको संख्या न्यून देखिएको छ । सरकारले लागू गर्न लागेको राष्ट्रिय परिचयपत्र नआउँदासम्म स्थानीय तह र सम्बन्धित निकायले सिफारिस गरेको आधारमा उपचार गर्नुपर्नेमा कतिपय अस्पतालले त्यसलाई बेवास्ता गरेका छन् । चितवनका कतिपय निजी अस्पतालमा गरीब तथा असहायलाई उपचार गरेको तथ्याङ्क नै छैन ।
हरेक निजी अस्पतालले स्वीकृत शैया क्षमताको दस प्रतिशत बेड गरीब तथा असहाय बिरामीलाई छुट्याउनु पर्ने प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताएका छन् । ‘उक्त बेडमा अनिवार्य रुपमा ट्याग लगाउनु पर्छ’ प्रजिअ बस्नेतले भने ।
बेड लगायत तोकिएको उपचारमा पूर्ण रुपमा निःशुल्क गर्नुपर्ने उनको भनाइ छ । निजी अस्पतालले उक्त मापदण्ड पूरा गरे नगरेको तत्कालै अनुगमन टिम परिचालन गरिने प्रजिअ बस्नेतले जानकारी दिएका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख तामेश्वर चौरासियाले अस्पतालको स्वीकृत शैयाको दस प्रतिशत बेड गरीब तथा असहायलाई छुट्टाउनै पर्ने बताएका छन् । यसको अनुगमन जिल्ला प्रशासन कार्यालयको नेतृतवमा अनुगमान टोली परिचालन गरेर गर्ने उनको भनाइ छ ।
भरतपुरमा दुई ठूला मेडिकल कलेजसहित २० वटा जति निजी अस्पतालहरु सञ्चालनमा छन् । ती अस्पतालमा स्वीकृत शैयामध्ये दस प्रतिशत बेड गरीब तथा असहायलाई छुट्टाउनु पर्ने हुन्छ ।
चितवनका दुई मेडिकल कलेजले पनि स्वीकृत शैया अनुसार गरीब तथा असहायलाई बेड छुट्टाएर राखेका छैनन् । डा. हरिशचन्द्र न्यौपाने मुख्य सञ्चालक रहेको चितवन मेडिकल कलेजमा आंशिक रुपमा बेड छुट्याइएको पाइयो ।
हाडजोर्नी कक्षमा गरीब तथा विपन्न परिवारका लागि ट्याग लगाएको बेड राखिएको छैन । सर्जिकल वार्डमा विपन्नको बेडमा सम्पन्न बिरामीलाई उपचार गरेको पाइयो । सरकारबाट स्वीकृत शैया ५ सय ३९ रहे पनि ७ सय ५० बेड सञ्चालनमा रहेको सो अस्पतालका अप्रेशन म्यानेजर पारस अधिकारीले बताए । गत साउनदेखिको तथ्याङ्क माग्दा अधिकारीले उपलब्ध गराएनन् ।
त्यसैगरी पुरानो मेडिकल कलेजले पनि विपन्न तथा गरीब परिवारका लागि ट्याग लगाएर बेड छुट्याएको देखिएन । बिरामीको उपचारको तथ्याङ्क लिन जाँदा यस अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. सुप्रभात श्रेष्ठ सम्पर्कमा आउन चाहेनन् ।
गत साउन महिनादेखि हालसम्म केही अस्पतालले दस जनासम्म गरीब तथा असहाय बिरामीको उपचार गरेको तथ्याङ्क उपलब्ध गराएका छन् भने अधिकांशमा गरीब तथा असहाय बिरामी नपुगेको बताइएको छ । चितवन हस्पिटलले गत साउन महिनादेखि हालसम्म दस जना गरीब तथा असहाय बिरामीलाई बेडमा शतप्रतिशत छुट दिएर उपचार गरेको जनाएको छ ।
उनीहरु चितवन, नवलपरासी, स्याङ्जा, मकवानपुर लगायतका जिल्लाबाट आएको अस्पताल सञ्चालक समितिका अध्यक्ष चुरामणि शर्मा घिमिरेले बताए । ५५ शैयाको क्षमता भएको अस्पतालबाट ६ महिलासहित १० जनाको उपचार गरिएको उनले जानकारी दिए । स्थानीय तह र सम्बन्धित स्वास्थ्य संस्थाबाट शिफारिस भएर आएका बिरामीलाई बेडमात्र नभएर ओपिडी टिकट, सामान्य एक्सरे, सुगर र एचआईभी एड्सको पनि निःशुल्क परीक्षण गर्ने गरेको उनले बताए । यरिया पुरेनरी, मृर्गौला परीक्षण पनि निःशुल्क गरिने उनले बताए । गरीब तथा असहायको ट्याग अंकित बेडमा बिरामी राखेर फोटो खिचेपछि मात्र उनीहरुको उपचार गरिने घिमिरेको भनाइ छ ।
एक सय शैया क्षमता भएको नारायणी सामुदायिक हस्पिटलले साउनयता जम्मा ४ जना गरीब तथा असहायको निःशुल्क उपचार गरेको जनाएको छ । उनीहरु चितवन र मकवानपुरका भएको अस्पतालका प्रशासकीय अधिकृत दिपेश घिमिरेले बताए । वडा अध्यक्षले शिफारिस गरेकालाई नमान्ने र सरकारी तहबाट शिफारिस भएकालाई मात्र निःशुल्क उपचार गर्ने गरेको उनको भनाइ छ । ‘वडा अध्यक्षले धनीलाई पनि गरीब बनाएर सिफारिस गर्छन् त्यस्तालाई हामी मान्दैनौं, होइन भने किन उनीहरु गरीबको ट्याग लगाएको बेडमा बस्दैनन् ?’ उनले प्रश्न गरे ।
भरतपुर सामुदायिक हस्पिटलले एक जनालाई निःशुल्क उपचार गरेको जनाएको छ । सो अस्पतालले पनि गरीब तथा असहायको लागि ट्याग लगाएर शैया भने राखेको छैन । स्थानीय तहले गरेको शिफारिसको आधारमा निःशुल्क उपचार नगर्ने अस्पतालका प्रबन्धक रघुनाथ सापकोटाले बताए ।
समाचार संकलनका लागि ओम अस्पतालमा पुग्दा गरीबको लागि छुट्याइएको बेड पनि देखिएन, उपचार गरेको रेकर्ड पनि भेटिएन । ५५ बेड क्षमता भएको भरतपरको शान्ति हस्पिटलमा अहिलेसम्म गरीब तथा असहायले शिफारिस लिएर नआएको तर बेड भने छुट्याएर राखेको सञ्चालक प्रेमराज सुवेदीले बताए ।
मनकामना अस्पताल, सप्तगण्डकी, भरतपुर सेन्ट्रल हस्पिटलमा साउन यता हालसम्म गरीब तथा असहायको शिफारिस लिएर नआएको बताएका छन् । उक्त हस्पिटलहरुमा गरीब तथा असहायको लागि शैयाको क्षमताअनुसार १० प्रतिशत बेड छुट्याइएको छ ।
निजी अस्पताल समन्वय समिति चितवनका अध्यक्ष नारायणसिंह कुँवरले निरपेक्ष गरीबको रेखामुनि रहेका जनताको परिचय खुल्ने परिचय पत्र सरकारले लागू गरेपछि उनीहरुको उपचारमा सरल हुने बताएका छन् । स्थानीय तहल गर्ने जथाभावी शिफारिसले गरीबको एकिन हुन नसकेको उनको भनाइ छ । स्थानीय तहले शिफारिस गरेर पठाएका कतिपय बिरामीहरु गरीब, असहाय अंकित शैयामा बसेर उपचार गर्न इन्कार गरेको कुँवरले चित्रवन सन्देशसँगको भेटमा बताएका छन् ।
निजी अस्पताल समन्वय समितिका केन्द्रीय उपाध्यक्ष समेत रहेका कुँवरले गरीब असहाय, अशक्त व्यक्तिहरुको निःशुल्क उपचारको लागि परिचयपत्र लागू गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेको पनि जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयले गरीब तथा असहाय बिरामीको लागि निजी अस्पतालले बेड र ओपिडी टिकटमात्र नभई प्रयोगशाला परीक्षणमा रगतको मात्रा सुगर, युरिया युरेनिक, एचआईभी एड्स, मृगौला परीक्षण, सामान्य एक्सरे लगायतका प्रयोगशाला परीक्षणमा पूर्ण रुपमा निःशुल्क गर्नुपर्ने जनाएको छ । तर चितवनका निजी अस्पतालले स्वास्थ्य निर्देशिका अनुसार उपचार गरेका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस