खनालको स्मृतिमा पुस्तक लोकार्पण

सफल खबर संवाददाता

आइतबार, १० चैत्र २०७५, १६ : ३२
खनालको स्मृतिमा पुस्तक लोकार्पण

देवघाट । ‘निष्ठा र इमानदारिताको कसीमा गुणनिधि खनाल’ विषयक पुस्तकको देवघाटमा लोकार्पण भएको छ । २०६९ चैत १२ गते देवघाटमा दिवंगत हुनुभएका खनालको स्मृति ग्रन्थको रुपमा पुस्तक प्रकाशन भएको हो । दिवंगत खनालका सुपुत्र डा. कृष्णप्रसाद खनालले गुणनिधि खनालका विषयमा विवेचना गर्दै आफन्त र शुभेच्छुकहरुद्वारा प्राप्त लेखलाई सम्पादन गरी पुस्तक प्रकाशन गर्नुभएको हो । पुस्तकका प्रकाशकका दिवंगत खनालकी धर्मपत्नी राधा खनाल हुनुहुन्छ । 
गुणनिधि खनाल मेमोरियल ट्रस्टद्वारा देवघाटमा आयोजित पुस्तक लोकार्पण कार्यक्रममा श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीका पिठाधीश बृजदास खनाल र राधादामोदर मन्दिर केलादीघाटका पिठाधीश गोपालशरण देवाचार्यले संयुक्त रुपमा पुस्तकको बिमोचन गर्नुभएको थियो । पुस्तकको बिमोचन गर्दै पिठाधीश गोपालशरण देवाचार्यले गुणनिधि खनालको व्यक्तित्व र आध्यात्मिकताबारे चर्चा गर्नुभयो । आफूलाई सामाजिक न्याय र शालीनताका केन्द्रविन्दुका रुपमा स्वर्गीय खनालले गरेको योगदानबारे उहाँले खुलेरै प्रशंसा गर्नुभयो । 

कार्यक्रममा गुणनिधि खनालको विषयमा विविध आयामबारे चर्चा गरिएको थियो । प्रगतिशील लेखक संघ गण्डकी प्रदेशका सदस्य जीवनसागरले प्रकाशित पुस्तकको समीक्षा गर्नुभएको थियो । कार्यक्रममा पूर्व प्रशासकद्वय योगराज पौडेल र ज्ञानप्रसाद भट्टराई, राधाकृष्ण मन्दिर देवघाटका पिठाधिश हरिशरण उपाध्याय, राधासर्वेश्वर भजनाश्रम देवघाटका पिठाधीश मुकुन्दशरण उपाध्याय र माधव अधिकारीलगायतको गुणनिधि खनालको व्यक्तित्वमाथि चर्चा गर्नुभएको थियो । 
कार्यक्रममा ट्रस्टले योगराज पौडेललाई लाइफटाइम एचिभमेण्ट अवार्ड, रामचन्द्र सिग्देललाई स्पिरिचुअल लिडरशीप अवार्ड र लक्ष्मण भण्डारीलाई योङ्ग स्कोलर अवार्डबाट सम्मानित गरेको थियो । कार्यक्रममा सीताराम संस्कृत माध्यमिक विद्यालय र रामजानकी बालिका आश्रम कन्या गुरुकुललाई सहयोग गरिएको थियो ।

अर्जुन पाण्डेयले सञ्चालन गर्नुभएको सो कार्यक्रममा सहभागिहरुलाई गोविन्द खनालले स्वागत, डा. कृष्णप्रसाद खनालले धन्यवाद र एकनारायण खनालले सभापतित्व गर्नुभएको थियो । १७६ पृष्ठको सो पुस्तकको परिकल्पनाकारमा योगराज पौडेल हुनुहुन्छ भने अन्य सम्पादक मण्डलमा हरिप्रसाद पोखरेल, माधव अधिकारी, रामचन्द्र सिग्देल र सरस्वती खनाल हुनुहुन्छ । पुस्तकका सम्पादक खनाल हाल अमेरिकाको भेटेरन मामिला मन्त्रालयमा खेलकुद चिकित्सकका रुपमा कार्यरत छन् । 
 

प्रतिक्रिया दिनुहोस