एसइई आजबाट : पौने ५ लाख परीक्षार्थी सहभागी हुँदै

सबैभन्दा बढी प्रदेश ३ र कम कर्णालीबाट

पत्रपत्रिकाबाट

आइतबार, १० चैत्र २०७५, ०७ : ०२
एसइई आजबाट : पौने ५ लाख परीक्षार्थी सहभागी हुँदै

फाईल फोटो

माध्यमिक शिक्षा परीक्षा (एसइई) आज (आइतबार) बाट सुरु हुँदै छ । एसइईमा देशभरबाट पौने पाँच लाख विद्यार्थी सहभागी हुँदै छन् ।राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० का परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार कुल ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी हुँदै छन् । त्यसमध्ये नियमिततर्फ ४ लाख ५० हजार १ सय ८६ र एक्ज्याम्टेड तथा प्राविधिकतर्फ २४ हजार ८ सय १७ विद्यार्थी छन् । 

एसइईमा सहभागी हुनेमा छात्राको संख्या बढी छ । २ लाख ३८ हजार ५ सय ५८ छात्रा र २ लाख ३६ हजार ४ सय ४५ छात्रले परीक्षा दिँदै छन् । सामुदायिक विद्यालयबाट ३ लाख ४० हजार १ सय ९६ र निजीबाट १ लाख ३४ हजार ८ सय ७ परीक्षार्थी छन् । 

सबैभन्दा बढी प्रदेश ३ र कम कर्णालीबाट 
यस वर्षको एसइई परीक्षामा नियमितर्फ सबैभन्दा बढी प्रदेश ३ बाट १ लाख ३ हजार ४ सय ६० विद्यार्थी सहभागी हुँदै छन् । सबैभन्दा कम कर्णाली प्रदेशबाट ३२ हजार ३ सय ४४ परीक्षार्थी छन् । प्रदेश १ बाट ७९ हजार ७ सय १९, प्रदेश २ बाट ६४ हजार ८ सय ६८, गण्डकी प्रदेशबाट ४६ हजार ५ सय ७१ परीक्षार्थी छन् । त्यसैगरी प्रदेश ५ बाट ७३ हजार २ सय ८५ र प्रदेश ७ बाट ४९ हजार ९ सय ३९ ले परीक्षा दिँदै छन् । 

यस वर्ष एक्ज्याम्टेडतर्फ ९ हजार पाँच सय ९१, प्राविधिकतर्फ ९ हजार तीन सय ४३ र पुरानो एक्ज्याम्टेडतर्फ ५ हजार ८ सय ८३ सहभागी हुँदै छन् ।

घट्यो विद्यार्थी संख्या 
अघिल्लो वर्षको तुलनामा एसइई दिने विद्यार्थीको संख्या यस वर्ष घटेको छ । अघिल्लो वर्ष कुल ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी रहेकामा यस वर्ष करिब १० हजार कम चार लाख ७५ हजार ३ परीक्षार्थी छन् । यो समाचार आजको नयाँ पत्रीका दैनिकमा भवानीश्वर गाैतमले लेखेका छन । 

प्रतिक्रिया दिनुहोस