वास्तविक जीवनमा आर्मीका कर्णेलकी छोरी उपासना सिंह ठकुरी फिल्मी पर्दामा ‘क्याप्टेन’की प्रेमिकाको रुपमा प्रवेश गरिन् । अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’बाट नेपाली फिल्म उद्योगमा डेब्यु गरेकी उनको सपना आर्मी बन्ने नै छ । भिन्न सपना हुँदाहुँदै उनी कसरी आइपुगिन् फिल्म क्षेत्रमा ? फिल्म क्षेत्रले उनलाई कसरी स्वागत ग-यो त ? अनिल यादवले उनीसँग गरेको अन्तरंग कुराकानीः
पहिलो फिल्मको रेस्पोन्स कस्तो आयो त ?
पहिलो फिल्म भएकाले एकदमै डर लागेको थियो तर रेस्पोन्स सोचेभन्दा राम्रो आयो ।
फिल्मकै रेस्पोन्स राम्रो आएको कि तपाईंको कामको पनि ?
(मुस्कुराउँदै) अडियन्सले त ‘ओभरल’ नै भन्नुभएको होला ।
तर, फिल्मले त सोचेजस्तो व्यापार गरेको देखिएन नि ?
खोई, त्यो त मलाई थाहा भएन । भुवन (केसी) सरहरुले भनेअनुसार त राम्रै भइरा’छ ।
आफैँले आफ्नो फिल्म हेर्दा कस्तो महसुस भयो ?
आफूले सुधार गर्नुपर्ने धेरै कुराहरु रैछन् भन्ने फिल भयो ।
आर्मीकी छोरी, फिल्म क्षेत्रमा कसरी आइपुग्नुभयो तपाईं ?
पहिलादेखि नै यो फिल्ड मनपथ्र्यो । फिल्म राम्रो भइरहेको सुन्दा खुशी लाग्थ्यो तर आफैँ आउँजस्तो लाग्दैन थियो । यत्तिकैमा मलाई जिया दिदी (केसी)ले ‘नानु एकपल्ट मलाई भेट, मुभीका लागि कुरा गर्नुछ’ भन्नुभयो । म पनि हेरौँ न त कस्तो हुन्छ भनेर भेट्न गएँ । तैपनि मनमा ‘मुभी गर्दिनँ’ नै भन्ने थियो तर जिया दिदीले मलाई एकदमै कन्भिन्स गर्नुभयो । राम्रो हुन्छ गर अनि म पनि गाइड गर्छु भनेर सम्झाउनुभयो । अनि बल्ल तयार भएँ ।
जिया केसीले तपाईंमा त्यस्तो के देख्नुभएछ र प्रस्ताव गर्नुभयो ?
त्यो त उहाँलाई नै सोध्नुपर्छ (हाँस्दै) ।
‘के देखेर मलाई अफर गर्नुभयो’ भनेर सोध्नुभएन र ?
त्यसरी त सोधिनँ । उहाँले इन्स्टाग्रामको फोटोहरु देखेर अनि मुभीमा चाहिएकोजस्तो रोलका लागि सुट हुन्छ भन्ने फिल भएर प्रस्ताव गरेको भन्नुभएको थियो ।
इन्स्टाग्राममा त तपाईं खुब सक्रिय हुनुहुन्छ है ?
अँ, हल्का (मुस्कुराउँदै) ।
फलोअर्स पनि टन्नै छन् है ?
अँ, ७० हजार जति पुगे ।
हिरोइन भएपछि झन् बढेको होला !
फिल्म खेल्नुअघि ३० हजारजति थियो । त्यसपछि १ वर्षमा ४० हजार जति बढे । फिल्मकै कारण हो या मेरो फोटोहरुको कारण, त्यो त थाहा भएन (हाँस्दै) ।
फिल्म खेल्नुअघि अरु केही काम गर्नुहुन्थ्यो ?
कहाँ गर्नु ? भर्खर त १२ कक्षा सकेर ब्याचलर ज्वाइन गरेकी छु । फस्ट इयरको स्टुडेन्ड हुँ म अहिले ।
हिरोइन बन्नुअघि फिल्म कत्तिको हेर्नुहुन्थ्यो नि ?
अँ, म हेरिरहन्थे । सौगात मल्लका फिल्म नछुटाई हेर्छु । दयाहाङ राई, अनमोल केसी, प्रदिप खड्काको फिल्महरु पनि म हेरिरहन्छु ।
हिरोइन ख्यालख्यालमै भइयो है ?
ख्यालख्यालमै त भन्न नमिल्ला कि ! किनभने अफर आएपछि सबैसँग सरसल्लाह गरेर, बुझेर नै खेलेकी हुँ । गर्न सक्छु भन्ने आफूमा पनि आत्मविश्वास बढेपछि नै खेलेकी हुँ । मुभी भनेको करोडौँ दर्शकमाझ पुग्ने कुरा हो नि ! खेल्ने भएपछि त सोचेरै गर्नुप-यो । नत्र त फ्युचर डुबिहाल्छ नि !
फिल्मको अफर आएपछि परिवारबाट कस्तो प्रतिक्रिया आयो ?
मेरो मामुको त ‘गर्छाै र’ भन्नेखालको रिएक्सन थियो किनभने मैले यसअघि कहिल्यै यो फिल्डमा रुचि देखाएकी थिइनँ । बरु मेरो बहिनीको रुचि नाटकतिर थियो । रुचि छ र गर्न सक्छौ भन्ने लाग्छ भन्ने गर भनेर हौसला बढाउनुभयो । त्यसपछि मेरो अभिभावकले भुवन सर (केसी)हरुसँग भेट्नुभयो अनि खेल्ने पक्का भयो ।
अबको लक्ष्य हिरोइनमै जम्ने भन्ने हो या अरु नै केही छ ?
सुरुमा त मलाई पढाइ सकाउनु नै छ किनभने जुन फिल्डमा गए पनि पढाइ एकदमै मह-त्वपूर्ण हुन्छ । यही फिल्डमा निरन्तरता दिँदा पनि पढाइले ठूलो मद्दत गर्छ । त्यसैले ब्याचलर्स सक्ने मेरो पहिलो प्राथमिकता हो । सँगसँगै पढाइ नबिग्रिकन काम गर्न सकियो भने मुभी पनि गर्छु तर मेरो अर्को बच्चैदेखिको लक्ष्य पनि छ है ! मेरो ड्याडी अहिले आर्मीको कर्णेल हो । आर्मीको छोरी भएकाले होला मलाई पनि आर्मीमा भिड्ने मन छ तर ड्याडले नजाऊ भन्नुहुन्छ । अब ब्यालर्स सकिएपछि फेरि अनुरोध गर्छु, ड्याड मान्नुभयो भने त भिड्ने हो एकपल्ट ।
अनि देशको लागि लड्ने हो ?
(प्रश्न सुनेर उनी जोडले हाँसिन् मात्र ।)
पढाइ र अभिनयलाई सँगैसँगै लाने सोच पनि रहेछ । गाह्रो होला नि ?
मिलाउन खोज्ने हो तर पढाइ त छोड्दिनँ । शुक्रबार बाट
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०८ चैत्र २०७५, २१ : ३०
लेखकबाट थप