२४ करोडको पुलमा पिलर मात्र सँगैको काठेपुल तर्दा जनताबाट असुली

पत्रपत्रिकाबाट

विहीबार, ०७ चैत्र २०७५, ०७ : ५८
२४ करोडको पुलमा पिलर मात्र सँगैको काठेपुल तर्दा जनताबाट असुली

तस्बिर : नयाँ पत्रिका

कञ्चनपुरको लालझाडी गाउँपालिकामा दोदा नदीमाथि ०७२ मा निर्माण सुरु भएको पुल अलपत्र छ । २४ करोडमा सम्झौता भएको पुलमा पिलर मात्र छन् । छेउमा बनाइएको काठेपुल तर्दा स्थानीयले शुल्क तिर्नुपर्छ ।  देखतभुली–पर्सिया–शंकरापुर गाउँ जोड्न एक सय ७० मिटर लामो पक्की पुल २५ पुस ०७५ मा निर्माण सम्पन्न भइसक्नुपर्ने थियो । तर, फुटपाथसहित दुई लेनको पुल बनाउने जिम्मा पाएको ठेकेदार कम्पनी लुम्बिनी राजेन्द्र श्रेष्ठ जेभीले म्याद गुज्रिसक्दा तीन पिलर मात्रै उभ्याएको छ । प्राविधिक समस्या आएको भन्दै पुल निर्माण अवरुद्ध छ । याे समाचार विष्णु घिमिरे/माेहन विष्टले नयाँ पत्रिकामा लेखेका छन् ।

‘पुलको डिजाइनमै समस्या आयो, त्यसैले  निर्माण रोकिएको छ,’ सडक डिभिजन कार्यालय कञ्चनपुरका सूचना अधिकारी इन्जिनियर लक्ष्मणदत्त जोशीले भने । पुलको डिजाइन नआउँदै ठेक्का दिँदा र ठेकेदारले हतारमा निर्माण सुरु गर्दा समस्या देखिएको स्थानीय जनकराज जोशीको दाबी छ ।

इटाह बाबा मन्दिर सहयोग समितिले गत कात्तिकमा काठेपुल बनाएर पैसा उठाइरहेको छ । साइकल यात्रुसँग ५ र मोटरसाइकल यात्रुसँग २० रुपैयाँ दस्तुर उठाउने गरिएको छ । ‘पैसा उठाउनु हाम्रो बाध्यता हो, ठेकेदारले अर्को वर्ष पनि पुल पूरा गर्दैन, काठेपुल बनाउन सरकारले पैसा दिँदैन, त्यसैले दस्तुर उठाउन बाध्य छौँ,’ समितिका एक सदस्यले भने । 

 कञ्चनपुरमा ४१ पुल बनाउन २५ अर्ब
कञ्चनपुरमा महाकालीसहित ४१ निर्माणाधीन पुलका लागि २५ अर्ब बजेट लगानी गरिएको छ । तर, अधिकांश पुल अलपत्र छन् । महाकाली र चौधर नदी तथा मलरिया, कामिकाटेलगायत खोलामा निर्माणाधीन पुल समयमै नसकिने निश्चित भएको छ । महाकाली पुल आयोजना कार्यालय र  सडक डिभिजन कार्यालय महेन्द्रनगरको तथ्यांकअनुसार कुनै पनि निर्माण कम्पनीले सम्झौताअनुसार काम पूरा गरेका छैनन् । तीन वर्षअघि ठेक्का सम्झौता भएका अधिकांश पुलको प्रगति २५ प्रतिशतको हाराहारीमा मात्रै छ । केही पुलको मात्रै ७० प्रतिशतसम्म काम भएको छ । 
महाकाली पुल आयोजनाअन्र्तरगत ८ सय मिटरको मूल पुलले नै गति लिएको छैन । ३ अर्ब २७ करोड लागतमा कुमार श्रेष्ठ निर्माण सेवा प्रालिले ठेक्का पाएको थियो । तीन वर्षभित्र निर्माण सक्ने गरी ७ भदौ ०७४ मा ठेक्का लागे पनि एक वर्षमा २५ प्रतिशतमात्रै प्रगति भएको आयोजनाले जनाएको छ । आयोजनाका इन्जिनियर सुलभ न्यौपाने मुआब्दा विवादले निर्माण ढिला भएको दाबी गर्छन् । 

सडक डिभिजन कार्यालय अन्तर्गत निर्माण भइरहेका पुल पनि अलपत्र छन् । दैजी हुँदै बेलडाँडी जोड्ने हुलाकी राजमार्ग अन्र्तरगत बल्मा नदीको पुल म्याद थप्दासमेत पुरा भएको छैन । एडभेन्चर नन्देगडा जेभीले २६ पुष ०७४ मा पुल निर्माण सक्ने समझौता गरेको थियो । तर, ३० बैशाख ०७५ सम्म म्याद थप्दासमेत ७५ प्रतिशतमात्रै प्रगति भएको सडक डिभिजन कार्यालय कञ्चनपुरले जनाएको छ । 

यस्तै, दैजी जोगबुढा बुडर नाईल सडक अन्र्तरगत ओदाली खोलाको ६० मिटर लामो पुल म्याद सकिएको एक वर्षसम्म पनि २५ प्रतिशतमात्रै काम भएको छ । साढे ५ करोडमा थेगम गलुवा जेभीले ठेक्का पाएको पुल १५ फागुन ०७४ मै सम्पन्न हुनुपर्ने थियो । यही कम्पनीले खागखोलामा निर्मणाधीश पुल म्याद सकिँदासम्म ६० प्रतिशत पनि प्रगति भएको छैन । 

प्रतिक्रिया दिनुहोस