बटेश्वर। धनुषाको बटेश्वर गाउँपालिका– ५ मा पर्छ— शान्तिपुर गाउँ। बैंकका कर्मचारीले यो गाउँमा पाइलो टेके कि, शान्तिपुर अशान्त बन्छ। बैंकसँग ऋण लिएकाहरू भागाभाग गर्छन्। कसैले घरको ढोका थुन्छन् त कोही बस्ती छाडेर हिँड्छन्।
चार वर्षअघिको कुरा हो, शान्तिपुरकी सहजादी खातुनले लघुवित्त बैंक र साहुबाट तीन लाख २० हजार कर्जा लिइन्। निर्धन लघुवित्त वित्तीय संस्थाबाट ५० हजार, स्वावलम्बन लघवित्त वित्तीय संस्थाबाट ३० हजार, फरवाड माइक्रोफाइनान्सबाट ४० हजार, मिथिला लघुवित्त विकास बैंकबाट ५० हजार र जनकपुरका महाजनसँग १० धुर घडेरी बन्धकीमा राखी १ लाख गरी तीन लाख २० हजार ऋण लिइन्।
सहजादीले बैंक र साहुसँग लिएको ऋण गाउँकै सुरेन्द्र सिंहलाई सापटी दिइन्। तर सबै रुपैयाँ लिएर सिंह शान्तिपुर गाउँ छाडी भागेपछि सहजादीको बिचल्ली भएको छ। सहजादीसँग मात्रै सापटी लिएर भागेका होइनन्, सुरेन्द्र। उनी जस्तै शान्तिपुरका दर्जनौंसँग सापटी रकम लिएर उनी भागेका हुन्। सुरेन्द्रले करिब १५ लाख रुपैयाँ लिएर गाउँ छाडेको स्थानीयको भनाइ छ। साँवाब्याज गरेर अहिले त्यो रकम ४० लाख रुपैयाँ हुन आउँछ।
सुरेन्द्र र श्रीमती यशोदाले चार वर्ष अघि लघुवित्त बैंक ल्याएर गाउँमा समूह गठन गराएका थिए। गरिबको जीवनस्तर उठाउन सहयोग गरेको भन्दै उनलाई सबैले विश्वास गरे। तर पछि सुरेन्द्र र यशोदा गाउँलेलाई ठगेर भागेको स्थानीय सहजादीको भनाइ छ। स्थानीयको जीवनस्तर उकास्न महिलाकै समूह गठन गरियो। गाउँका अधिकांश पुरुष वैदेशिक रोजगारीमा छन्।
समूहमा आबद्ध सबै सदस्यसँग सुरेन्द्रले सापटी रकम मागे। उनले मासिक २ सय बचत गरिदिने ऋण र त्यसको ब्याज पनि तिरिदिने भन्दै लोभ देखाए। सुरेन्द्रले देखाएको लोभले महिलालाई आकर्षित ग¥यो। बैंक तथा वित्तीय संघसंस्थासँग किस्ताबन्दी र घरघडेरी राखेर साहुमहाजनसँग समूहका सदस्यले ऋण लिएर उनलाई दिए।
सित्तैमा महिनाको २ सय खातामा बचत पनि हुने भएकाले सबैले ऋण उठाएर सुरेन्द्रलाई दिए। उनले एकदुई पटक लिएको ऋण सुरुमा फर्काए पनि। तर गाउँलेसँग धेरै रकम बिनाधितो र कागज गराएर ऋण लिएका उनी पछि गाउँ नै छाडेर भागे। त्यसपछि शान्तिपुरका स्थानीय लाखौं रुपैयाँको ऋणको भारले थिचिएका छन्।
लोभले लाभ, लापले विलाप भनेझैं शान्तिपुरका महिला सुरेन्द्रले दिएको लोभले अहिले विलाप गरिरहेका छन्। बैंक र साहुबाट लिएको ऋण तिर्न नसकेपछि खातुनको चिन्ताको पारो बढेको छ। उनी भन्छिन्, ‘बैज्जती हुने डरले महाजन र बैंकका कर्मचारी ऋण उठाउन आउँदा गाउँ छाडेर भाग्छौं।’ सहजादीका श्रीमान् अखतर शेख ३ वर्ष विदेश बसेर कमाएर पठाएको रकमले ऋण चुक्ता गर्दै आएकी छन्।
‘बैंकलाई चार किस्ताको ५० हजार रुपैयाँ तिर्न बाँकी छ’, उनले भनिन्, ‘साहुकहाँ घडेरी बन्धकी राखेर लिएको एक लाख ५० हजार रुपैयाँ तिर्न अझै बाँकी छ।’ सहजादीका छिमेकी ५० वर्षीय नजबुल खातुनले पनि चार वर्षअघि नेरुडे बैंकबाट ४० हजार र मिथिला लघुवित्त विकास बैंकबाट किस्तामा ५० हजार ऋण लिइन्। जनकपुरका महाजनसँग एक कठ्ठा घडेरी बन्धकी राखेर सयकडा ३ रुपैयाँ ब्याजदरमा १ लाख २५ हजार कर्जा उठाइन्। गाउँका सुरेन्द्र सिंहलाई बैंक र साहुबाट उठाएको रकम सापटीमा दिइन्। तर, सुरेन्द्रले पैसा नतिरी गाउँ छाडी भागे।
बैंकको किस्ता तिर्न गाउँमा ‘रोजहा ऋण’ लिन थालिन् खातुनले। यो शैलीमा ऋण लिनेले तोकेको समयमा लिएको रकमको दोब्बर गरेर तिर्नुपर्छ। तर ऋण तिर्ने समय सीमा एक हप्ता मात्र हुन्छ। नजबुल खातुनले कमाएर तिर्ने शर्तमा गाउँकै रसुला खातुनसँग रोजहा ऋणस्वरूप १० हजार लिएर बैंकको किस्ता भरिन्। उनले त्यो रोजहा ऋण रसुलालाई समयमै तिर्न सकिनन्। एक वर्षपछि नजबुलसँग रसुलाले ४० हजार रुपैयाँको कपाली तमसुक गराइन्।
किस्ता तिर्नकै लागि अर्का स्थानीय पाशुपति सिंहसँग नजबुलले ३० हजार रोजहा ऋण लिइन्। उनलाई पनि भनेको समयमा नजबुलले ऋण फर्काउन सकिनन्। एक महिनापछि पाशुपतिले ४० हजारको कपाली तमसुक गराए। याे समाचार राजकरण महतोले अन्नपूर्णमा लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०६ चैत्र २०७५, ०७ : १०
लेखकबाट थप