काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रिया लम्बिएको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारमा अमेरिका प्रस्थान गरेपछि एकता प्रक्रिया लम्बिएको हो । प्रचण्ड अमेरिका जानु अघि नै सांगठानिक एकता प्रक्रिया टुंगो लगाउने गृहकार्य अगाडि बढेको थियो । तर शीर्ष नेताहरुबीच सहमति जुटन नसकेपछि बैठक बस्न सकेको थिएन ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच एकता प्रक्रियाको बाँकी काम टुंगो लगाउने बारेमा अनौपचारिक छलफल भएपनि सहमति जुट्न नसकेको बताइएको छ । अध्यक्षद्धयले मात्र गर्ने निर्णय मान्य नहुने भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले समानान्तर कमिटी गठन गर्ने चेतावनी दिएपछि सांगठानिक एकता प्रक्रिया थप जटिल बनेको छ ।
पार्टी एकता प्रक्रिया ढिलो हुँदा ठूलो निराशा छाएको नेकपाका नेता मणि थापाले बताउनुभयो । उहाँले भन्नुभयो–समयमा नै सांगठानिक एकता प्रक्रियाको काम टुंगो लगाउन सक्नु पर्दथ्यो, समयमा कार्यविभाजन पनि हुन सकेन,यसले पार्टीलाई घाटा पुग्छ ।’
स्थायी समिति बैठक मार्फत गठन भएको कार्यदल भंग गरेर अध्यक्ष ओलीले चलाखीपूर्ण ढंगले पुनः अधिकार सचिवालयमा नै ल्याउन सफल हुनुभएको थियो । भित्री रुपमा आफू निकट व्यक्तिलाई मात्र सांगठानिक जिम्मेवारी दिने तयारी गरेपछि वरिष्ठ नेता नेपाल पक्षले असन्तुष्टि जनाउदै आएको छ । प्रदेश कमिटी गठनमा नै नेपाल पक्ष अध्यक्षद्धय ओली र प्रचण्डसँग असन्तुष्ट छन् ।
नेकपाभित्र सरकारको नीति विपरीत सरकार सञ्चालन भएको भन्दै विवाद चुलिएको छ । नेकपाका एक केन्द्रीय सदस्यले भने–सरकारले नागरिकहरुको आवश्यकतालाई भन्दा पनि सस्तो लोकप्रियताको लागि काम गर्दा परिणाम निस्किन सकेको छैन् । नेकपाको नेतृत्वमा सरकार गठन भएको एक बर्ष वितिसक्दा समेत न्युनम काम पनि गर्न नसकेको भन्दै नेकपाका नेताहरुले नै सरकारको आलोचना गर्दै आएका छन् ।
नेकपाका नेता ठाकुर गैरेले पार्टी एकताको बाँकी काम टुंगो लगाउन शीर्ष नेतृत्वले वेवास्था गरेको बताउनुभयो । उहाँले भन्नुभयो–पार्टी एकता हुँदा निकै ठूलो आशा र उत्साह थियो, अहिले दस महिनाको अवधिमा सांगठानिक एकताको काम टुंगो लाग्न नसक्दा निराशा छाएको छ ।’
पार्टीका नेताहरु जिम्मेवार विहीन हुनु राम्रो नभएको बताउदै उहाँले बारम्बार एकता प्रक्रियाको बाँकी काम टुंगो लगाउन दबाब दिएपछि शीर्ष नेतृत्वले कार्यकर्ताको भावनालाई सम्बोधन गर्न नसकेको बताउनुभयो । नेपाल समाचारपत्र दैनिकमा विस्तृतमा खबर छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०५ चैत्र २०७५, ०६ : ५०
लेखकबाट थप