‘हामी हलमा झिँगा धपाएर बसेका छौँ।’
माघको दोस्रो साता एक जना वितरकले फेसबुकमा लेखे।
‘दर्शक हराएको सूचना !’
एक जना कलाकारले पनि फेसबुकमै लेखे।
वितरक र कलाकारको समान टिप्पणीले नेपाली फिल्ममा दर्शक खडेरीको भयावह अवस्था देखाउँछ। प्रविधि र अभिनयमा फड्को मारेको भनिएको नेपाली फिल्म फेरि २०६८ सालकै अवस्थामा फर्किएको हो कि भन्ने बहस सुरु भएको छ। २०६८ सालमा ‘लुट’ रिलिजअघि यसरी नै हलमा दर्शक अभावका कारण फिल्म क्षेत्रमा संकटकाल लगाउने चर्चा थियो। तर, ‘लुट’ले पाँच करोड रुपैयाँ हाराहारीको व्यापार गरेपछि नेपाली फिल्म अलिकति ‘ट्र्याक’मा आएको थियो। तर, तिहारयता हलमा देखिएको खडेरी अनमोल केसी अभिनीत ‘क्याप्टेन’ले पनि तोड्न नसकेपछि नेपाली फिल्मको घाटाको व्यापारमाथि चिन्तन गर्नुपर्ने समय आएको नेपाली फिल्मका शुभचिन्तकहरूको मत छ।
१० महिनामा ७० हाराहारी फिल्म रिलिज भए। तीमध्ये व्यावसायिक रूपमा दुई मात्र सफल। बाँकी सबै असफल।
यो कहालीलाग्दो तथ्यांक हो, नेपाली फिल्मको। चलचित्र विकास बोर्डको तथ्यांकअनुसार यो वर्षको फागुन महिनाको अन्तिमसम्ममा ७० वटा फिल्म हलमा लागेका छन्। तर, हलमा दर्शक आएरै पैसा कमाएका फिल्ममा दुइटा फिल्मको मात्र नाम आउँछ, ‘छक्कापञ्जा ३’ र ‘नाइँ नभन्नू ल ५’। एकाध फिल्मले डिजिटल प्लेटफर्म र विदेशमा बेचेर लगानी उठाएका छन् तर लगानी हलमै चलेर नउठाएसम्म फिल्मको व्यापारको नियमले तिनलाई सफल मान्दैन। विश्वव्यापी मान्यता यस्तै छ। बलिउड अभिनेता शाहरुख खानको ‘जिरो’ले विभिन्न प्लेटफर्ममा फिल्म बेचेर लगानीभन्दा ज्यादा पैसा उठायो तर यसलाई फ्लप फिल्मकै कोटीमा राखिन्छ।
कलाकारलाई हलमा हेर्ने तिर्सना जगाउन सकियो भने पो दर्शक उसको फिल्म हेर्न हलमा जान्छ। तर, युट्युब च्यानलहरूले उसको बेडरुममा पुगेर अन्तर्वस्त्रसम्मका कुरा देखाइदिन्छ भने दर्शक किन हलमा जान्छ?
–प्रदीप उदय
अनमोल केसी अभिनीत ‘क्याप्टेन’लाई वर्षकै प्रतीक्षित फिल्म मानिएको थियो। फिल्मले झिँगा धपाएर बसेका हलमा दर्शकको बाढी लिएर आउने अनुमान थियो। तर, अत्यधिक प्रचारप्रसारका विपरीत फिल्मले अघिल्लो शुक्रबार अपेक्षित भीड जम्मा गर्न सकेन। हाउसफुल त परको कुरा, अघिल्लो शुक्रबार दिनभर फिल्मको व्यापार ३० प्रतिशतभन्दा नाघ्न सकेन। क्यूएफएक्स चेन सिभिल मलका म्यानेजर विनोद पौडेलका अनुसार ‘छक्कापञ्जा ३’ ले यसअघि शुक्रबारका दिन सर्वाधिक ५५ प्रतिशत ‘अकुपेन्सी’का साथ प्रदर्शनको सुरुवात गरेको थियो। ट्रेलर, गीत, अन्तर्वार्ता सबैकुरा युट्युब टे«न्डिङमा आउँदा ‘क्याप्टेन’ले धमाकेदार सुरुवात गर्ने सबैको अनुमान थियो। तर, फिल्मले मध्यम सुरुवात गरेपछि केसीको स्टारडममाथि पनि प्रश्न उठेको छ।
विश्वव्यापी समस्या
हलमा दर्शक खडेरी खेप्ने नेपाल एक मात्र देश होइन। संसारका लगभग सबै राष्ट्र हलमा दर्शकको घट्दो संख्याले चिन्तित छन्। हलिउडमा सिनेमा हेर्ने संख्या पाँच प्रतिशतको हिसाबले घट्दो क्रममा रहेको बताइएको छ भने बलिउडमा पनि गत साल ठूला भनिएका स्टारका फिल्मले दर्शक पाएका थिएनन्। हजार हाराहारीमा बर्सेनि फिल्म रिलिज गर्ने बलिउडमा कमाउने फिल्मको संख्या २० भन्दा बढी छैन। यहाँ पनि हलमा दर्शक आउने संख्या उल्लेख्य रूपमा घटेको भन्दै चिन्तन सुरु भएको छ।
हलमा रिलिजपछि युट्यबुमा जुन समयमा फिल्म आइरहेका छन्, त्यसले पनि दर्शक संख्यामा असर परेको छ। दुईतीन महिना कुर्दा सित्तैमा फिल्म हेर्न पाइन्छ भने खर्च गरेर को हलमा जान्छ?
– आकाश अधिकारी
यही कारण पीभीआरजस्ता ठूला मल्टिप्लेक्सले दर्शकलक्षित विभिन्न योजना अगाडि ल्याउन थालेका छन्। बढ्दो टिकट रेट र ओटीटी (नेटफ्लिक्स, अमेजन प्राइम वा ‘भिडियो अन डिमान्ड’जस्ता च्यानल)का कारण हलिउड र बलिउड फिल्मको व्यापारमा व्यापक ह्रास आएको अनुमान छ। मोसन पिक्चर्स अफ अमेरिकाले गत साल सार्वजनिक गरेको तथ्यांकअनुसार हलिउड फिल्मले विदेशबाट गर्ने कमाइको मात्रा केही बढेको छ भने घरेलु बजारमा घटेको छ।
भविष्यमा टिकट दर अझ बढ्ने र दर्शक ओटीटी प्लेटफर्ममा थप अभ्यस्त हुने अनुमान गर्दै व्यापार विश्लेषकले सिनेमा हलले टिकट दर समायोजनाबारे बेलैमा सोच्नुपर्ने सुझाव दिन थालेका छन्। नेपालमा पनि युट्युबबाहेक नेटफ्लिक्स, अमेजन प्राइमजस्ता ओटीटी प्लेटफर्म प्रयोगकर्ताको संख्या ह्वात्तै बढेमा नेपाली फिल्मले हलमा दर्शक देख्न राम्रै कसरत गर्नुपर्नेछ।
हलुका कलाकार, सस्तो प्रचार
विश्वव्यापी समस्याका बाछिटाले नेपाली फिल्मलाई पुर्याउने क्षति त छँदै छ, नेपाली फिल्मले आफ्नै कारणले पनि दर्शक गुमाउँदै गएको फिल्मकर्मीको अनुमान छ। नेपाल चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय कलाकारको सामाजिक सञ्जालप्रतिको क्रेज, युट्युबप्रतिको आसक्ति, म्युजिक भिडियो र कमजोर फिल्म वर्तमान संकटको कारण रहेको बताउँछन्।
बेला–बेलामा फेसबुकमा नै कलाकारको गतिविधिमाथि टिप्पणी गर्ने उनी कलाकारले आफ्नो वजन राख्न नसक्दा हाइप भएको भनिएका फिल्मले पनि दर्शक नपाएको बताउँछन्। ‘कलाकारलाई हलमा हेर्ने तिर्सना जगाउन सकियो भने पो दर्शक उसको फिल्म हेर्न हलमा जान्छ,’ उनको तर्क छ, ‘तर, तपाईं उसको बेडरुममा पुगेर अन्तर्वस्त्रसम्मका कुरा देखाउनुहुन्छ भन्ने दर्शक किन हलमा जान्छ? त्यसमाथि फिल्म पनि हामीले गतिलो बनाउन सकेका छैनौँ। कलाकारको अतिप्रचारको भोकको मूल्य निर्माताले चुकाउनु परिरहेको छ।’
हामी डिजिटल अडिएन्स हेरेर हलमा मान्छे ओइरिने अपेक्षा गरेर बसेका थियौँ तर त्यस्तो भएन। हुँदैन पनि। नेपाली फिल्मले गीत ट्रेलरमा पाउने दर्शक हलमा सजिलै जाँदैन।
– जीतेन्द्र खतिवडा
उदयका अनुसार युट्युबबाहेक टिकटक, फेसबुक, इन्स्टाग्राम आदिमा कलाकारको चौबीसै घण्टाको उपस्थितिले पनि फिल्मको व्यापारलाई असर गरिरहेको छ। ‘तपाईं म्युजिक भिडियो र फिल्मको पोस्टर कुन हो, छुट्याउन सक्नुहुन्न,’ उनी भन्छन्, ‘जतिबेला पनि फेसबुक लाइभमा देखिनुहुन्छ, टिकटकमा उत्तिकै बिजी हुनुहुन्छ भने तपाईंप्रति दर्शकको धेरै जिज्ञासा हुँदैन। हलमा दर्शक नआउनमा अरू पनि थुप्रै कारण होलान् तर कलाकार आफ्नो ठाउँमा नबस्दा शुक्रबारको व्यापारमा सीधा असर परेको छ।
निर्माता संघका अध्यक्ष आकाश अधिकारीलाई भने फिल्मकर्मीको युट्युबप्रतिको भरोसाले हलमा प्रभाव देखिन थालेको अनुभव भएको छ। अधिकारीको बुझाइमा युट्युबमा हुने कलाकारको अन्तर्वार्ता मात्र होइन, युट्यबुमा आउने नेपाली फिल्मले पनि दर्शकलाई हलमा जान रोकिरहेका छन्। ‘हलमा रिलिज पछि युट्यबुमा जुन समयमा फिल्म आइरहेका छन्, त्यसले पनि ‘फुटफल’मा असर परेको छ,’ उनी भन्छन्, ‘दुईतीन महिना कुर्दा तपाईं फ्रीमा फिल्म हेर्न पाइरहनुभएको छ भने पैसा खर्च गरेर हलमा जानुहुन्न। सकभर हामीले युट्युबको विकल्प खोज्नुपर्छ। सकिन्न भने पनि ग्यापबारे सोच्नुपर्छ। नत्र यो अवस्था अझ भयावह बन्न सक्छ।’
पछिल्लो समय फिल्म र फिल्ममेकर दुवैले दर्शकको विश्वास गुमाए। न दर्शकले आश गरेअनुरूप फिल्म बने, न कलाकारहरू आचरणमै बस्न सके। दर्शकको विश्वास गुमाएको परिणाम हो, हलमा देखिएको यो शून्यता।’
–प्रचण्डमान श्रेष्ठ
नेपालमा डिजिटल प्लेटफर्मका रूपमा युट्युबमा फिल्म बेच्ने प्रचलन छ। यसरी बेचिएका फिल्म शर्तअनुसार तीन महिनादेखि छ महिनाभित्र युट्युबमा सार्वजनिक हुन्छन्। युट्युबमा यसरी आएका फिल्म हेर्ने नेपालीको संख्या भने निकै उच्च छ। त्यसैले हलमा एक सो पनि नटिकेका फिल्म पनि युट्युबको ट्रेन्डिङमा मात्र पर्दैनन्, राम्रै संख्यामा दर्शक पनि पाउँछन्।
तर, यसरी पाएका दर्शकबाट उठ्ने पैसा निर्माताभन्दा कन्टेन्ट एग्रिगेटरले पाउँछन्। एकाध निर्माताबाहेक सबैले फिल्म रिलिजअगावै कन्टेन्ट एग्रिगेटरलाई बुझाइसकेका हुन्छन्। युट्युबबाहेक निर्माताले रिलिज भएको हप्ता दुई हप्तामै डिस होमलाई फिल्म दिने गरेका छन्, जहाँ दुईतीन सय रुपैयाँको रिचार्जले सिंगो परिवारले नै टीभीमा ढुक्कसँग फिल्म हेर्न सक्छ। सिनेमा हलमा फिल्म हेर्नभन्दा टीभीमा हेर्न सस्तो मात्र पर्ने होइन, गुणस्तरमा पनि खासै फरक नपर्ने भएपछि दर्शक आजभोलि टीभीमै फिल्म हेर्न थालेका छन्। टीभीमा फिल्म चलाउने सवालमा डिस होम र निर्माता दुवैको रुचि मिलेको देख्दा नेपाली फिल्मको ठूलो दर्शक संख्या टीभी छाडेर हलमा आउन सकेको छैन। यसको असर हरेक हप्ता रिलिज हुने फिल्ममा देखिन थालेको छ।
टुटेको भरोसा
अनमोल केसीले हेमराज बिसीको निर्देशनमा तीन सफल फिल्म दिए। ‘कबड्डी’बाट सहकार्य थालेका दयाहाङ राई र रामबाबु गुरुङको ‘कबड्डी कबड्डी’ले चल्तीको भाषामा ‘पैसा छाप्यो।’ ‘छक्कापञ्जा’ सिरिजका तीनै फिल्मले बक्स अफिसमा मुद्रा–वर्षा गराए। माथि उल्लिखित सबै फिल्म र फिल्मकर्मीले कालान्तरमा छुट्टिएर बेग्लाबेग्लै टिमसँग काम गरिसकेका छन्।
तर, केसीबिना न बिसी फिल्ममा सफल भए, न गुरुङबिना राई नै। ‘छक्कापञ्जा’बाट टिमका जितु नेपाल र केदार घिमिरेले ‘रामकहानी’ खेले पनि यो फिल्मलाई सफल बनाउन सकेनन्। वितरण कम्पनी स्टेसन फाइभका प्रमुख तथा निर्माता÷निर्देशक प्रचण्डमान श्रेष्ठ हलमा देखिएको शून्यताका पछाडि फिल्मकर्मीले गुमाइरहेको विश्वासलाई मुख्य कारण मान्छन्। उनको विचारमा नेपाली फिल्मले कन्टेन्ट र कलाकार दुवैप्रति विश्वास गुमाइसकेका छन्। श्रेष्ठ भन्छन्, ‘हिजोको दिनमा पनि ‘वर्ड अफ माउथ’ राम्रो भएपछि मात्र फिल्म चलेका हुन्।
चाहे त्यो ‘लुट’ होस् वा ‘छक्कापञ्जा’। तर, पछिल्लो समय फिल्म र फिल्ममेकर दुवैले दर्शकको विश्वास गुमाए। न दर्शकले आश गरेअनुरूप फिल्म बने, न कलाकारहरू आचरणमै बस्न सके। दर्शकको विश्वास गुमाएको परिणाम हो, हलमा देखिएको यो शून्यता।’
नेपाली फिल्मले लगभग हरेक पाँच–दश वर्षमा एकादुई फिल्म औधी चल्ने र बाँकी समय दर्शक कुरेर बस्ने नियति भोग्दै आएको छ। नयाँ कथा र प्रस्तुति भएका फिल्मले यसरी अन्तरालमा दर्शक हलमा ल्याउँछन् तर त्यसपछि सारा निर्माता÷ निर्देशक त्यही शैलीका फिल्म बनाउन लाग्छन्। ‘लुट’को सफलतापछि छाडा र द्विअर्थी संवाद राखेर फिल्म बनाउने शैली मेकरले अझै छोड्न सकेका छैनन् भने ‘छक्कापञ्जा’मा जस्तो ट्वाक्कटुक्क जोक जोडेर फिल्म बनाउने निर्माता पनि हरेक शुक्रबार डुबिरहेका छन्।
स्टेसन फाइभका श्रेष्ठ यी सबै समस्यालाई दुइटा शब्दमा बुझ्दा पर्याप्त हुने बताउँछन्। ‘कन्टेन्ट र ट्रस्ट,’ उनी भन्छन्, ‘पहिलो त फिल्मको कन्टेन्ट नै बलियो हुनुपर्यो। दोस्रो चाहिँ, ट्रस्ट बनाउनुपर्यो र बनेको ट्रस्टलाई बचाउनुपर्यो। नेपालमा एक्लो स्टार र निर्देशक कसैलाई पनि दर्शकले पत्याइरहेका छैनन्। अहिले देखिएको दर्शक संकट यही दुई कुराको उपज हो।’
फिल्म व्यापारमा रुचि राख्ने निर्माता तथा लेखक जीतेन्द्र खतिवडा पनि पछिल्लो समय नेपाली फिल्मले कन्टेन्टमा काम नगरिरहेको बताउँछन्। ‘नेपालका धेरै दर्शक विश्व सिनेमाबारे जानकार छन्,’ उनको बुझाइ छ, ‘उही पैसामा ढंगले बनेका सिनेमा हेर्न पाइने भएपछि उनीहरू त्यो पैसा नेपालीभन्दा विदेशी फिल्म हेर्नमै खर्च गर्छन्। हामीले पहिलो कुरा त कन्टेन्ट सिनेमाका लागि सबैभन्दा महŒवपूर्ण कुरा हो भन्ने आत्मसात् गरेका छैनौँ। कन्टेन्ट समातिहाले पनि त्यसको प्रस्तुतिमा ढंग पुर्याउँदैनौँ।’
दयालाग्दा हल
लामो समयदेखि भनिँदै आएको छ– नेपाली फिल्म हेर्ने दर्शकको संख्या देशको जनसंख्याको तुलनामा एकदमै कम छ। अनौपचारिक तथ्यांकअनुसार तीन करोड जनसंख्यामध्ये दुईदेखि तीन प्रतिशत मात्र फिल्म हेर्न हलसम्म पुग्ने गरेका छन्। यसको अर्थ के हो भने सरदर दुईतीन लाख नेपाली दर्शक नेपाली फिल्म हेर्छन्।
दुई सय रुपैयाँको औसत टिकट रेट राखेर हेर्ने हो भने पनि चार करोडदेखि छ करोड रुपैयाँसम्म एउटा नेपाली फिल्मले ग्रस गर्नुपर्ने हो। तर, यथार्थ यस्तो छैन। अधिकांश फिल्म एक करोडको आँकडा छुन नपाउँदै हलबाट निस्किसक्छन्। निर्माता संघका अध्यक्ष अधिकारी हलमा दर्शक नआउनमा हल स्वयंको भूमिका कम नभएको बताउँछन्।
उनलाई लाग्छ– ६० प्रतिशत हलमा राम्ररी फिल्म हेर्ने वातावरण छैन। भन्छन्, ‘काठमाडौँ बाहिरको कुरा छोडौँ, तपाईं काठमाडौँकै धेरै हलमा सिनेमा हेर्न सक्नुहुन्न। रेडको लेटेस्ट क्यामराले खिचेको फिल्म ७ सय २० मेगापिक्सल वा एमपेगको क्वालिटीमा हेर्नुपर्छ। यस्ता हलमा हरियो जंगल पहेँलो देखिन्छ। अरू प्राविधिक पक्षको त कुरै नगरौँ।’ उनलाई फिल्मसँगै हलको गुणस्तर नबढाएसम्म नेपाली फिल्मको बजार थप घट्ने चिन्ता छ। ‘जमानाअनुसार दर्शकले नेपाली फिल्म हेर्न नपाउने हो भने साँच्चिकै झिँगा धपाएर बस्नुपर्ने दिन आउन सक्छ,’ उनी अनिष्टको संकेत गर्छन्।
डिजिटल अडिएन्स भर्सेस थिएट्रिकल अडियन्स
फिल्म निर्माता तथा मार्केटिङ स्ट्राटिजिस्ट खतिवडा डिजिटल अडिएन्स र थिएट्रिकल अडिएन्सको अनुपात छुट्याउन नसक्दा समस्या आएको बताउँछन्। उनी पछिल्लो समय चलेका स्टारडमका हल्ला र युट्युब टे«ेन्डिङले फिल्मको व्यापारलाई असर नपर्ने बताउँछन्। अझ उनलाई त युट्युबले अडिएन्सको ‘फुटफल’मा असर गरेको छ भन्नै नै लाग्दैन।
खतिवडा भन्छन्, ‘नेपालको हकमा डिजिटल अडिएन्स र थिएट्रिकल अडिएन्स फरक–फरक दर्शक हुन्। हामी डिजिटल अडिएन्स हेरेर हलमा मान्छे ओइरिने अपेक्षा गरेर बसेका थियौँ तर त्यस्तो भएन, हुँदैन। डिजिटल अडिएन्स थिएट्रिकल अडिएन्समा कन्भर्ट हुने दर विश्वमा एकदमै न्यून छ। नेपालमा त यो झनै कम छ। त्यसैले नेपाली फिल्मले गीत ट्रेलरमा जुन दर्शक पाउने गरेका छन्, त्यो संख्या हलमा देखिँदैन।’
पछिल्लो समय थुप्रै फिल्मका ट्रेलर तथा गीत युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा आए। निर्माता यति भएपछि हलमा दर्शकको चाप देखिने विश्वासमा थिए तर अवस्था त्यस्तो रहेन। युट्युबसँगै फेसबुक, इन्स्टा वा अन्य प्लेटफर्ममा फिल्मको प्रचारमा खन्याएको पैसा बालुवामा पानीसरह बिलायो। पहिलो सोमै दर्शक देखिएनन्। ‘दर्शकले नेपाली फिल्म मेकरलाई मज्जाले विश्वास गर्न सकिरहेका छैनन्,’ खतिवडा भन्छन्, ‘एउटा पनि यस्तो ब्यानर वा कलाकार छैन, जसले कन्टिन्युटी मेन्टन गर्न सकेको होस्।
अनि, नेपालीको खर्च गर्ने क्षमता पनि त्यति धेरै छैन कि सबै फिल्म हेर्न जाओस्। सायद उसलाई नेपाली फिल्मको ट्रेलरले अरू फिल्म हेर्न छाडेर यो फिल्म हेर्न बाध्य पारेको अवस्था पनि छैन। उसले त्यही कुरामा आफ्नो पैसा खर्च गर्छ, जसमा उसलाई पूर्ण सन्तुष्टि हुन्छ।’ उनको तर्कले नेपाली निर्माता–निर्देशकले गुणस्तरीय मात्र होइन, नयाँ विषयमा पनि फिल्म बनाएर दर्शक हलसम्म तान्न नसकेको संकेत गर्छ।
यही कारण नेपालमा बलिउड फिल्मले बजार खाएको सत्य त छँदै छ, अझ यो बजारमा हलिउड फिल्मको पनि उपस्थिति बलियो हुँदै गएको छ। वितरक मनोज राठी हिन्दी फिल्मभन्दा पनि हलिउडका फिल्म नेपाली फिल्मका लागि चुनौती बनेर आउने बताउँछन्। ‘हिन्दी फिल्ममा दर्शक घटिरहेका छन् तर हलिउड फिल्ममा बढिरहेका छन्,’ राठी भन्छन्, ‘भोलिका दिनमा नेपाली फिल्मले दोहोरो प्रतिस्पर्धा गर्नुपर्ने भएको छ।’ राठीको अनुमान सत्य साबित हुन सक्छ।
समाधानः राज्यको हस्तक्षेप
बलिउडपछि सर्वाधिक फिल्म बनाउने उद्योगमा नाइजेरियाको नाम दोस्रोमा आउँछ। कुनै समय यो उद्योग पनि दर्शक नपाएर बन्द हुने अवस्थामा थियो। बर्सेनि हजार– दुई हजार फिल्म बन्थे। हजारौँ मान्छेले रोजगारी पाएका थिए, तर हलमा दर्शकको अवस्था टिठलाग्दो थियो। उद्योग बन्द हुने बहस चलिरहेको थियो। तर, जब नाइजेरियाका तत्कालीन राष्ट्रपति गुडलक जोनाथनले फिल्मले लाखौँ मानिसलाई रोजगारी दिइरहेको थाहा पाए, उनले बन्द गर्नुको साटो सहयोग गर्ने बाटो रोजे।
उनले ३०–५० लाखमा एउटा फिल्म बन्ने उद्योगका लागि भनेर लगभग १ अर्ब ८० करोड पैसा निकासा गरिदिए। त्यो पैसाले नाइजेरियन निर्माता–निर्देशकले हलिउडका कलाकार तथा प्राविधिक ल्याएर फिल्म बनाउन थाले। त्यसपछि नाइजेरियन फिल्मले लिएको गति रोकिने छाँट छैन। निर्माता संघका अध्यक्ष आकाश अधिकारी नेपालमा पनि सरकारले फिल्मका लागि विशेष अवधारणा ल्याउनुपर्ने बताउँछन्।
‘हलको अवस्था नाजुक छ,’ उनी भन्छन्, ‘तिनको स्तरोन्नतिका लागि विकास बोर्डले स्किम ल्याओस्।’ उनी निर्माता–निर्देशकले पनि आम दर्शकलाई समेट्ने फिल्म बनाउनुपर्ने औँल्याउँछन्। अन्य देशमा झैँ युट्युबमा भन्दा पनि पे–च्यानलबाट फिल्म हेर्ने वातावरण बनाउनसके निर्मातालाई राहत हुने उनको विश्वास छ। खतिवडा पनि वर्तमान संकटको दीर्घकालीन समाधान सरकारले नै खोज्नुपर्ने देख्छन्। ‘नेपाली फिल्मका सरोकारवाला संघसंस्था र सरकार बसेर नयाँ पोलिसी ल्याइयो भने मात्र नेपाली फिल्मले दर्शक खडेरीको सदाबहार संकट टार्न सक्छ,’ उनको निष्कर्ष छ, ‘नत्र त हरेक पल्ट नयाँ निर्माता आउँदै फिल्म बनाउने रहर पूरा गर्दै जान्छन्।’ सम्पूर्ण बाट
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०४ चैत्र २०७५, २० : २१
लेखकबाट थप