पोखराका २६ प्याराग्लाइडिङ कम्पनीको उडानमा रोक: असारसम्म नवीकरण नगर्नेको उडान सधैँलाई बन्द

पत्रपत्रिकाबाट

आइतबार, ०३ चैत्र २०७५, ०७ : ०८
पोखराका २६ प्याराग्लाइडिङ कम्पनीको उडानमा रोक: असारसम्म नवीकरण नगर्नेको उडान सधैँलाई बन्द

अल्टिमेटम दिएको समयमा पनि नवीकरण नगर्ने पोखराका २६ प्याराग्लाइडिङ कम्पनीको उडान आज (आइतबार)देखि बन्द हुँदै छ । पोखरा महानगरपालिका राजस्व परामर्श समितिको शनिबारको बैठकले नवीकरण नगर्ने प्याराग्लाइडिङलाई उड्न नदिने निर्णय गरेको हो । मेयर मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले नवीकरण नगर्ने २६ कम्पनीलाई आइतबारबाट उडान भर्न नदिने निर्णय भएको बताए । यो समाचार आजको  नयाँ पत्रीका दैनिकमा खबर छ । 

महानगरपालिकाको पटक–पटकको सुचना र पत्राचारपछि एक साताभित्र नविकरण गर्ने प्रतिबद्धता जनाए पनि व्यवसायीले आफ्नै प्रतिबद्धता लत्याउँदा उडान नै बन्द हुने अवस्था निम्तिएको हो । पोखराको आकाशमा उडान भर्ने ५६ मध्ये ३० कम्पनीले भने नविकरण गरिसकेका छन् । आइतबारपछि आउने कम्पनीलाई थप जरिवाना लिएरमात्रै नविकरण गर्ने निर्णय बैठकले गरेको छ । 

पोखरका सबै प्याराग्लाडिङ कम्पनीले चार वर्षदेखि कम्पनी नविकरण नगरि उडान भर्दै आएका थिए । दुई साताअघि लगातार प्याराग्लाडिङ दुर्घटनामा पर्यटकले ज्यान गुमाएपछि महानगरले ती कम्पनीको आधिकारिकता बुझ्दा उनीहरूले सरकारी निकायको सूचनालाई बेवास्ता गर्दै विना नविकरण उडान भरिरहेको खुलेको थियो ।

त्यसपछि महानागरले नविकरण नगर्ने कम्पनीलाई २२ फागुनदेखि उडान बन्द गर्ने चेतावनी दिएको थियो । महानगरको निर्णयसँगै २१ फागुनमा नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष योगेश भट्टराईसँगै कम्पनीका संचालकहरूले नविकरणका लागि एक साता समय मागेका थिए । सोहीअनुसार महानगरले एक साताको समय थिएको थियो । तर उनीहरूले मागेको समयमा पनि जम्मा ३० कम्पनी नविकरण गर्न आएको पोखरा महानगरका मेयरका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले बताए । 

असारसम्म नविकरण नगर्नेको उडान सधैंलाई बन्द
महानगरले चैत्रभित्र नविकरण गर्नेलाई थप ५ हजार जरिवाना तोकेको छ । यस्तै, वैशाखमा आउनेलाई १० र त्यसपछि असारसम्म आउनेलाई १५ हजार जरिवाना लिने निर्णय बैठकले गरेको पोखरा महानगरपालिका राजश्व शाखाका कर अधिकृत छवि शर्माले बताए । असारसम्म पनि नविकरण गर्न नआउने कम्पनीको नविकरण नै नगर्ने र पोखरा क्षेत्रमा उडान भर्न नदिने निर्णय भएको उनले बताए । 

६० मध्ये ५६ कम्पनीको कार्यालय पोखरामा
नेपालभर ६० प्याराग्लाईडिङ कम्पनी दर्ता भएका छन् । त्यसमध्ये ५६  कम्पनीको कार्यालय पोखरामा छ । ति मध्ये माउण्ट भ्यु प्याराग्लाईडिङ कम्पनीबाहेक अन्यले चार वर्षदेखि कम्पनी नविकरण नगरि उडान भर्दै आएका थिए ।

महानगरपालिका राजश्व शाखाका कर अधिकृत छवि शर्माले ५५ कम्पनीहरूले आर्थिक बर्ष ०७२/०७३ देखि महानगरलाई नविकरण शुल्क नबुझाएको जानकारी दिए । शर्माका अनुसार ०७२/०७३ को ५५ सय, ०७३/०७४ को ५५ सय, ०७४/०७५ को ५० हजार र चालु आर्थिक वर्ष ०७५/०७६ को २५ हजार गरि प्रत्येका कम्पनीले नविकरण बापत ८६ हजारका दरले शुल्क बुझाउनुपर्नेछ । 

रसिद ल्याउनेलाई मात्र उड्न अनुमति 
पोखरामा हुने अधिकाश प्याराग्लाडिङ उडान महानगरको १८ नम्बर वडामा रहेको सराङकोट र तोरिपानीबाट हुने गर्छ । वडा १८ का अध्यक्ष रणबहादुर थापाले नविकरण शुल्क नतिर्ने कम्पनीलाई आईतवारदेखि उडान गर्न नदिने र उडान गर्न जाने नाकामा प्रहरी र महानगरको टोली वसेर शुल्क तिरेको रसिद हेर्ने बताए ।

नेपाल हवाई खेलकुद संस्थाका उपाध्यक्ष सोभित बानियाका अनुसार पोखराको आकासमा वार्षिक एक लाख १० हजार जनाले प्याराग्लाईडिङ उडान भर्ने गर्छन् । प्रत्येक वर्ष १० देखी १५ प्रतिशतका दरले उडान भर्नेहरूको संख्या बढ्ने उनको भनाइ छ । 

सोलो उडान दुई सातादेखि बन्द
१९, २० र २१ फागुनमा भएको प्याराग्लाईडिङ दुर्घटनापछि सोलो प्याराग्लाडिङ उडान हुन सकेको छैन । तिन दिनको विचमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो भने दुई जना घाईते भएका थिए । लगातार दुर्घटना हुन थालेपछि नेपाल नागरिक उड्डयान प्राधिकरण पोखराले २१ फागुनदेखी सोलो उडान (एक जना मात्र उड्ने) बन्द गराएको थियो भने टेण्डम (दुई जना उड्ने) उडान भने भैरहेका छन् । 

प्रतिक्रिया दिनुहोस