वेदबारे जान्नैपर्ने १५ तथ्य

सफल खबर संवाददाता

शनिबार, ०२ चैत्र २०७५, १४ : ३०
वेदबारे जान्नैपर्ने १५ तथ्य

वेद विश्वका सबै धर्म ग्रन्थहरूको पिता हो । वेदबाट नै साभार गरेर अन्य धर्मशास्त्रका पुस्तकहरू निर्माण गरिएका हुन् । वेद हिन्दूहरूको सबैभन्दा ठूलो ग्रन्थ हो । वेद शब्द संस्कृत भाषाको ‘विद्’ धातुबाट बनेको हो, जसको अर्थ हो, जान्नु, ज्ञान इत्यादि । वेद हिन्दू धर्मको प्राचीन पवित्र ग्रन्थहरूको नाम हो । 

वेदहरूलाई श्रुति पनि भनिन्छ, किनकि पहिले मुद्रणको व्यवस्था नभएकाले यिनको एक–अर्काबाट सुनेर सम्झना राखियो । यसप्रकार वेद प्राचीन भारतको वैदिक कालको वाचिकरश्रुति, श्रवण परम्पराको अनुपम कृति हो, जुन पिढीँ दर पिढीँ चार–पाँच हजार वर्षदेखि चल्दै आएको छ । वेद नै हिन्दू धर्मको सर्वोच्च र सर्वोपरि धर्मग्रन्थ हो । 

वेदहरूको महत्व 
हिन्दू संस्कृतिको मूल वेद हो । यो हाम्रो सबै भन्दा पुराना धर्म–ग्रन्थ हो र हिन्दू धर्मको मुख्य आधार हो । धार्मिक मात्र नभएर ऐतिहासिक दृष्टिले पनि वेदहरूको असाधारण महत्व छ । वैदिक युगको आर्यको संस्कृति र सभ्यता जान्ने एकमात्र साधन यही हो ।

मानव–जाति र विशेषतः आर्य जातिले आफ्नो शैशवमा धर्म र समाजको कुन कुन प्रकारले विकास गरे यसको ज्ञान वेदबाट नै जानिन्छ । विश्व वाङ्मयमा यिनिहरू भन्दा प्राचीन कुनै पुस्तक छैन । 
आर्य–भाषाहरूको मूलस्वरूप निर्धारित गर्नमा वैदिक भाषा धेरै अधिक सहायकसिद्ध भएको छ । वेद सनातन धर्मको सबैभन्दा पुरानो धर्मग्रन्थ मात्र होइन, मानव सभ्यताकै सबैभन्दा पुरानो पुस्तक पनि यही हो । वेद विद शब्दबाट बनेको हो, जसको अर्थ हुन्छ जान्नु, ज्ञाता वा जान्ने । मान्नु वा मान्ने भन्ने अर्थ वेदबाट लाग्दैन । यसको अर्थ मात्र जान्ने वा जानेर बुझेर वा परख गरिएको ज्ञान भन्ने हुन आउँछ । अर्थात् अनुभूत ज्ञान वा जाँच परख गरिएको ज्ञान मार्ग । 

वास्तवमा ब्रह्म वाक्य यसैमा संकलित छ । वेद मानव सभ्यताको सबैभन्दा पुरानो लिखित दस्तावेज हो । वेदका २८ हजार पाण्डुलिपिहरू भारतको पुणेस्थित भण्डारकर ओरिएन्टल रिसर्च इन्स्टिच्युटमा राखिएको छ । तीमध्ये ऋग्वेदका ३० पाण्डुलिपिहरू असाध्यै महत्वपूर्ण छन्, जसलाई युनेस्कोले आफ्नो सम्पदा सूचीमा समावेश गरेको छ । युनेस्कोले ऋग्वेदका इ.पू. १८०० देखि इ.पू. १५०० बीचका ३० पाण्डुलिपिहरूलाई आफ्नो सांस्कृतिक धरोहरका रूपमा समावेश गरेको छ । महत्वपूर्ण कुरा त के छ भने युनेस्कोका १५८ सांस्कृतिक धरोहरमध्ये भारतका मात्र ३८ वटा पाण्डुलिपिहरू त्यो सूचीमा सामेल भएका छन् ।

वेदलाई श्रुति पनि भनिन्छ । ‘श्रु’ धातुबाट श्रुति बनेको छ । ‘श्रु’ अर्थात् सुन्नु । के भनिन्छ भने प्राचीन तपस्वीहरू गहिरो तपस्यामा लीन भइरहेको समयमा यी मन्त्रहरू उनीहरूलाई स्वयं ईश्वरले अप्रत्यक्ष रूपमा सुनाएका थिए । सर्वप्रथम ईश्वरले चार जना ऋषिहरूलाई वेदको ज्ञान दिएः अग्नि, वायु, अंगिरा र आदित्य ।

वेद वैदिककालीन वाचिक परम्पराको अनुपम कृति हो, जुन पछिल्लो ६, ७ हजार इसापूर्वबाट चलिरहेको छ । विद्वानहरूले संहिता, ब्राह्मण, आरण्यक र उपनिषद् यी चारको संयोगलाई वेद भनेका छन् । यी चार भागलाई संयुक्त रूपमा श्रुति भनिन्छ । अन्य बाँकी ग्रन्थ स्मृति अन्तर्गत पर्दछन् । वेदको संहिता भनेको मन्त्र भाग हो । वैदिक मन्त्रहरू सुन्दरताले भरिपूर्ण छन् । 

वैदिक ऋषिहरू जब वेदको सस्वर पाठ गर्छन्, त्यो सुनेर चित्त प्रफुल्ल हुन्छ । जसले सस्वर वेद पाठ सुन्छन्, ती पनि मुग्ध हुन्छन् । वेदको ब्राह्मण भागमा यज्ञको बारेमा चर्चा गरिएको छ । यसमा वेदका मन्त्रहरूको व्याख्या गरिएको छ । यसमा यज्ञका विधान र विज्ञानका बारेमा विस्तारपूर्वक वर्णन गरिएको पाइन्छ । 

मुख्य ब्राह्मण ग्रन्थहरू यसप्रकार छ 
ऐतरेय, तैत्तिरीय र शतपथ । आरण्यक पनि वेदको एक महत्वपूर्ण हिस्सा हो । संस्कृतमा वनलाई अरण्य भनिन्छ । त्यसैले अरण्यमा उत्पन्न भएका ग्रन्थहरू नै आरण्यक अन्तर्गत पर्दछन् । पाँच मूख्य आरण्यक यसप्रकार छन् : ऐतरेय, शांखायन, बृहदारण्यक, तैत्तिरीय र तवलकार । 

उपनिषद वेदको शीर्ष भाग हो । साथै उपनिषद वेदको सर्वश्रेष्ठ अन्तिम भाग पनि भएकाले यसलाई वेदान्त पनि भनिन्छ । यसमा ईश्वर, सृष्टि र आत्माका सम्बन्धमा गहन दार्शनिक तथा वैज्ञानिक वर्णन गरिएको छ । उपनिषदहरूको वास्तविक संख्या ११८० मानिन्छ । तर, हाल उपनिषदका १०८ संख्या मात्र उपलब्ध छन् । तिनमा मुख्य उपनिषद् यसप्रकार छन् : ईश, केन, कठ, प्रश्न, मुण्डक, माण्डुक्य, तैत्तरीय, ऐतरेय, छान्दोग्य, बृहदारण्यक र श्वेताश्वेर ।

असंख्य वेद शाखाहरू, ब्राह्मण ग्रन्थ, आरण्यक र उपनिषदहरू लोप भइसकेका छन् । हाल आएर ऋग्वेदका दश, कृष्ण यजुर्वेदका बत्तीस, सामवेदका सोह्र र अथर्ववेदका एकतीस उपनिषदहरू अस्तित्वमा छन् । प्रोफेसर विन्टरनिट्जले वैदिक साहित्यको रचनाकाल २००० देखि २५०० इसापूर्व मानेका छन् । तर, खासमा वेदको रचना कुनै एक निश्चित कालखण्डमा भएको होइन । अर्थात् यो त बिस्तारै बिस्तारै रचना हुँदै गयो र सबैभन्दा पहिले वेदका तीन भाग संकलन गरियो, जसमा ऋग्वेद, सामवेद र यजुर्वेदको संकलन भयो । यसलाई ‘वेदत्रयी’ पनि भनिन्छ ।

सनातन मान्यताअनुसार वेदको विभाजन रामचन्द्रको जन्मपूर्व पुरूरवा ऋषिको समयमा भएको हो । कालान्तरमा अथर्वा ऋषिले अथर्ववेदको रचना गरेका हुन् । कतिपय विद्वानहरूका मतमा चाँहि श्रीकृष्णको समय द्वापर युगको समाप्तिपछि महर्षि वेदव्यासले वेदलाई चार भागमा विभाजन गरी व्यवस्थित गरेका हुन् ।

उनले यी चार भागको शिक्षा क्रमशः चार शिष्यहरू पैल, वैशम्पायन, जैमिनी र सुमन्तुलाई दिए । त्यस क्रममा उनले पैललाई ऋग्वेद, वैशम्पायनलाई यजुर्वेद, जैमिनीलाई सामवेद तथा सुमन्तुलाई अथर्ववेदको जिम्मेवारी दिए । यसको आधारमा भन्दा वेद लिखित रूपमा आजभन्दा ६५०८ वर्ष पुरानो ग्रन्थ हो । यसलाई पनि सोझै नकार्न सकिँदैन किनभने श्रीकृष्ण आजभन्दा ५११२ वर्ष अगाडि यस धर्तीमा भएको तथ्य फेला परिसकेको छ ।

वेदका चार विभाग छन् : ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद । ऋग–स्थिति, यजु–रूपान्तरण, साम–गतिशील र अथर्व–जड । ऋक भनेको धर्म, यजु भनेको मोक्ष, साम भनेको काम, अथर्व भनेको अर्थ पनि मानिन्छ । यसैका आधारमा धर्मशास्त्र, अर्थशास्त्र, कामशास्त्र र मोक्षशास्त्रको रचना भएको हो ।

(१) ऋग्वेद
ऋक अर्थात् स्थिति र ज्ञान । यसमा १० मण्डल र १०२८ ऋचाहरू छन् । ऋग्वेदका ऋचाहरूमा देवताहरूको प्रार्थना, स्तुति र देवलोकमा उनीहरूको स्थितिको वर्णन पाइन्छ । यसमा ५ शाखाहरू छन् – शाकल्प, वास्कल, अश्वलायन, शांखायन, मण्डूकायन ।

(२) यजुर्वेद
यजुर्वेदको अर्थ यत्–जु, यजु । यतको अर्थ हो, गतिशील तथा जुको अर्थ हो आकाश । यसको अलावा कर्म, श्रेष्ठतम कर्मको प्रेरणा । यजुर्वेदमा १९७५ मन्त्र र ४० अध्याय छन् । यस वेदमा धेरैजसो यज्ञका मन्त्रहरू छन् । यज्ञको अलावा तत्वज्ञानको वर्णन छ । यजुर्वेदका दुई शाखाहरू छन्, कृष्ण र शुक्ल ।

(३) सामवेद
साम अर्थात रूपान्तरण र संगीत । सौम्यता र उपासना । यसमा १८७५ (१८२४) मन्त्रहरू छन् । यसमा ऋग्वेदका नै अधिकतर ऋचाहरू छन् । यस संहिताका सबै मन्त्र संगीतमय छन्, गेय छन् । यसमा मूख्य ३ शाखाहरू छन्, ७५ ऋचाहरू छन् र विशेष गरी संगीतशास्त्रलाई समावेश गरिएको छ ।

(४) अथर्ववेद
थर्वको अर्थ हो कम्पन र अथर्वको अर्थ अकम्पन । ज्ञानले श्रेष्ठ काम गर्दै जो परमात्माको उपासनामा तल्लीन हुन्छ त्यही नै अकम्प बुद्धि प्राप्त गरेर मोक्ष धारण गर्दछ भन्ने अथर्ववेदको मुख्य अभिप्राय रहेको पाइन्छ । अथर्ववेदमा ५९८७ मन्त्र तथा २० काण्ड छन् । यस वेदमा पनि ज्यादातर ऋग्वेदका ऋचाहरू नै छन् । यसमा रहस्यमय विद्याको पनि वर्णन पाइन्छ । उपरोक्त सबैमा परमात्मा, प्रकृति र आत्माको विषद् वर्णन र स्तुतिगान गरिएको छ । यसबाहेक वेदहरूमा आफ्नो समयका महापुरूषहरूको महिमा, गुणगान एवं उक्त समयको सामाजिक, राजनीतिक तथा भौगोलिक अवस्थाको वर्णन पनि पाइन्छ । 

छ वेदाङ्ग
वेदका छ अंग छन्, (१) शिक्षा, (२) छन्द, (३) व्याकरण, (४) निरुक्त, (५) ज्योतिष र (६) कल्प ।

छ उपाङ्ग
(१) प्रतिपदसूत्र, (२) अनुपद, (३) छन्दोभाषा (प्रातिशाख्य), (४) धर्मशास्त्र, (५) न्याय तथा (६) वैशेषिक । माथि उल्लिखित छ वटा उपाङ्ग ग्रन्थहरू उपलब्ध छन् । यसैलाई षड्दर्शन भनिन्छ जुन यसप्रकार छन्, सांख्य, योग, न्याय, वैशेषिक, मीमांशा र वेदान्त ।
त्यसै गरी वेदका उपवेदहरू निम्न अनुसार छन् : ऋग्वेदको आयुर्वेद, यजुर्वेदको धनुर्वेद, सामवेदको गन्धर्ववेद तथा अथर्ववेदको स्थापत्यवेद ।

प्रतिक्रिया दिनुहोस