व्यावसायिक घरानाका कान्छो पुस्ता

पत्रपत्रिकाबाट

शनिबार, ०२ चैत्र २०७५, ०७ : ४६
व्यावसायिक घरानाका कान्छो पुस्ता

काठमाडाैं । वैद्य, गोल्छा, गोल्यान, काबरा, जैन नेपालमा वर्षौँदेखि स्थापित व्यावसायिक घराना हुन् । यी घरानाका पछिल्ला पुस्ता पनि व्यवसायमै रमाउँदै छन् । उच्च शिक्षा लिन विदेश पुगेकासमेत अध्ययन सकाएर स्वदेशमै केही गर्ने जोस र आत्मविश्वासका साथ फर्किएका छन् । अनि विदेशमा सिकेको सैद्धान्तिक र व्यावहारिक ज्ञान स्वदेशमा सदुपयोग गर्दै छन् । सभाना वैद्यदेखि अक्षय गोल्यान र आरजु बस्नेतसम्म व्यावसायिक घरानामा जन्मिएर व्यवसायमै समर्पित भएका केही उदाहरण हुन् । ठूला व्यावसायिक घरानाका पढेलेखेका तन्नेरीहरू :

सभाना वैद्य
- वैद्य अर्गनाइजेसन

वैद्य अर्गनाइजेसन टोयोटा गाडी, चिया, कृषिलगायत व्यापारमा छ । सुरज वैद्य सिमेन्ट उद्योग खोल्न कस्सिएर लागेका छन् । तर, छोरी सभानालाई परिवारले गरिरहेकोभन्दा फरक व्यवसायमा जोखिम मोल्ने रहर छ । झन्डै एक दशक अमेरिकामा बस्दा पाँच वर्षजति होटेल र रियल स्टेट कम्पनीमा काम गरिन् । त्यसैले हस्पिटालिटीमै छुट्टै पहिचान बनाउने उनको योजना छ । पहिलो होटेल पोखराको वेगनासमा निर्माण गर्ने योजना छ । अहिले विभिन्न देश पुगेर होटेल र रिसोर्टबारे अध्ययन गरिरहेकी छिन् । ‘मैले बनाउने होटेल स्पेसल हुनुपर्छ, पुरानै ढर्राका होटेल खोल्दिनँ,’ सभाना भन्छिन्, ‘युनिक होटेल खोलेर नेपालको हस्पिटालिटी बिजनेसमै नयाँपन दिने सोच छ ।’ हाल उनी आमा रितुले खोलेको स्पा प्राणाको व्यवस्थापन हेर्छिन् ।


यशु श्रेष्ठ
-मनकामना केबलकार 

गोरखाको मनकामना मन्दिरमा केबलकार सञ्चालन गरेर नेपाली पर्यटनमा नयाँ आयाम थपेका दिवंगत लक्ष्मणबाबु श्रेष्ठको विरासत नातिनी यशु श्रेष्ठले सम्हाल्न थालेकी छिन् । उनले मनकामना दर्शन प्रालिको सेल्स एन्ड मार्केटिङ विभाग सम्हालेको दुई वर्षभन्दा बढी भयो । बुबा राजेशबाबु श्रेष्ठले केबलकारको सेल्स र मार्केटिङको सम्पूर्ण जिम्मेवारी छोरी यशुलाई सुम्पिसकेका छन् । चितवन कोईले सञ्चालन गरेको मनकामना केबलकार मुलुकको पहिलो केबलकार हो । यो कम्पनीले पाथीभरामा पनि केबलकार सञ्चालन गर्दै छ । चितवन कोई ‘क’ वर्गको कन्स्ट्रक्सन कम्पनी हो । कम्पनीले बिल्डिङ, जलविद्युत्का ड्याम, सिँचाइ, खानेपानी प्रोजेक्ट, सडकलगायत पूर्वाधारका काम गर्दै आएको छ ।

आरजु र आस्था बस्नेत
- बुद्ध एयर प्रालि

वीरेन्द्रबहादुर बस्नेतको अवकाशपछि बुद्ध एयरको व्यवस्थापन आरजु र आस्थाको काँधमा आउने निश्चित छ । अहिले यी दिदीबहिनी व्यवसायमा एक हदसम्म सिकाइकै क्रममा छन् । सानैदेखिको सोखका कारण आरजु बुटिकतिर केन्द्रित छिन् । त्यसो त आस्था पनि सुरुमा बुटिकमै थिइन् । तर, दिदीलाई बुटिक सुम्पिएर उनी बुबालाई साथ दिँदै २०१७ जनवरीदेखि विमान कम्पनीमै लागिन् । बुद्ध एयरको बनारस उडानमा आस्थाको भूमिका अग्रणी छ । उनले बनारस पुगेर बजार अध्ययन गरिन्, मार्के्टिङ गरिन् ।

‘अहिले बुद्धको बनारस उडान राम्रो भइरहेको छ,’ उनी सुनाउँछिन्, ‘बुद्धले छिट्टै कोलकाता उडान भर्दै छ ।’ उनी यसकै तयारीमा छिन् । पोखरा विमानस्थल बनेपछि अन्तर्रा्ष्ट्रिय उडान सुरु गर्ने तयारी पनि छ । अन्तर्रा्ष्ट्रिय उडानको जिम्मेवारी सम्हाल्न सक्ने गरी आस्थाले आफूलाई दक्ष बनाउँदै छिन् । आस्थाकै अगुवाइमा बुद्धको अनलाइन प्रणालीमा व्यापक सुधार भइरहेको छ । बुद्ध एयरको अफिस वल्र्डक्लास बनाउने अठोट छ । उनको टिमले अनलाइन प्रणालीमा काम गरिरहेको छ । याे रिपाेर्ट नवीन अर्यालले नयाँ पत्रिकामा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस