Safal Khabar - चितवनमा निजी क्षेत्रबाट देशकै ठूलो क्यान्सर अस्पताल बन्ने
शनिबार, ११ जेठ २०७६ (Saturday, 25 May, 2019)
चितवनमा निजी क्षेत्रबाट देशकै ठूलो क्यान्सर अस्पताल बन्ने
बिहिबार, ३० फागुन २०७५, १४ : ५१
चितवनमा निजी क्षेत्रबाट देशकै ठूलो क्यान्सर अस्पताल बन्ने

चितवन । निजी क्षेत्रबाट देशकै ठूलो अर्बुदरोग अस्पताल स्थापना हुने भएको छ । जिल्लामै रहेको सरकारी अस्पताल विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यकारी अध्यक्ष र कार्यकारी निर्देशक भई काम गरिसक्नुभएका डा भक्तमान श्रेष्ठको नेतृत्वमा अस्पताल निर्माण गर्न लागिएको हो । न्युटन हस्पिटलको नामबाट सञ्चालन हुने सो अस्पताल भरतपुर महानगरपालिका–८ सल्यानी टोलमा तीन बिघा ११ कट्ठा जग्गामा निर्माण गर्न लागिएको हो । न्युटन हस्पिटलका सञ्चालक डा भक्तमान श्रेष्ठका अनुसार रु चार अर्बको लगानीमा दुई वर्ष नौ महीनामा काम सम्पन्न गर्ने गरी निर्माण थालिएको हो ।

भवनको शिलान्यास डा श्रेष्ठका ८८ वर्षीय पिता चन्द्रमान श्रेष्ठले आज गर्नुभयो । कूल ५० चिकित्सकसहित ६३ जनाको समूहले अस्पतालमा लगानी गरेको छ । अस्पतालको मुख्य लगानीकर्ता हाल डा श्रेष्ठ अध्यक्ष रहेको नारायणी सामुदायिक हस्पिटल रहेको छ । जम्मा ३५० श्ययाको अस्पताल बनाइने बताउँदै उहाँले रेडियो, केमो थेरापी, पेट स्क्यान, कार्डियोसहित उच्चस्तरीय सर्जरी प्रविधि प्रयोगमा ल्याइने बताउनुभयो ।

बर्सेनी ४० हजार नयाँ क्यान्सरका बिरामी थपिने भए पनि सरकारी अस्पतालले चार हजार हाराहारी मात्रै हेर्दै आएको उहाँले बताउनुभयो । भारत, सिङ्गापुर, थाइल्याण्ड जस्ता देशमा उपचारका लागि जाने बिरामीलाई रोक्न अस्पताल सक्षम हुने सञ्चालकको दावी छ ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष नारायणसिंह कुँवरले अरु जग्गासमेत थपेर अन्तर्राष्ट्रियस्तरको क्यान्सर अस्पताल निजी क्षेत्रबाट शुरु गर्न लागिएको बताउनुभयो । अस्पतालमा क्यान्सर सय र साधारण दुई सय श्यया सञ्चालन गर्ने तयारी गरिएको छ ।रासस

प्रतिक्रिया दिनुहोस