नेपाल बन्द

विभिन्न जिल्लामा बम आतंक र आगजनी, कहाँ कहाँ के भयो ?

सफल खबर संवाददाता

विहीबार, ३० फागुन २०७५, १४ : १०
विभिन्न जिल्लामा बम आतंक र आगजनी, कहाँ कहाँ के भयो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको बन्दकाका कारण पुरै देशको जनजीवन ठप्प बनेको छ । राजधानी काठमाडौंसहित, पोखरा, हेटौंडा, बिराटनगर, धरान, चितवन, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर, डडेलधुरा लगायत पश्चीम नेपालका मुख्य शहरहरु ठप्प छन् । बन्दका कारण देशभर बिहानी सेवाका यातायात तथा शैक्षिक सस्थाहरु ठप्प बनेका छन् । काठमाडौंमा फ्याट्टफुट्टरुपमा मोटरसाइकल र साना सवारीसाधन देखिए पनि मुख्य सडकहरु खालि छन् । बजार ब्यबसाय पनि ठप्प छ ।
यसैबीच बन्द अबज्ञा गरेको भन्दै नेकपाका नेता कार्यकर्ताहरुले ठाउँ-ठाउँमा सवारीसाधनमाथि तोडफोड र आगजनी गरेका छन् । 

कैलालीमा विवाहका जन्ती बोकेको बसमा समेत आगजनी भएको छ । म १ ख ४४१ नम्बरको विवाहको गाडिमा आगो लगाईएको हो । त्यस्तै कैलालीबाट सार्वजनिक सवारी साधन रोकिरहेका विप्लव समूहका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कैलालीका प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले गोदावरी नजिकबाट तीन जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

कैलालीको घोडाघोडी नगरपालिकास्थि साडेपानीमा ट्रक, गौरीगंगा नगरपालिका बडैपुरर राजिनपुरबीच एउटा बसमा आगजनी गरिएको छ । त्यसैगरी धनगढी उपमहानगरपालिकाको राजपुरमा ट्रकमा आगजनी भएको छ भने लम्कीमा एक ट्याक्टरका लगाएको आगो प्रहरीले निभाएको जनाएको छ ।

त्यस्तै नवलपरासीको बासाबसहीमा गएराति २ वटा ट्रकाममा आगजनी भएको छ । बासाबसही नजिक रहेको स्टिल कम्पनीमा रड लिन आएका खाली ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

उता, मकवानपुरको थाहा नगरपालिका–४, नयाँगाउँमा गएराति नै एक ट्रकमाथि आगजनी गरिएको छ ।

काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना ५ ख ७४११ नम्बरको हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडीमा पनि आगजनी भएको छ । आगजनीका कारण ट्रक पूरै जलेको छ । प्रहरीका अनुसार गएराति १२ बजे आगजनी भएको हो । 

त्यसैगरी देशका विभिन्न स्थानमा बम तथा शंकास्पद बस्तुहरु पनि भेटिएका छन् । जसले गर्दा सर्वसाधारण त्रसित बनेका छन् । प्रहरीका अनुसार बुटवल, प्युठान, वाजुरा, कपिलबस्तु, गोरखा, रुकुमा लगायतका जिल्लामा बम तथा शंकास्पद बस्तु भेटिएका छन् ।  

काठमाडौँको घट्टेकुलोमा शंकास्पद बस्तु
काठमाडौँको घट्टेकुलो नजिकै कालो झोलामा शंकास्पद बस्तु फेला परेको छ ।  घटनाको जानकारीलगत्तै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर हटाएको छ । बुधबार साँझ घट्टेकुलो नजिकै शंकास्पद बस्तु फेला परेको महानगरीय प्रहरी बृत्त सिंहदरबारका डीएसपी काजीकुमार आचार्यले जानकारी दिए । 

 बाजुराका दुई स्थानमा शंकास्पद बस्तु  
उता बाजुरा जिल्लाका दुई स्थानमा शंकास्पद वस्तु फेला परेका छन् । साफे मार्तडी सडकखण्ड अन्तरगत बुढीगंगा नगरपालिका १० मा पर्ने डाब बजार र बल्देमा शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला अदालत अगाडि शंकास्पद बस्तु  
यसैगरी रुकुम पूर्वको जिल्ला अदालत अगाडि शंकास्पद वस्तु फेला परेको छ । अदालतको २०० मिटर अगाडि पोलिथिनमा पोको पारेको अवस्थामा उक्त शंकास्पद वस्तु फेला परेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए ।

प्युठानमा नगरपालिका अगाडि बम                                                                                                                बिहिबार नै प्युठानको स्वर्गद्वारी नगरपालिकाको कार्यालय अगाडि खतरा लेखेर कागज र प्लास्टिकले बेरेको अवस्थामा बम भेटिएको छ । उक्त बस्तु सर्वसाधरणले देखेपछि प्रहरीलाई खवर गरेका थिए । 

गोरखा बजारमा बम 
गोरखा बजार क्षेत्रको भिआईपी टोल र १२ किलो भन्ने स्थानमा शक्तिशाली प्रेरकुकर बम फेला परेको छ । फेला परेको बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । सामान्य भएको भन्दै प्रहरीले बम जंगलमा फालिदिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक भोलाबहादुर रावलले दिएको जानकारी दिए ।

बुटवलमा हाते बम 
बिहिबार विहान बुटवल–भैरहवा सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलको कालिकानगरमा डिभाईडरमाथि कालो रंगको शंकास्पद बस्तु फेला परेको हो ।

उक्त बस्तुलाई प्रहरीले बम भएको र प्रहरीले निस्क्रिय गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) डिलबहादुर मल्लले जानकारी दिएका । मल्लले आतंक फैलाउन हाते बम राखेको बताए । 
 

प्रतिक्रिया दिनुहोस