मृत मानिसको मुटु झिकेर जीउँदोमा प्रत्यारोपण

विहीबार, ३० फागुन २०७५, १४ : ०१
मृत मानिसको मुटु झिकेर जीउँदोमा प्रत्यारोपण

काठमाडौं । मृत मानिसको मुटु आधा घन्टामा झिकेर मेसिनमा राखेर त्यसलाई पूर्ण रूपमा जीवित र सक्रिय बनाएर मुटु काम नलागेर मृत्युको मुखमा पुगेका बिरामीलाई त्यो मुटु प्रत्यारोपण गर्ने ।

यो विश्व चिकित्सा विज्ञानको क्षेत्रमा हासिल गरिएको चानचुने सफलता होइन । यस्तो दुर्लभ वैज्ञानिक चमत्कारको नेतृत्व गर्ने सौभाग्य पनि नेपाली डाक्टरलाई नै मिल्यो ।

हो, चार वर्षअघि यही चमत्कारी काम गरेर संसारभरि चर्चित भए अस्ट्रेलियामा कार्यरत नेपाली डा कुमुद धिताल । उनको सफल प्रयोग अहिले विश्वभरि फैलिइसकेको छ भने धिताल कार्यरत अस्पतालमा मात्रै अहिलेसम्म २४ जना विरामीलाई मुटु प्रत्यारोपण गरेर पुनर्जीवन दिइएको छ ।

अस्ट्रेलियाको सिड्नीस्थित सेन्ट भिन्सेन्ट अस्पतालका प्राध्यापक धितालले चार वर्षअघि सोही अस्पतालमा मृत मान्छेको मुटु झिकेर बिरामीलाई प्रत्यारोपण गरेका थिए ।

धितालले हासिल गरेको सफलतालाई ३० वर्ष नाघेका व्यक्तिको मुटु प्रत्यारोपण क्षेत्रमा भएको अहिलेसम्मकै ठूलो उपलब्धि मानिएको छ । भन्छन्, “अब त मैले तालिम मात्र दिने हो, मेरा विद्यार्थीहरूले नै यो काम गरिरहेका छन् । र, अहिले संसारभरि नै यो फैलिइरहेको छ ।”

साउनको पहिलो साता पनि धिताल मुटु प्रत्यारोपण सम्बन्धी कार्यशालामा भाग लिन बेलायत गएका थिए । धितालको प्रयोग बेलायतमा पनि विस्तार भइसकेको छ ।

मृत्यु भएको आधा घन्टाभन्दा बढी समयमा पनि मुटु निकालेर कसरी सफल प्रत्यारोपण गर्न सकिन्छ भन्नेमा अहिले धितालको शोध केन्द्रित छ । भन्छन्– “अहिलेचाहिँ हामी आधा घन्टाको समयलाई लम्ब्याउन सकिन्छ कि सकिन्न भन्नेमा अनुसन्धान गर्दैछौँ । यसमा पनि सकारात्मक सफलता मिल्ने आशा छ ।”

मृत मान्छेको मुटु निकालेर प्रत्यारोपण गर्नुअघि धितालले सुँगुर र छुचुन्द्रोमा त्यसको परीक्षण गरेका थिए । उनी आफैँले सुरुमा चार मुटु रोगीमा मृत मान्छेको मुटु प्रत्यारोपण गरेका थिए । विभिन्न कारणले मुटु काम नलाग्ने भएकाहरूका लागि धितालले सुरु गरेको मुटु प्रत्यारोपण पद्धति रामबाण सावित भएको छ ।

कुमुद धितालको पुख्र्यौली घर गोरखा हो । उनी इटालीको रोममा जन्मेका हुन् भने उनले विद्यालय शिक्षा सेन्टजेभियर्स स्कुल ललितपुरबाट पूरा गरेका हुन् ।
अक्सफोर्डबाट चिकित्सा विज्ञानमा स्नातकोत्तर गरेका धितालले लन्डन विश्वविद्यालयबाट एनाटोमीमा विद्यावारिधि गरेका हुन् । उनी मुटु रोगमा विश्वकै उम्दा चिकित्सक मानिन्छन् । भन्छन्, “गतिलो शिक्षादीक्षा र वातावरण पाएकै कारण चिकित्सा क्षेत्रमा नयाँ काम गर्न सकिएको हो ।”

मुटु प्रत्यारोपणमा धितालले अहिले अमेरिका, स्वीडेन, बेलायतलगायतका अस्पताल र विश्वविद्यालयहरूमा प्राज्ञिक र अन्वेषणका माध्यमबाट सहयोग गर्दै आएका छन् ।

नेपालसितको धितालको नाता भने ग्लोबल पोलिसी फर नेपालमार्फत जोडिएको छ । उनी त्यसका उपाध्यक्ष हुन् । नेपालमा मुटु प्रत्यारोपणको सम्भावना भए पनि त्यसका लागि तत्परता र चासो भने कम देखिएको धितालको कथन छ । भन्छन्, “राम्रो अस्पताल, चिकित्सकको टिम र प्रत्यारोपणपछिको केयरको उचित व्यवस्था भए नेपालमा पनि यो काम अघि बढाउन सकिन्छ ।” नेपाल साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस