छाला चाउरिन नदिन यसो गरौँ

बुधबार, २९ फागुन २०७५, १९ : ५८
छाला चाउरिन नदिन यसो गरौँ

उमेरसँग छालामा लचकताको कमी हुँदै जान्छ। परिणामस्वरूप छाला चाउरी पर्न थाल्छ। छालामा पाइने तत्त्वहरू ‘केलागन’ र ‘इलास्टिन फाइबर’ उत्पादनमा उमेरको प्रभावले कमी हुँदै जान्छ र अनुहारमा विभिन्न प्रकारका रेखा देखिन थाल्छन्।

समय बितेको हामीलाई थाहै हुँदैन। छालामा पर्ने चाउरीले हामीलाई समय बितेको अनुभूति गराउँछ। बढ्दो उमेरसँगै चाउरिपन देखिए पनि उचित स्याहार गरेर यसलाई नियन्त्रण गर्न सकिन्छ। स्याहार भएन भने छाला छिट्टै चाउरिन्छ।

छाला सुक्खा भएमा, बढी मात्रामा हावा, घाम, ताप परेमा, लामो समय बिरामी परेमा, शरीरमा पौष्टिक तत्त्वको कमी भएमा, तनाव, थकान, अनिद्रा, अव्यवस्थित जीवनशैली, वंशाणुगत कारण वा दूषित वातावरण आदिले गर्दा छाला चाँडै चाउरी पर्छ।

अनुहारमा आउने भावहरूबाट बस्ने रेखाहरू जसलाई अंग्रेजीमा ‘एक्सप्रेसन लाइन’ भनिन्छ तिनले गर्दा पनि छाला चाउरी पर्छ। जस्तोः कुरा गर्दा, हाँस्दा, रुँदा, अरूलाई जिस्काउँदा अनुहारमा आउने भाव।

सबैलाई सुन्दर र चाउरीरहित अनुहारको चाहना हुन्छ। तर, कतिपयलाई आफ्नो छालाको स्वभावबारे सही ज्ञान नहुन पनि सक्छ। तसर्थ, छालाको सही पहिचान गरेर मात्र सौन्दर्य प्रसाधन प्रयोग गर्नुपर्छ।

उमेरको प्रभावलाई रोक्न सकिन्न। तर, प्रयास गरेमा यसको प्रभावलाई एक हद र एक समयसम्म नियन्त्रण गर्न सकिन्छ। स्याहार, व्यायाम, सचेतता, स्वस्थ तन र मनका कारण अनुहार सुन्दर हुन्छ।

–छालालाई म्वाइस्चराइजरको सधैँ आवश्यकता हुन्छ। म्वाइस्चराइजर लगाउने बानी बसाल्नुपर्छ। छाला धेरै सुक्खा भएमा बढी चिल्लोपन भएको क्रिम प्रयोग गर्नुपर्छ।

–जौको पिठो र दूधको पेस्ट बनाइ अनुहार धुनुपर्छ।

–क्रिमयुक्त साबुन वा फेसवासले अनुहार धुनुपर्छ।

–अनुहार पुछ्दा हल्का थपथपाएर पुछ्नुपर्छ। जोडले पुछ्दा चाउरिपन बढ्न सक्छ।

–प्रोटिन र बोसोयुक्त आहार लिनुपर्छ।

–प्रशस्त पानी, साग, तरकारी र फलफूल खानुपर्छ।

–बाहिर निस्कँदा सनस्क्रिन क्रिम लगाउनुपर्छ।

–व्यवस्थित जीवनशैली अपनाउनुपर्छ।

–सकारात्मक सोच राख्नुपर्छ।

–स्किन फ्रेसनर वा टनिक प्रयोग गर्नुपर्छ।

–फेसियल, फेस लिफ्टिङ, फर्मिङ फेसियल आदि दक्ष ब्युटिसियनबाट गराउनुपर्छ।

–अनुहारमा अनावश्यक जोड दिएर वा बिगारेर कुरा गर्नु हुँदैन।

–अनुहार तथा शरीरको व्यायाम गर्नुपर्छ।

–आफ्नो छालाको स्वभावसँग मिल्ने स्किन केयर प्रोडक्ट वा कस्मेटिक प्रयोग गर्नुपर्छ। सम्पूर्ण बाट

प्रतिक्रिया दिनुहोस