अरनिकोको शालिक निर्माण गरिने

सोमबार, २७ फागुन २०७५, २० : ५८
अरनिकोको शालिक निर्माण गरिने

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान(नाफा)ले राष्ट्रिय विभूति अरनिकाको शालिक निर्माण गर्ने भएको छ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले आज प्रतिमाको शिलान्यास गर्नुभयो । 

अरनिकोको स्मृति दिवशको सन्दर्भमा नाफाले परिसरभित्र प्रतिमा निर्माण गर्न लागेको हो । रु ५० लाखको लागतमा १७ फिट अग्लो प्रतिमा निर्माण गरिनेछ । शताब्दी पुरुष जोशीले तत्कालीन समयमा नेपाली कला र संस्कृतिलाई विदेशमा प्रचार गरेका अरनिकोको जीवनीबारे गहिरो खोज एवं अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अरनिकोको सिर्जनशील प्रतिभाको सही सदुपयोग तथा अवसर प्राप्त भएका कारण उक्त प्रतिभा अहिले विश्वकै महत्पूर्ण सम्पदाका रुपमा स्थापित भएको बताउनुभयो । 

विसं २०१६ मा पहिलोपटक चीन पुग्दा अरनिकोले निर्माण गरेको श्वैत चैत्य देखेपछि उहाँकोबारे थप अध्ययन गर्नुभएको थियो । जोशीले ‘नेपालया राष्ट्रिय विभूति कलाकार अरनिकोया श्वेत चैत्य’ नेवारी भाषामा कृति प्रकाशन गर्नुभएको थियो । सो पुस्तकलाई अङ्ग्रेजीमा अनुवाद गरी प्रकाशित गरिएको थियो । ‘कलाकार अरनिको’ कृतिसमेत प्रकाशन गरिएको छ । 

नाफाका कुलपति कान्छाकुमार कर्माचार्यले नेपाली वास्तुकलाको क्षेत्रलाई तत्कालीन समयमा अरनिकोले विदेश पु¥याएर नेपालीको गौरब बढाएको बताउनुभयो । “उहाँको सीपलाई अहिलेको पुस्ताले अवलम्बन गर्नुपर्छ”, उहाँले भन्नुभयो । उपकुलपति गोपाल चित्रकारले करीब ७०० वर्षअघि अरनिकोले चीनमा गएर आफ्नो कलाकौशलका माध्यमबाट स्वदेशी वास्तुकलाको प्रवद्र्धन गरेकाले उहाँको स्मरणमा शालिक बनाउन लागिएको जानकारी गराउनुभयो । 

सन् १३०६ मार्च ११ तारिखमा ६३ वर्षको उमेरमा कलाकार अरनिकोकोे चीनमा निधन भएको इतिहासमा उल्लेख छ । नेपाल र चीनको मैत्रीपूर्ण एवं सांस्कृतिक सम्बन्धको प्रतीक बनेको श्वेत चैत्यलाई चीन सरकारले राष्ट्रिय अमूल्य सांस्कृतिक सम्पत्तिका रूपमा घोषणा गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस