‘समृद्धिको महत्वपूर्ण आधार पर्यटन’

शनिबार, २५ फागुन २०७५, २० : ५७
‘समृद्धिको महत्वपूर्ण आधार पर्यटन’

file photo

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा पर्यटन समृद्धिको महत्वपूर्ण आधार भएको बताउनुभएको छ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस्(नाट्टा) गण्डकी प्रदेशको २४ औं वार्षिक साधारणसभामा उहाँले पर्यटन व्यवसाय सम्भ्रान्त वर्गले गर्ने व्यवसायका रुपमा मात्र नभई आम मानिसले गर्ने व्यवसायका रुपमा विकास हुनुपर्ने बताउनुभयो । 

समग्र पर्यटकीय विकासका लागि १२ महीना नै नेपाललाई पर्यटकीय क्षेत्र बनाउनुपर्नेमा जोड दिँदै उहाँले त्यसका लागि त्यही किसिमका पूर्वाधार विकास गर्नुपर्ने उल्लेख गर्नुभयो । पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न माग गरिए पनि सङ्घीय सरकारबाट निर्णयमा ढिलासुस्ती भएको बताउँदै मुख्यमन्त्री गुरुङले पोखराको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रचार गर्न अन्तर्राष्ट्रियस्तरका सम्मेलन गरिनुपर्ने धारणा राख्नुभयो । 

नाट्टाका केन्द्रीय अध्यक्ष चेतनारायण पाण्डेले गण्डकी प्रदेशको पर्यटकीय विकासका लागि कोरालादेखि सुस्तासम्मको सडक सञ्जाल जोडिनु आवश्यक भएको धारणा राख्दै पूर्वाधार विकासमा राज्यको लगानी बढ्नुपर्ने बताउनुभयो । नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सन्तोष पोखरेलले चर्को ब्याजलगायतका समस्याले पर्यटन व्यवसायी मारमा परिरहेको बताउँदै राज्यले पर्यटन व्यवसायमा लगानीको वातावरणलाई सहज बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवि पोखरेलले निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भएसँगै त्यहाँबाट होटेलसम्म पुग्ने सडक पूर्वाधार एवं ट्राफिक व्यवस्थापनलाई बेलैमा ध्यान दिनुपर्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस